पोखरा । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास नेपालमा अझ धेरै लम्बिने सम्भावनासँगै माउण्ट अन्नपूर्ण मा.वि. नदीपूर ३ कास्कीले विद्यार्थीहरुलाई अनलाइन कक्षाहरु सञ्चालन सुरु गरेको छ ।
विद्यालय प्रशासनसँगको सहकार्य तथा विद्यालयका कक्षा ११ र १२ संयोजक कृष्ण लम्साल, प्रशासक प्रदिप पोख्रेल र विज्ञान विषय शिक्षक तथा होस्टल इन्चार्ज पुरन श्रीसको संयोजकत्वमा विद्यार्थीहरुले दैनिक घरबाटै आफ्ना शिक्षकहरु मार्फत विषयगत अध्ययन गर्ने अवसर प्राप्त गरेको विद्यालयका प्राचार्य प्रदिप कुमार लम्सालले जानकारी दिए ।
‘एस.ई.ई. तथा कक्षा ११ र १२ का विद्यार्थीहरुको अन्तिम परीक्षालाई लक्षित गरी चलाइएको यो कार्यक्रममा इन्टरनेटको पहुँच पुगेका तमाम अभिभावक तथा विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित भएको पाइएको छ,’ प्राचार्य लम्सालले भने ।
कोरोना भाइरस (कोभिड–१९) को सन्त्राससँगै नेपाल सरकारले घोषणा गरेको ‘लकडाउन’का कारणले सम्पूर्ण विद्यार्थीहरु घर–घरमै छन् । ‘लकडाउन’को चपेटामा परेका विद्यार्थीहरुलाई लक्षित गर्दै विद्यालय परिवारले जुम एप्लिकेसनमार्फत अनलाइनमा जोडिन सम्पूर्ण विद्यार्थीलाई आग्रह पनि गरेको छ । यो एप्लिकेसनको उच्चतम प्रयोग गरी शिक्षक विद्यार्थीबीच आवश्यक अन्तक्र्रिया र परामर्श गर्न सकिन्छ ।
अनलाइनमा उपस्थित हुन नसक्ने विद्यार्थीलाई टेलिफोनमार्फत पनि आवश्यक सरसल्लाह र सुझाव अभिभावक तथा विद्यार्थीहरुलाई दिइरहेको लम्सालले जानकारी दिए । कोरोना भाइरसको विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यालयले चालेको यो कदमप्रति सम्बन्धित अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरु भएको व्यवस्थापन समितिका अध्यक्ष गिरी प्रसाद गुरुङले बताए । प्रविधिमैत्री सिकाइ अहिलेको समयको आवश्यकता रहेको र यसले विद्यार्थीहरुलाई थप सक्रिय र सिकाइप्रति उत्साहित बनाएको कुरा विद्यालयका ११ र १२ संयोजक कृष्ण लम्सालले जानाकारी दिए ।
Comments are closed.