महिला उद्यमी मेलाको तयारी अन्तिम चरणमा, उद्यमलाई प्रवद्र्धन गर्ने लक्ष्य

 

पोखरा, २८ जेठ ।

पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी विकास उपसमितिद्वारा आयोजित महिला उद्यमी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । बुधबार सुरु हुने मेला असार २ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदैछ । ‘आर्थिक समृद्धिको लागि महिला उद्यमशीलता’ नाराका साथ आयोजित मेलामा नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यम विकास समिति तथा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ को महिला उपसमिति सहयोगी भूमिकामा छन् । नेपाल पर्यटन बोर्ड तथा पोखरा लेखनाथ महानगरपालिकाले मेलाको प्रवद्र्धक भएका सहयोग गरिरहेका छन् ।

महिला उद्यमशिलतालाई प्रवद्र्धन गर्नु, व्यवसायमा आफ्नो पहिचानका साथ महिलालाई अग्रसर गराउँदै महिलाद्वारा उत्पादित बस्तु एवं व्यापार, बजारीकरण साथै सबै उद्यमी महिलाबीच आत्मीय सम्बन्ध बिस्तार गरी व्यावसायिक अनुभव आदान प्रदान गर्न मेला आयोजना गरिएको मेलाका संयोजक सीता बरालले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताइन् । ‘महिला उद्यमीलाई कर शिक्षा, लेभलिङ, प्याकेजिङ एवं व्यवसायी स्यायित्वको बारेमा व्यावसायिक विज्ञद्वारा प्रशिक्षण दिएर सवल सक्षम बनाउनु मेलाको उद्देश्य हो,’ उनले भनिन् ।

मेला सम्पन्न गर्न मूल आयोजक समिति र उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी पुरा गरिसकेको बरालले बताइन् । मेलामा प्रदेश नम्बर ४ मा रहेका सबै जिल्लाका महिला उद्यमीहरुसहित देशैभरका महिला उद्यमीहरुका गरी करिब ७० भन्दा बढी स्टल रहने उनले जानकारी दिइन् । डोममा रहने ती स्टलहरुमा महिलाले उत्पादित सामग्रीको प्रदर्शनी र बिक्री गरिनेछ । ‘तान नै राखेर कपडा बुनाई पनि प्रदर्शनमा राखिनेछ,’ उनले भनिन् ।

दैनिक उपभोग्य बस्तुहरु पनि मेलामा समावेश गरिएका छन् । हरेक दिन बिहान ११ बजेबाट साँझ ६ बजेसम्म चल्ने मेलाको पहिलो दिन समुद्घाटनसँगै उद्यमशीलताको लागि महिलाहरुलाई उत्प्रेरणा दिन सेमिनारको आयोजना हुनेछ । समुद्घाटन सत्र अगाडि आयोजना हुने सो कार्यक्रममा एलपी भानु शर्माको सहजिकरण रहनेछ । सोही दिन देशैभरका महिला उद्यमीहरुको राष्ट्रिय भेलाको आयोजना पनि गरिनेछ । सो भेलामा महिला उद्यमशीलताको अहिलेको अवस्था, चुनौती, सम्भावना र दायित्वहरुबारे बृहत छलफल गरिनेछ भने भेला पश्चात महिला उद्यमी भेला २०७५, पोखरा घोषणपत्र जारी गरिनेछ ।

यसैगरी मेलाको दोस्रो दिन महिलाहरुको लागि बैंकिङ साक्षरता कार्यक्रम आयोजना गरिएको छ । बिहान १०ः३० बाट सुरु हुने कार्यक्रममा बैंकर्स रविना देशराज श्रेष्ठले सहजीकरण गर्नेछिन् । सो दिन बिहानबाट निःशुल्क आँखा शिविरका साथै मेलामा नियमित कार्यक्रम पनि जारी रहने बरालले बताइन् । मेलाको तेस्रो दिन महिला उद्यमशीलताबारे उत्प्रेरणा कार्यक्रममा डा. अभिजित गुप्ताले सहजीकरण गर्ने कार्यक्रम छ । अभिमुखीकरण कार्यक्रममा इन्टरनेट र साइबर क्राइमसम्बन्धी जानकारी पनि दिइनेछ । महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सर परीक्षण कार्यक्रम सो दिनको विशेष आकर्षण रहने छ । मेलाको चौथो दिन आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजय लामिछानेले करसम्बन्धी अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्नेछन् । थाइराइड र सुगरको निःशुल्क परीक्षण पनि हुनेछ ।

महिला उद्यमशीलताको लागि आयोजित मेलामा प्रवेश निःशुल्क रहेको छ । मेला सम्पन्न गर्न करिब १५ लाख खर्च हुने आयोजकको अनुमान छ । मेलाको खर्च प्रवद्र्धक, प्रायोजक तथा तथा स्टल भाडाबाट उठाउने लक्ष्य राखिएको छ । यो अभियानमा विभिन्न व्यापारिक घराना÷उद्योग प्रतिष्ठान तथा बस्तुगत संघ÷संस्थाबाट सहयोग प्राप्त भएको छ । बाहिर जिल्लाबाट आउने महिला उद्यमीहरुका लागि आयोजकको तर्फबाट पोखरामा बस्ने र खाने व्यवस्था समेत गरिएको बरालले बताइन् । महिला उद्यमशीलता बढाउन मेला सहयोगी हुने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए ।

You might also like

Comments are closed.