माओवादीको फेरी पुनरोदय हुने हो भने राजसंस्था र हिन्दु राष्ट्र फिर्ता गर्नुपर्छ ः कमल थापा

सन्देश श्रेष्ठ
पोखरा, फागुन २८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पछिल्लो १२ वर्षिय राजनीतिले ६ वटा परिणाम र प्रवृत्ति निम्त्याएको बताएका छन् । सनातन हिन्दू राष्ट्र पुर्नस्थापनाको लागि मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको टोलीको स्वागतार्थ राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आयोजना गरेको आमसभालाई मंगलबार पोखराको चिप्लेढुंगामा सम्बोधन गर्दै उनले २०६२÷६३ को दोश्रो जनआन्दोलन पछिको १२ वर्षिय राजनीतिले ६ वटा खराब परिणाम र प्रवृत्ति निम्त्याएको बताएका हुन् ।

राप्रपा केन्द्रीय अध्यक्ष थापाले पछिल्लो १२ वर्षिय राजनीतिले राष्ट्र विखण्डनको आवाज सतहमा ल्याएको बताए । दोश्रो जन आन्दोलन अघिसम्म कसैलेपनि राष्ट्र विखण्डनको आवाज नउठाएको बताउँदै उनले भने,‘तर दोश्रो जनआन्दोलनपछि जातिय, वर्गिय र क्षेत्रीयताको बिजारोपण गराइयो, जसको परिणति नेपालमा कहिल्यै नसुनिएको राष्ट्र विखण्डनको आवाज जबरजस्त प्रवेश भयो ।’ अध्यक्ष थापाले १२ वर्षिय राजनीतिले दोश्रो समस्याको रुपमा गरीबी र बेरोजगारीको समस्या विकरालको रुपमा निम्तिएको बताए । बेरोजगारीका कारण युवा पलायन र गरीबी बढिरहेको उनको भनाई थियो ।

थापाले चौथो समस्याका रुपमा भ्रष्टाचार भित्रिएको बताए । एनसेल काण्ड, वाइड वडी, ३८ क्विन्टल सुनकाण्डलगायतका दर्जनौं भ्रष्टाचार मौलाएको बताउँदै उनले भने,‘एक प्रकारले भने लोकतन्त्रको आवरणमा लुटतन्त्र चलिराखेको छ ।’ पटक÷पटक सरकारमा गएर मन्त्री बनेका कारण गरीबी र बेरोजगारी निम्तिनुमा आफूपनि दोषी रहेको बताउँदै उनले भने,‘आज धनी र गरीब बिचको खाडल झन् बढेर गएको छ ।’ थापाले हिजो बन्दुक बोकाउनेहरु आज जादुगरी रुपमा अरबपति भएको तर बन्दुक बोक्नेहरु गरीबी र बेरोजगारीका कारण रोजगारी खोज्दै बिदेश हानिनुपर्ने अवस्था आएको बताए ।

थापाले १२ वर्षिय राजनीतिले चौथो समस्याका रुपमा धार्मिक, सांस्कृतिक माथिको आक्रमण बढेको बताए । जनआन्दोलनको भावना बिपरित कांग्रेस र कम्युनिष्टले आन्दोलनको म्याण्डेट बिपरित हिन्दू राष्ट्र फालेर धर्म निरपेक्षता राखेलगत्तै दशैं तिहार, हिन्दु राष्ट्रलगायतमाथि आक्रमण बढेको उनको भनाई थियो । अध्यक्ष थापाले पाचौं समस्याका रुपमा सर्वसत्तावादको खतरा आएको बताए । दुई तिहाईको सरकार पूर्ण रुपमा असफल भएपनि वर्तमान घटनाक्रमले ओली सरकारमा एक दलीय सर्वसत्तावादका संकेतहरु देखिन थालेको बताउँदै उनले भने,‘म अहिले नै सर्वसत्तावाद आइसक्यो म भन्दिनँ, तर सर्वसत्तावादले टाउको उठाउन सक्ने सम्भवानाका संकेतहरु देखिएका छन् ।’

अध्यक्ष थापाले अन्तिम समस्याका रुपमा फेरी माओवादीको पुनरोदय भएको बताए । विप्लव माओवादीले हत्या, हिंसा र विध्वंश निम्तिएको बताउँदै उनले भने,‘प्रचण्ड नेतृत्वको माओवादी त आफ्नो काम धन्दा सकिएपछि एमालेमा विलय भयो, तर फेरी अर्को माओवादी विप्लव नेतृत्वको माओवादी भन्छ क्यारे, त्यसको पुनरोदय भएको छ, यो १२ वर्षिय राजनीतिक अभ्यासको परिणति हो ।’ उनले कांग्रेस र कम्युनिष्टलाई सोध्न चाहेको बताउँदै थपे,‘तपाईंहरुले हिजोका दिनमा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन अब कहिल्यैपनि हतियार उठाउन नपर्ने गर्नको लागि भनेर हिन्दु राष्ट्रको पहिचान समाप्त पारेको होइन ? राजसंस्थालाई पाखा लगाएको होइन ? संघीयताको बिजारोपण गरेको होइन ? तपाईंहरुले भनेकै बाटोबाट देश १२ वर्ष चल्यो, तपाईंहरुले भने अनुसारनै हिन्दु राष्ट्र, राजसंस्था पाखा लाग्यो, तर आज १२ वर्ष पछाडि नै फेरी किन नयाँ रुपमा माओवादी विद्रोहको जन्म भइराखेको छ ? ।’ उनले यसको जवाफ कांग्रेस र कम्युनिष्ट नेतृत्वले जनतालाई दिनुपर्ने बताए । उनले माओवादीको फेरी नयाँ रुपमा पुनरोदय हुने हो भने हिजो पाखा लगाइएको राजसंस्था र हिन्दु राष्ट्र फिर्ता गर्नुपर्ने बताए ।

अध्यक्ष थापाले हिजो गल्ती भयो भनेर पुरानै मान्यतामा फर्किन भने नमिल्ने बताए । पुरानै मान्यतामा फर्किनु उपयुक्त नहुने बताउँदै उनले भने,‘अहिले गणतन्त्र चाहनेहरु पनि धेरै हुनुहुन्छ, धर्म निरपेक्ष राष्ट्र चाहनेहरुपनि धेरै हुनुहुन्छ, संघीयता चाहनेपनि धेरै नै हुनुहुन्छ, त्यसैले पुरानै मान्यतामा फर्किनुपनि उपयुक्त हुँदैन ।’ राप्रपा अध्यक्ष थापाले राप्रपाले मध्यमार्गि विकल्प अघि सारेको बताए । उनले गणलोकतन्त्रको सट्टामा संवैधानिक राजसंस्थासहितको लोकतन्त्र, धर्मनिरपेक्षताको सट्टामा पूर्ण धार्मिक स्वतन्त्रतासहित सबै धर्मलाई समानतासहितको हिन्दु राष्ट्र, संघीयताको अभ्यासमा केन्द्र र अहिलेको भन्दा बलियो बनाएर स्थानिय तहलाई राखौं र बिचको प्रदेशलाई नराखौं ।’ उनले यसो गरिएमा देश, राष्ट्रियता र राष्ट्रिय अखण्डता बलियो हुने बताए । कार्यक्रममा राप्रपा बरिष्ठ नेता बुद्धिमान तामाङले हिन्दु राष्ट्र खोसिदापनि हिन्दु धर्मावलम्वीहरु कानमा तेल हालेर बसेको आरोप लगाउँदै अब जाग्न आग्रह ।

हिन्दु राष्ट्र माग्न नसक्ने क्षेत्री बाहुन नपुसंक हुन् ः लिंग्देन

राप्रपा नेता तथा सांसद राजेन्द्र लिंग्देनले हिन्दु राष्ट्रको पक्षमा आवाज नउठाउने क्षेत्री बाहुन नपुंसक भएको टिप्पणी गरे । हिन्दु राष्ट्र हटाएर धर्म निरपेक्षता बनाउने कांग्रेस र कम्युनिष्टलाई भोट दिने क्षेत्री बाहुनले गरेको अनुष्ठान पितृले पनि नपाउने बताउँदै उनले थपे,‘अहिलेपनि चेत नखाए खस आर्यका सन्ततीले भोलि आफ्नै बुबाआमालाई दुत्कार्ने छन्, सराप्ने छन् ।’

पूर्वको ताप्लेजुङस्थित पाथीभाराबाट शुरु भएको स्वाभिमान यात्रा मंगलबार पोखरा आइपुगेको हो । यो यात्रा फागुन ३० गते पशुपतिनाथ मन्दिरमा पुगेर समापन हुने राप्रपाले जनाएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.