महोत्सवलाई राम्रोसँगै हाम्रो बनाउँछौं (सन्दर्भ सडक महोत्सव)

सूर्यबहादुर भुजेल
पूर्व अध्यक्ष, रेवान पोखरा

पोखरा सडक महोत्सवलाई हामी राम्रोसँगै हाम्रो बनाउँछौं । यो महोत्सव स्वाभाविक रुपमा राम्रो छ । यो फेवातालको किनारमा हुन्छ । संसारमा बिरलै मात्र तालको किनारमा सडक महोत्सव हुन्छ । यसको अर्को विशेषता भनेको लेकसाइडको ३ किलोमिटर क्षेत्रको सडकमा हुन्छ । यसले गर्दा जतिपनि दर्शक आउँछ उसले आनन्दले जहाँ मन लाग्छ त्यहाँ गएर घुम्न रमाउन पाउँछ ।

महोत्सवको अर्को विशेषता भनेको यहाँ देशका सातै प्रदेशका संस्कृतिहरु पालैपालो हेर्न पाईन्छ । त्यतिमात्र होइन विदेशका संस्कृति हेर्न पाइने थलोपनि हो सडक महोत्सव । यसपटक पनि चीन, भारत र पाकिस्तानको सांस्कृतिक प्रस्तुती रहन्छ । लोपोन्मुख अवस्थामा पुगेका ढिंकी, जाँतो, तान, आरनलगायतलाई खर्च दिएरै स्टल राखेर अवलोकन गर्ने वातावरण बनाउने गरेका छौं ।

सडक महोत्सवमा ४ अर्ब भन्दा बढीको कारोबार हुनेगरेको छ । त्यसको फाइदा पर्यटन व्यवसायीले मात्र नभई किसान, व्यापारी, उत्पादक कम्पनीलगायत सबैले पाउँछन् । महोत्सवमा खेलकुदका गतिविधि पनि हुनेगर्छन् । पोखरा खास गरेर साहसिक खेलकुदका लागि प्रख्यात छ । यसपटक हामीले हट एयर बेलुन राख्दैछौं । यसले महोत्सव स्थल कोमागाने पार्कबाटै उडान भर्छ । यसमा चढेर दर्शकले मनोरञ्जन लिन पाउँछन् । त्यस्तै महोत्सव स्थलबाटै प्याराग्लाईडिङ, जीप फ्लायर, बञ्जी जम्पलगायतका साहसिक खेलहरुको टिकट लिन सक्छन् ।

सडक महोत्सवको अर्को विशेषता भनेको सडकमै बसेर खान पाउनु हो । नेपालका विभिन्न जातीय संस्कृति अनुसारको खानाका साथै विदेशका चाइनिज, ईटालियन, ईण्डियन, भियतनामी, कोरियनलगायतका खानाका परिकारहरुपनि दर्शकले रोजे अनुसार स्वाद लिन सक्छन् । यी सबै हिसाबले रेवानको पोखरा सडक महोत्सव नेपालकै सबैभन्दा ठूलो र राम्रो हो । त्यसैले यो राम्रो त छ नै यसलाई हामी हाम्रो बनाउने प्रयासमा छौं । त्यसका लागि हामीले सातौं संस्करणबाट रेवान स्ट्रिट फेस्टिवलबाट पोखरा स्ट्रिट फेस्टिवल बनायौं, अब यसलाई हामी गण्डकी वा नेपाल स्ट्रिट फेष्टिवल बनाउँछौं । त्यसका लागि गण्डकी प्रदेश सरकारसँग कुरा भइरहेको छ भने पर्यटन बोर्डसँगपनि कुरा भइरहेको छ । चाँडै नै सरकारले स्वामित्व लिनेगरी यसलाई ब्राण्डिङ गर्दैछौं । हामीले यो महोत्सवलाई हाम्रो बनाउनकै लागि प्रवद्र्धनात्मक कार्यक्रम पनि गरिरहेका छौं । यसपटक पनि स्याङ्जा, पाल्पा, भैरहवा, नवलपुर, चितवन, काठमाडौंमा प्रवद्र्धनात्मक भ्रमण गयौं ।

You might also like

Comments are closed.