महेन्द्र गुफा र चमेरे गुफाको संयुक्त गुरुयोजना निर्माण, गुफामाथिको बसपार्क हट्यो

सन्देश श्रेष्ठ

पोखरा । पोखराको पर्यटकीय गन्तव्य महेन्द्रगुफा र चमेरे गुफाको संयुक्त गुरुयोजना निर्माण गरी काम गरिने भएको छ । दुबै गुफाको बृहत्तर विकास गर्दै पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले निर्माण गरिएको संयुक्त गुरुयोजना शुक्रबार गुफा स्थलमा पत्रकार सम्मेलन गरी गुरुयोजना सार्वजनिक गरिएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १६ मा स्थित ४६ रोपनी क्षेत्रफलमा फैलिएको महेन्द्र गुफा र चमेरे गुफाको स्वामित्व स्थानिय विन्ध्यबासिनी माध्यमिक विद्यालयमा छ । महेन्द्र गुफा÷चमेरे गुफा पूर्वाधार विकास तथा ब्यबस्थापन गुरुयोजना नाम दिइएको यस परियोजनाको परामर्शदाता माछापुच्छ्रे कन्सल्टेन्सी रहेको छ । महेन्द्र गुफा र चमेरे गुफा दुबै ठाउँमा अत्याधुनिक भौतिक संरचना निर्माण गरेर आकर्षक बनाउने गुरुयोजनामा उल्लेख छ । जसका लागि २१ करोड ३३ लाख ७२ हजार ६३ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

५ वर्ष भित्रमा निर्माण गरिसक्ने गरी लक्ष्य लिइएको यस गुरुयोजना अन्तर्गत महेन्द्र गुफामा १९ करोड २२ लाख ९५ हजार र चमेरे गुफामा ३ करोड ९ लाख ३५ हजार २४३ रुपैयाँ खर्चिएर भौतिक पूर्वाधार निर्माण गरिने जनाइएको छ ।

गुरुयोजना अनुसार चमेरे गुफामा बच्चाहरुका लागि छुट्टै भवन, पसल, शौचालय र सेवा दिने भवन बनाइने छ । गुफा परिसरमै चमेराको आकारमा चमेरा संग्रहालय, गन्धर्व सांस्कृतिक भवन, गुफा जाने बाटो बनाउनुका साथै गुफाभित्रको बाटोमा रेलिङ हाल्ने, एसेम्ब्ली हल, बच्चाहरुका लागि स्प्लास सावर गर्ने ठाउँपनि निर्माण गरिने गुरुयोजनामा उल्लेख छ ।

गुफा परिसरमै फुडकोर्ट, बच्चाहरुका लागि ८ रोपनी क्षेत्रफलमा रुख चढ्न मिल्नेगरी गेमिङ जोनलगायतका २६ वटा विभिन्न पूर्वाधार निर्माण गरिने माछापुच्छ्रे कन्सल्टेन्सीका प्रमुख ईञ्जिनियर बाबुराम बरालले जानकारी दिए ।

त्यस्तै चमेरे गुफा परिसरमा प्रवेश द्वारसहित म्यूजियम, टिकट काउन्टर, गुफा जाने बाटो, रेलिङ हाल्ने, बगैंचा निर्माण, वाटर फाउन्टेनलगायतका भौतिक पूर्वाधार निर्माण गरिने ईञ्जिनियर बरालले बताए ।

भौतिक पूर्वाधार निर्माण गर्नका लागि गुफाको स्वामित्व रहेको विन्ध्यबासिनी माविले सिडमनीका रुपमा ५० लाख रुपैयाँ रहेको छ । बाँकी रकम सहयोग संकलन गरेर जुटाइने विन्ध्यबासिनी मावि व्यवस्थापन समितिकी अध्यक्ष चन्द्रा थापाले बताइन् । पत्रकार सम्मेलनमा उपस्थित गण्डकी प्रदेश सांसदहरु कृष्ण थापा, विन्दुकुमार थापा र पुस्पा केसी भण्डारीले गुफाको गुरुयोजना बनाउनु सराहनीय कार्य भएको बताउँदै उक्त गुरुयोजना सफल बनाउनका लागि रकम जुटाउन पहल गर्ने प्रतिबद्धता जनाए । पोखरा महानगर पालिका वडा नम्बर १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले महेन्द्र र चमेरे गुफाले सो क्षेत्रको शैक्षिक र भौतिक विकासमा ठूलो योगदान दिएको बताए । विद्यालय व्यवस्थापन समितिका सचिव यदुनाथ बञ्जाराले ६० वर्षपछि गुफाले पहिचान पाउन लागेको बताए ।

गुफामाथिको बसपार्क हट्यो

पोखराको पर्यटकीय गन्तव्य मध्येका एक महेन्द्र गुफा माथिको बसपार्क हटाइएको छ । यसअघी गुफा माथि नै बसपार्क बनाउँदा जोखिम बढेको पत्ता लागेपछि हाल आएर बसपार्क हटाइएको पोखरा महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले जानकारी दिए । यसअघी थाहा नभएर गुफा माथि नै बसपार्क निर्माण गरिएको रहेछ,‘वडाध्यक्ष आचार्यले भने,‘तर हामीलाई थाहा भएपछि बसपार्क हटाएका छौं ।’

महेन्द्रगुफाको भित्री भाग बाटोतर्फ निस्केको छ । उक्त गुफाको माथिल्लो भागमा भने वषौंदेखि बसपार्क निर्माण गरिदै आएको थियो । हाल आएर भने उक्त बसपार्कलाई गुफा भन्दा केहि तल आत्मज्ञान भवन नजिक सारिएको वडाध्यक्ष आचार्यले बताए । बसपार्क सारेसँगै गुफामा हुनसक्ने सम्भावित दुर्घट्ना टर्ने अनुमान गरिएको छ ।

You might also like

Comments are closed.