माछापुच्छ्रेको कुईबाङलाई पर्यटकीय गाउँ बनाइने

पोखरा, फागुन १३

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने कुईबाङ गाउँलाई पर्यटकीय गाउँ बनाइने भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ मा पर्ने कुईबाङलाई पर्यटकीय गाउँ बनाइने भएको हो । सोमबार कुइबाङ गाउँमै आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले कुईबाङलाई पर्यटकीय गाउँ घोषणा गरेका हुन् ।

कुईबाङ कास्कीको उत्तर पश्चिम गाउँ हो । पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजाको मिलनचोकबाट करीब ११ किलोमिटर उत्तर पश्चिममा पर्ने यो गाउँ समुन्द्री सतहबाट १ हजार २ सय ५५ मिटरको उचाईमा पर्छ । माछापुच्छ्रे हिमाल र मर्दी हिमालको काखमा रहेको यो गाउँ मर्दीखोलाको माथिपट्टी भि–सेपमा रहेको छ । हिमालको काखमा रहेकाले समशितोष्ण हावापानी भएको यो गाउँमा ६६ घर धुरी छन् भने यहा १३७ पुरुष र १३५ महिला गरी कुल २७२ जनसंख्या रहेको छ । कुईबाङ गाउँमा गुरुङ, मगर, परियार, विश्वकर्मा, नेवार, बाहुन, तामाङलगायतका जातजातिहरुको बसोबास रहेको छ । माछापुच्छ्रे हिमाल जाने र फर्किने ट्राञ्जिट प्वाइन्टको रुपमा लिइने कुईबाङ गाउँ पर्यटकीय घलेल गाउँबाट नजिक पर्छ ।

पर्यटन र कृषि जिविकोपार्जनको मूख्य आधार रहेको यो गाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण भएपनि पर्यटकीय अन्य गाउँहरुको तुलनामा ओझेलमा परेको छ । कुईबाङबाट मर्दी हिमाल र माछापुच्छ्रे हिमाल आँखै अगाडि देखिन्छ । कुईबाङ पर्यटकीय गाउँ घान्द्रुक र धम्पुसको विकल्प बन्नसक्ने स्थानियको विश्वास छ ।

पर्यटकीय गाउँ घोषणासँगै कुईबाङलाई पर्यटकीय गाउँ बनाउन कुईबाङ एकीकृत विकास परियोजना तयार पारिएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीको परिकल्पना र स्थानिय कुईबाङ टोल विकास संस्थाको व्यवस्थापनमा परियोजना तयार पारिएको हो । परियोजनाको डिजाइनिङ सोमबार पर्दा हटाएर सार्वजनिक गरियो । परियोजना अन्तर्गत कुईबाङ गाउँमा होम–स्टे सञ्चालन गरिने भएको छ । होम–स्टे सञ्चालनका लागि प्रत्येक घरमा कोठाहरु थप्नेदेखी खानेपानीको धारा निर्माण, शौचालय निर्माणलगायतका काम गरिने वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिए । कुईबाङ गाउँको तल्लो विन्दुमा प्रवेश द्वार बनाइने छ भने सो गाउँमा करीब ३ मिटर फराकिलो ढुंगाको छपनी छापेर बाटो निर्माण गरिनेछ । जसले पर्यटकलाई आकर्षण गर्ने अनुमान गरिएको छ । बाटो निर्माणका लागि करीब ९० लाख लाग्ने अनुमान गरिएको वडाध्यक्ष क्षेत्रीले बताए ।

कुईबाङको कुनै एउटा घरलाई सांस्कृतिक घर (कल्चर हाउस) बनाइने भएको छ । सो घरमा गुरुङ समुदायमा प्रयोग गरिने सबै सामानहरु राखेर सजाइनेछ । सांस्कृतिक घर नजिकै कुईबाङ गाउँ र त्यस वरपरका हिमालसहित विभिन्न गाउँका बारेमा जानकारी दिनका लागि इन्फरमेसन घर बनाइने भएको छ । पर्यटकलाई आकर्षित गर्न उनीहरुका बच्चा रमाउने ठाउँ अर्थात चिल्ड्रेन पार्क निर्माण गरिने वडाध्यक्ष क्षेत्रीले जानकारी दिए । त्यसको नजिकै रहेको भयँरथानलाई संरक्षण गरेर हेर्न लायक ठाउँ निर्माण गरिने उनले बताए ।

कुईबाङमा चिया बगानसमेत रहेकाले यसलाई बिस्तार गरेर पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले यसलाई पनि परियोजनामा समेटिएको छ । हाल करीब १९० रोपनीमा रहेको सो चिया बगानलाई बढाएर २ हजार रोपनी क्षेत्रफलमा बिस्तार गर्नेगरी परियोजनामा समेटिएको वडाध्यक्ष क्षेत्रीले बताए । परियोजनामा बञ्जी जम्पलाईसमेत समेटिएको छ । घलेल गाउँ जाने बाटोमा पुल निर्माण गरेर त्यहाँ बञ्जी जम्प सञ्चालन गर्नेगरी परियोजना बनाइएको उनले बताए । परियोजनामा गाउँलाई झलमल्ल बनाउनका लागि मर्दी खोलामा ४४ किलोवाटको लघु जलविद्युत आयोजना निर्माण गर्ने भनिएको छ ।

गाउँमा आएका पर्यटकलाई होम–स्टेमा राखेर अर्गानिक खाना खुवाइने योजना बनाइएको छ । जसका लागि गाउँमै खसीबोका पाल्ने, सामुहिक अर्गानिक फार्म सञ्चालन गरेर त्यहिं धान, कोदो, तरकारी उत्पादन गर्नेक, लोकल कुखुरा उत्पादन गर्ने योजना बनाइएको छ । हाल फाट्टफुट्ट मात्र पुग्ने कुईबाङ गाउँमा ५ वर्षभित्र वार्षिक ५० हजार पर्यटक भित्राउने लक्ष्य राखिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।

गाउँफर्कने वातावरण बन्दैछ ः मन्त्री गुरुङ

कुईबाङलाई पर्यटकीय गाउँ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले मर्दी हिमाल र माछापुच्छ्रे हिमालको आधार शिविर जाने र फर्कने ट्रेकिङ रुटको प्रवेश द्वार कुईबाङ गाउँ बन्ने विश्वास व्यक्त गरे । उनले वार्षिक १ लाख पर्यटक भित्राउन कुईबाङ गाउँ सक्षम हुने भन्दै कुईबाङ गाउँलाई पर्यटकीय गाउँ बनाउनका लागि तयार पारिएको कुईबाङ एकीकृत विकास परियोजनामा प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरे । यद्वपी उनले सहयोगबारे थप प्रष्ट पारेरनन् । उनले आर्थिक अभाव भएमा व्यक्ति वा संस्थालाई ५÷६ प्रतिशत ब्याजदरको सहुलियत ऋण मिलाई दिने आस्वासनसमेत दिए । उनले गाउँ गाउँमा होम–स्टे, तरकारी खेती, पशु पालनलगायतले गाउँ फर्कने वातावरण निर्माण गरेको बताए ।

मन्त्री गुरुङले नेपाली जनतालाई आत्मनिर्भर बनाउन सकेमात्र देशको अर्थतन्त्र बलियो हुने बताए । विदेशी सहयोग मागेर सँधै चल्न नहुनेमा जोड दिदै उनले थपे,‘मागेर होइन कि आफैले गरेर आत्मनिर्भर बन्ने हो, आम नेपाली जनतालाई आत्मनिर्भर बनाउन सकेमात्र देशको अर्थतन्त्र बलियो हुन्छ ।’

गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्ष घोषणा गरेको जानकारी दिदै उनले यहि आर्थिक वर्षमा डेढ गुणा पर्यटक बढाउने दाबी गरे । यो वर्ष गण्डकी प्रदेशले १५ लाख पर्यटक भित्राउने योजना बनाएको बताउँदै उनले भने,‘अघिल्लो वर्ष १० लाख पर्यटक गण्डकी प्रदेशमा भित्रिए, आन्तरिक पर्यटन घोषणा भएको यस वर्ष हामी १५ लाख पर्यटक भित्राउँछौं, २०२२ सम्ममा २० लाख पर्यटक भित्राउने हाम्रो योजना छ ।’ उनले पर्यटक आकर्षित गर्न होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले पनि प्याकेज घोषणा गर्नुपर्ने बताए ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले कुईबाङ एकीकृत विकास परियोजना सफल बनाउन गाउँपालिकाले बहुवर्षिय योजनामा पारेर बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउबाट मर्दी हिमाल, अन्नपूर्ण हिमाललगायत देखिने भएकाले पर्यटक लोभिने विश्वास व्यक्त गरे।

नेपाल कम्युनिष्ट पार्टीका नेता दामोदर बैरागीले कुईबाङ गाउँमा घोषणा गरिएको परियोजना सफल बनाउने जिम्मा नेकपाले लिने बताए । अर्का नेता माधव बास्तोलाले पोखरा आएका पर्यटक कहाँ राख्ने चिन्ता छाएका बेला त्यसको वैकल्पिक ठाउँ कुईबाङ भएको भन्दै यसको प्रचारप्रसारमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

You might also like

Comments are closed.