‘माग पुरा भए कम्पनीमा जान तयार छौं, नत्र जादैनौं’

एन कुमार साई
अध्यक्ष, पृथ्वी राजमार्ग बस सञ्चालक समिति

पृथ्वी राजमार्ग बस सञ्चालक समिति अन्तर्गत देशभर सार्वजनिक यातायात सञ्चालन भइरहेका छन् । सार्वजनिक यातायातको माध्यमबाट भारतको दिल्लीलाई समेत नेपालसँग जोड्न सफल समिति अन्तर्गत अहिले करिब १ हजार ४ सय बस सञ्चालनमा छन् । नयाँ तथा सुपर डिलक्स मापदण्डका बसहरु धमाधम सञ्चालन गरिरहेको समितिको नेतृत्व ऐनकुमार साईले गरिरहेका छन् । यसैक्रममा समिति अन्तर्गत भएका काम, भावी योजना, सार्बजनिक यातायातको अवस्था लगायत विविध विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका साईसँग गरिएको कुराकानीः

कम्पनीमा जान सरकारको निर्णय आइसकेपछि पनि वार्षिकोत्सक मनाउँदै हुनुहुन्छ, के अझैपनि समितिले निरन्तरता पाउँछ ?
समितिले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने कुरा त हाम्रो भन्दा पनि सरकारको हातमा रह्यो । सरकारले फागुन मसान्तसम्ममा खारेज गर्ने भनेर प्रचार गरेको छ । तर सरकारका मन्त्रीले चाहिं हामीसँग छुट्टै सहमति गर्नुभएको छ । मन्त्रीले मन्त्री परिषद बैठकबाट निर्णय गराउँछु । त्यसपछिको २ महिना भित्रमा कम्पनीमा जाने भनेर सहमति गर्नु भएको छ । हाम्रो बुझाईमा क्याविनेटबाट निर्णय भएर हामीलाई पत्र प्राप्त भएपछिको २ महिना भित्रमा कम्पनीमा जाने भन्ने हो । तर सहमति भएकै दिनबाट गन्ती शुरु गरेर फागुन मसान्तसम्ममा कम्पनीमा गइसक्नुपर्छ भनेर हल्ला चलाइयो । यो गलत हो । अहिलेसम्म हामीलाई पत्रपनि प्राप्त भएको छैन । पत्र प्राप्त भएको अनुसार नै हामी २ महिना मान्छौं ।

कम्पनीमा जानचाहिं तपाईंहरु तयार हो ?
अहिले सरकारले भनेजस्तो गरी हामी कम्पनीमा जान तयार छैनौं । यसमा केही परिमार्जन गर्न आवश्यक छ । हाम्रा मागहरु सरकारले पूरा गर्नुपर्छ । पहिलेकोमा केही परिमार्जन गर्नुपर्छ । यातायात मन्त्रीज्यूले हाम्रा मागहरु पूरा गर्छु भनेर बचन दिनु भएको छ । हामी यसमा आशावादी छौं कि मन्त्री ज्यूले दिनुभएको बचन पूरा हुनेछ । हेरौं माग पूरा हुन्छ कि हुँदैन । अब माग पूरा भएन भने त यो समिति निरन्तर यत्तिकै जान्छ । समिति खारेज हुन दिदैनौं ।

के–के माग पुरा गर्छु भनेर बचन दिनु भएको छ मन्त्रीले ?
हामीले कम्पनीमा जानलाई हाम्रा समितिमा रहेका सबै गाडीहरुलाई एउटै कम्पनीमा राख्न पाउनु पर्छ भनेका छौं । यसमा मन्त्री सहमत हुनुहुन्छ । यस विषयमा मन्त्रीज्यूसँग सहमति भइसकेको छ । यस्तो भएमा हामी कम्पनीमा जान तयार छौं । सहमति अनुसार हामी कम्पनीमा जान्छौं पनि । मन्त्री ज्यूपनि वि.स.२०३४ अन्तर्गत जुन जुन समितिहरु छन् ती सबै समितिलाई कम्पनीमा रुपान्तरण गर्न र ती समितिमा रहेका गाडीहरु तत् तत् कम्पनीमा राख्न पाउने नियम बनाउन तयार हुनुहुन्छ । अब आइन्दा दर्ता भएका कम्पनीलाई भने नयाँ नीति अनुसार लागू गर्ने भन्ने छ । जस्तो हामी पृथ्वी राजमार्ग बस सञ्चालक समिति अब रुपान्तरण भएर पृथ्वी राजमार्ग बस सञ्चालक प्रालि हुन्छ । समितिका रहेका सबै १४ सय गाडीहरु सबै कम्पनीमा रहन्छन् । समितिमा रहेका सबै सम्पती पनि कम्पनीमै राख्न पाइन्छ । यो एक पटकलाई मात्र हो । यसमा मन्त्रीज्यू सकारात्मक हुनुहुन्छ र उहाँले यो माग पूरा गर्छु भनेर बचन पनि दिनु भएको छ । यति भएपछि हामी कम्पनीमा जाने विषयमा दुइमत छैन ।

समितिलाई नै कम्पनीमा रुपान्तरण गरेपछि अहिलेजस्तै त हुने होला नि ! के फरक हुन्छ र ?
फरक त केही पनि हुन्छ जस्तो लाग्दैन मलाई । नाम फरक हो, काम एउटै हो भन्ने हामीलाई लाग्छ । मन्त्रीज्यूहरुलाई सिण्डिकेट फाँले भनेर उच्च नाम कमाउनुपर्ने होला । सरकारको एक सय दिनको उपलब्धीमा समेत सिण्डिकेट फाल्यौं भनेर उल्लेख छ । यो सबै नाम कमाउन मात्रै गरेजस्तो लाग्छ मलाई । खास गरेर सरकारले कर संकलन गर्न खोजेजस्तो छ । यातायात व्यवसायीले कर तिरेन भनेर हल्ला चलाइएको छ । यी गलत प्रचारले गर्दा मन्त्रीज्यू यस्तो निर्णयमा पुग्नु भएको हो जस्तो लाग्छ मलाई । तर हामी यातायात व्यवसायीले दोहोरो÷तेहेरो कर तिरिराखेका छौं । हामी सँधै कर तिर्न तयार छौं । यसमा त दुइमत नै छैन । अहिले छुट्टाछुट्टै कर तिर्छौं भने भोलि कम्पनीमा गइसकेपछि वार्षिक १४ सय गाडीको करोडौं कर संकलन भएको देखिन्छ । त्यतिबेला एक मुष्ठ कर यातायात व्यवसायीबाट संकलन ग¥यौं भनेर नाक फुलाउने होला नि । त्यति मात्र हो, नत्र खास फरक छैन समिति हुँदा र कम्पनीमा जाँदा ।

वर्तमान अवस्थामा समितिको औचित्य कति छ ?
समितिको औचित्य झनै बढेर गएको छ । यातायात क्षेत्रको सुधार गर्नुपर्नेछ । यातायात क्षेत्र गुणस्तरीय र व्यवस्थित बनाउने काम अझै बाँकी छ । रुट व्यवस्थापन लगायतका थुप्रै कामहरु अझै गर्न बाँकी छ । त्यसैले यसको औचित्य समाप्त भइसकेको छैन ।

यातायात क्षेत्रको चुनौति चाहिं के–के छन् ?
यातायात क्षेत्रको चुनौति भनेको गण्डकी प्रदेशलाई कसरी नमूना बनाउने भन्ने हो । त्यसमा प्रदेशका मन्त्री, सांसद तथा मेयर साबहरुको सहयोग आवश्यक छ । उहाँहरुले सहयोग गर्नुभयो भने सातै प्रदेशको भन्दा छुट्टै र व्यवस्थित यातायात क्षेत्र बनाएर नमूना बनाउन सकिन्छ । प्रदेश अहिले नयाँ छ । स्वरुप नयाँ भएपछि नयाँमा चुनौति भयङ्कर हुन्छ । तर चुनौतिलाई पन्छाउँदै अगाडि बढ्न पृथ्वी राजमार्ग बस सञ्चालक समिति हरदम तयार छ । यो क्षेत्रलाई ब्यबस्थित बनाउँदै गुणस्तरीय बनाउन सबैले हातेमालो गर्नुपर्छ । हामी त्यसका लागि तयार छौं ।

समिति नवीकरण गर्न माग गर्दै सर्वोच्चमा हाल्नुभएको रिट कहाँ पुग्यो ?
२०३४ अन्तर्गत दर्ता भएका सबै समितिलाई नवीकरण गर्न माग गर्दै हामीले मुद्धा हालेका हौं । यस बीचमा ट्रक व्यवसायी महासंघले पनि हालेको थियो । त्यसको फैसला सुनाउँदै सर्वोच्चले नवीकरण गर्न भनेको छ । अब सरकारले २०३४ अन्तर्गत दर्ता भएको ट्रक व्यवसायी महासंघको दर्ता गर्ने र हामी सोही २०३४ अन्तर्गत नै दर्ता भएको समितिलाई नगर्ने भन्ने हुँदैन । यदि त्यस्तो भयो भने हामीलाई स्वीकार्य हुँदैन । हामी आन्दोलनमा जान्छौं त्यस्तो अवस्थामा । समिति खारेज गर्ने भए सबैको हुनुपर्छ अनि नवीकरण भए दुबैको हुनुपर्छ ।

पृथ्वीमा ३ कार्यकालसम्म अध्यक्ष हुनुभएको छ । कार्यकाललाई कसरी स्मरण गर्नुहुन्छ ?
यस संस्थाको ३ कार्यकालसम्म नेतृत्व गर्ने अवसर मैले पाएको छु । कार्यकाल सफल हुन एक जनाको प्रयासले मात्र सम्भव हुँदैन । सबै मिलेर जानुपर्छ । विभिन्न योजना बनाएर हामी अगाडि बढेका छौं । कतिपय काम पुरा गरेका छौं भने कतिपय बाँकी नै छन् । सबै व्यवसायी मिलेर काम गर्दै आइरहेका छौं । समग्रमा मेरो नेतृत्वले सम्पूर्ण व्यवसायीलाई सन्तुष्ट बनाउन सकेको छ । घाटामा रहेको समितिलाई नाफामा पु¥याएर व्यवसायीलाई बोनस खुवाउन सक्ने अवस्थामा ल्याएका छौं । व्यावसायिक हकहितमा काम गरेर व्यवसायीको विश्वास जित्न पाउनु नै मेरो कार्यकालको सफलता हो । पुराना गाडी धमाधम बिस्थापित गरेर नयाँनयाँ र डिलक्स तथा सुपर डिलक्स र एसियाकै उत्कृष्ट गाडी समिति अन्तर्गत सञ्चालन गर्न सक्नु पनि हाम्रो सफलता हो ।

सामाजिक काम के कसरी गर्दै आउनुभएको छ ?
वार्षिकउत्सव सभ्य र भव्य बनाउन हामीले विभिन्न कार्यक्रम गरेका छौं । समाजसेवाको भावनाका साथ तथा समाजप्रति उत्तरदायी भएर हामीले रक्तदान, वृद्धाश्रममा गएर त्यहाँ रहेका बुवा आमालाई खाना खुवाउने लगायतका कार्यक्रम पनि गर्दै आएका छौं । सरसफाइलाई निरन्तरता दिएका छौं । खेलकुदको क्षेत्रमा पनि हामी लागेका छौं । सहारा क्लबलाई सहयोग गर्दै आइरहेका छौं । जसले खेलकुदका गतिविधि पनि संचालन गर्न सहयोग पुगेको छ । शिक्षा क्षेत्रमा पनि विभिन्न सहयोग गर्दै आएका छौं । हामीले सामाजिक कामलाई सधैं निरन्तरता दिएका छौं । उत्कृष्ट तरिकाले काम गरेका चालक, सहचालक लगायत व्यवसायी तथा मजदुरका छोराछोरीलाई पनि हामी सम्मान गर्नेछौं ।

यातायात व्यवसायीलाई तपाईंको सुझाव के छ ?
यातायात व्यवसायी साथीहरुले उहाँहरुको हकहितको लागि तथा समस्या समाधानमा पहल गर्नको लागि जिम्मा दिनुभएको छ । साथै यस क्षेत्रमा लगानी भएको पुँजी संरक्षणको लागि पनि उहाँहरुले मलाई पठाउनुभएको हो । लगानी गर्ने क्रममा सोच विचार गरेर लगानी गर्न म उहाँहरुलाई आग्रह गर्दछु । यात्रुको चाहना अनुसार तथा यात्रुलाई सुविधा दिन सक्ने खालका सवारी साधनमा लगानी बढाउनु आवश्यक छ । त्यसै अनुसार नै लगानी बिस्तार गर्न म यातायात व्यवसायी साथीहरुलाई आग्रह गर्दछु ।

You might also like

Comments are closed.