महोत्सवले कृषि व्यवसायप्रति आकर्षण बढाउँछ

बलराम ढकाल
वरिष्ठ उपाध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्वृद्धि नाराका साथ लेखनाथमा महोत्सव गर्दै आइरहेका छौं । महोत्सवले विभिन्न जातजातिका संस्कृति, भेषभुषा तथा परम्परा बचाउनुका साथै स्थानीय उत्पादनको प्रवद्र्धनका साथै बजारीकरणमा महत्वपूर्ण भुमिका खेल्दै आइरहेको छ । यसमा सबै जातजातिका मानिसको उल्लेख्य सहभागिता रहन्छ । महोत्सवको पनि महोत्सवको रुपमा हामीले यसलाई परिभाषित गरेका छौं । सबैलाई समेटेर अगाडि बढेका कारण नै हामी सफल भएका हौं । सबैको सल्लाह सुझाव लिएर नै हामी काम गर्छौं र गर्दै आइरहेका छौं ।

हामीले महोत्सवलाई लेखनाथ तथा यस आसपासका ग्रामीण क्षेत्रको साझा पर्वको रुपमा विकास गरेका छौं । राष्ट्रियस्तरमा नै सफल व्यवसायी तथा उद्योगीहरुको पनि मेलामा सहभागिता रहन्छ । आर्थिक रुपमा पनि महोत्सवलाई पारदर्शी बनाएका छौं । खर्चलाई कटौती गर्दै मितव्ययी भएर आर्थिक उपार्जनतर्फ लागेका छौं । महोत्सवबाट आर्जन भएको रकम सामाजिक काममा खर्च गर्दै आएका छौं ।

अहिले हामी कृषि उपज खरिद बिक्री केन्द्र स्थापनामा लागेका छौं । ताजा तथा स्वच्छ फलफुल तथा तरकारी खरिद तथा बिक्री केन्द्रस्थल यसलाई बनाउछौं । कृषिका लागि प्रयोग हुने विभिन्न औजारका साथै आवश्यक ज्ञान लिने व्यवस्था पनि यहाँ हुन्छ । यसबाट किसानहरु प्रत्यक्ष लाभान्वित हुनुहुनेछ । कृषि व्यवसायप्रति यसले आर्कषण बढाउनेछ । कृषि व्यवसायप्रति आर्कषण बढेसँगै बेरोजगारी समस्या पनि कम हुनेछ । युवापुस्ताको विदेश पलायन पनि कम हुन्छ भन्ने मलाई लाग्छ ।

महोत्सवमा विभिन्न कार्यक्रम हुनेछन् । विद्यार्थीलाई मध्यनजर गरेर शैक्षिक प्रर्दशनी पनि राखेका छौं, जसले विद्यार्थीलाई नयाँनयाँ ज्ञान सिक्न सहयोग गर्नेछ । विद्यालय स्तरीय गायन प्रतियोगिता पनि आयोजना गरेका छौं । बालबालिकाको लागि बाल उद्यान रहेको छ । युवा पुस्ताको आकर्षणको लागि हरेक दिन बेलुका कन्सर्ट गरिनेछ । विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि संचालन गरिएको छ ।

You might also like

Comments are closed.