‘महोत्सवले लेखनाथको विकासमा महत्वपूर्ण योगदान’

सात तालको बाटिका शहर लेखनाथमा बिहीबारबाट १५औं संस्करणको लेखनाथ महोत्सव हुँदैछ । महोत्सवको पनि महोत्सव भनेर चिनिदै आएको लेखनाथ महोत्सव लगायत विविध विषयमा केन्द्रित रहेर महोत्सव आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीसँग आर्थिक आवाजले गरेको कुराकानीः

महोत्सवको तयारी कस्तो छ ?
लेखनाथ महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवको बिहीबार उद्घाटन गर्न मात्र बाँकी छ । महोत्सवका स्टल व्यवस्थापनको कार्य सकिएको छ । उद्योगी÷व्यवसायीहरुले आआफ्ना सामानहरु स्टलहरुमा राखिसकेका छन् । मञ्च निर्माण गरेर दुलहीझैं सजाइएको छ । सुरक्षा व्यवस्था अत्यन्त चुस्त बनाइएको छ । सांस्कृतिक कार्यक्रम अन्तर्गतका सम्पूर्ण कलाकार तथा व्यवस्थापन टीम तम्तयार भएर बसेका छन् । म्होत्सवको प्रचारप्रसार पनि तिव्र बनाइएको छ । त्यसैले सबै हिसाबले महोत्सवको तयारी शतप्रतिशत पूरा भएर उद्घाटनका लागि मात्र बाँकी छ ।

महोत्सवमा स्टलहरु के–कस्ता छन् ?
महोत्सवमा तीन सय बढी स्टल छन् । यस वर्ष हामीले स्टलमा नयाँपन दिने प्रयास गरेका छौं । माछाको स्टल विशेष रहनेछ भने सुन्तलासहित कृषि, हस्तकलाका सामग्री, बाल उद्यानलगायतको स्टलहरु छन् । मोबाइलका स्टलहरु पनि छन् भने खाद्य, कपडा लगायतका स्टलहरु पनि छन् । बाल उद्यान पनि महोत्सवको विशेष आकर्षण हो । यसका साथै पिङ लगायतका रमाइलो गर्ने स्थल पनि छुट्टै छ ।

महोत्सवका मूख्य आकर्षणहरु के–के हुन् ?
महोत्सवको मूख्य आकर्षण भनेको माछा बिक्री केन्द्र नै हो । जहाँ रुपातालका माछाहरु खरिद बिक्रीका लागि राखिन्छन् । हरेक दिन बिहानदेखि बेलुकासम्म सर्वसाधारणले आफूले चाहेको जति माछा खरिद गर्न सक्नेगरी स्टल र माछाको व्यवस्थापन गरिएको छ । मर्दीको असला माछा पनि दर्शकका लागि नौलो हुनसक्छ । हामीले महोत्सवमा यसको पनि स्वाद लिन पाउने व्यवस्था गरेका छौं । हस्तकलाका स्टलहरु पनि महोत्सवको आकर्षणका रुपमा रहन्छन् । कृषि, पाकिस्तानी कपडाहरु, फर्निचरलगायतलाई पनि महोत्सवमा राखेका छौं । हामीले कुनै निश्चित भन्दा पनि सबै किसिमका आइटमहरुलाई प्राथमिकता दिएर स्टल उपलब्ध गराएका छौं । यी जानकारीका साथै महोत्सवमा सांस्कृतिक कार्यक्रमहरुलाई पनि जोडेका छौं । बच्चाहरुलाई रमाउन बाल उद्यान, पिङ लगायत पनि राखेका छौं ।

महोत्सवमा दर्शक किन आउने ?
स्वभाविक हिसाबले महोत्सवमा राखिएका ३ सय स्टलमा विविधता छ । त्यस हिसाबलेपनि त्यहाँ रहेका सामानहरुको अवलोकनका साथै खरिदका लागि पनि दर्शक आउन सक्छन् । ती स्टलमा राखिएका सामानहरुको अवलोकन, तिनका विशेषता, उत्पादन गर्ने तरिका, लागत, त्यसको व्यवसाय, भविष्य लगायतबारे जानकारी लिनपनि सर्वसाधारण महोत्सवमा आउनुपर्छ । अर्को कुरा एउटै थलोमा सबै सामान खरिद गर्नपनि पाउने भएकाले त्यसको सदुपयोग गर्न सर्वसाधारण लेखनाथ महोत्सवमा आउनुपर्छ । बालबालिकालाई रमाइलोका लागि पनि बाल उद्यान राखिएकाले बच्चाहरुलाई मनोरञ्जन दिनका लागि पनि महोत्सव आउनुपर्छ । घरमा बस्दाबस्ता बोरिङ भएको अवस्थामा फ्रेस हुनका लागि सांस्कृतिक कार्यक्रम पनि छ । हो त्यसैले मनोरञ्जनका लागि पनि महोत्सव आउनुपर्छ । मोबाइल साटफेर र खरिदपनि गर्न पाइने भएकाले त्यसका लागि पनि महोत्सव आउनुपर्छ ।

महोत्सव सफल बनाउन के गर्नुभएको छ ?
महोत्सव स्थलमा साँझलाई पर्वजस्तै बनाउने प्रयास गरेका छौं । जहाँ हरेक ख्याती प्राप्त कलाकारहरुले लाइभ प्रस्तुती दिनेछन् । दिउँसो दोहोरीका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुले गीत गाएर मनोरञ्जन प्रदान गर्नेछन् । रत्यौली पनि राखिएकाले महिलाले आफ्नो वह पोखेर मन हलुको बनाउन सक्नेछन् । प्रचारप्रसार राम्रो गरेका छौं । लेखनाथबासीसँग सहकार्य गरेर सबैलाई अपनत्व दिलाएका छौं । महोत्सवमा सम्पूर्ण लेखनाथ बासीको अपनत्व छ ।

महोत्सवले लेखनाथको विकासमा कसरी सघाउँछ ?
महोत्सव आर्थिक गतिविधि चलायमान बनाउनका लागि हो । यस हिसाबले लेखनाथबासीको आयआर्जनमा यसले सघाउने नै भयो । किनकि महोत्सवमा हामीले किसानलाई बजार दिएका छौं । सर्वसाधारणले सहज रुपमा सस्तो मूल्यमा सामान पाएका छन् । यसले किसान र उपभोक्ता दुबै वर्ग लाभान्वित भएका छन् । अन्य उद्योगी व्यवसायीले पनि यहाँ बजार पाउँछन् । महोत्सव समृद्धीको बाहक पनि हो । किनकि बजार बढेसँगै उत्पादनपनि अवश्य बढ्छ । त्यतिमात्र होइन महोत्सव सामान खरिद बिक्री मात्र नभई प्रदर्शनी पनि हो । यहाँ नयाँनयाँ प्रविधिबारे जानकारी गराइन्छ, सामान उत्पादन गर्ने तरिका, लगानी र त्यसको भविष्यबारेपनि महोत्सवमा जानकारी गराइन्छ । यहिंबाट सिकेर उद्यमी बन्नेहरु पनि बढेका छन् । त्यतिमात्र होइन महोत्सवबाट बचत भएको रकमबाट हामीले बिजमनी दिने गरेका छौं । त्यहिंबाट शुरु गरेका युवाहरुले अहिले ठूलाठूला लगानी गर्न थालेका छन् । अनि सँगसँगै कलाकारहरुको प्रतिभा प्रस्फुटनसँग सम्बन्धित गायन तारा लगायतका प्रतियोगिता पनि गरिन्छ । यसले प्रतिभा जन्माउन पनि महोत्सवले काम गरिरहेको छ । यस्ता धेरै हिसाबले हेर्दा महोत्सवले लेखनाथको विकासमा महत्वपूर्ण योगदान दिइरहेको छ ।

लेखनाथबासीको हितमा अझै केही गर्दै हुनुहुन्छ कि ?
लेखनाथमा ठुला ठुला उद्योग तथा व्यापार छैन । लेखनाथ एक पर्यटकीय क्षेत्र पनि हो । यहाँ रहेका तालले पर्यटकलाई आकर्षित गरेका छन् । पर्यटन व्यवसायको प्रवद्र्धनको लागि पुर्वाधार विकास गर्नु आवश्यक छ । सेवामुलक व्यवसाय यहाँ सञ्चालन भएका छन् । होटल व्यवसाय, कृषि व्यवसायको यहाँ धेरै सम्भावना छ । स्वस्थ तथा अर्गानिक तरकारी तथा फलफुल उत्पादन हुन थालेका छन् । अझ यसलाई बढावा दिनका लागि हामीले उत्पादित बस्तुको बजारीकरणमा सघाउन कृषि उपज खरिद बिक्री केन्द्र स्थापना गर्दैछौं । किसानलाई कृषि पेशाप्रति आकर्षित गर्नको लागि लेखनाथ उद्योग वाणिज्य संघले कृषि व्यवसायका क्षेत्रमा पनि धेरै काम गरेको छ । पर्यटन क्षेत्रको विकासका लागि होमस्टे प्रवद्र्धनमा पनि हामी लागेका छौं । यस क्षेत्रमा रहेका उद्योगी व्यवसायीलाई कसरी यस क्षेत्रमा सफल बनाउन सकिन्छ र उद्योग व्यवसाय प्रवद्र्धन गर्न सकिन्छ भन्ने तर्फ हामी लागेका छौं । उद्योगी व्यवसायकिो लागि विभिन्न तालिम, सेमिनार तथा गोष्ठी पनि गर्दै आएका छौ । कर शिक्षा सम्वन्धी विभिन्न कार्यक्रम गर्दै आएका छौं । व्यवसायीलाई कर तिर्नुपर्छ भन्ने कुरा सिकाएका छौं । सम्वन्धित कार्यालयमा दर्ता गरेर व्यवसायीलाई व्यवसाय संचालन गर्न लगाउछौं ।

महोत्सवले पर्यटन प्रवद्र्धनमा कत्तिको सघाएको छ ?
महोत्सवले लेखनाथको पर्यटन प्रवद्र्धनमा सघाएको छ । महोत्सवले लेखनाथलाई ब्राण्डिङ गर्न सघाएको छ । महोत्सवबारे प्रचारप्रसार गर्दा लेखनाथबारे नेपाल तथा विदेशमा पनि चर्चा परिचर्चा स्वाभाविक रुपमा हुन्छ । महोत्सवका लागि कास्की सहित पर्वत, स्याङ्जा, तनहुँ लगायतका क्षेत्रबाट पनि दर्शकहरु आउँछन् । यस हिसाबले आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि महोत्सवले सघाएको छ । सँगसँगै महोत्सवमा लेखनाथको बेगनास, रुपातालमा हुने विविध गतिविधिहरुपनि समेटिएकाले यसले पनि पर्यटन प्रवद्र्धनमा सघाउँछ ।

You might also like

Comments are closed.