माछामा फर्मालिन : शव नसड्न प्रयोग गरिने फर्मालिनले ज्यानै जानसक्छ

सन्देश श्रेष्ठ/आर्थिक आवाज

के तपाईं बजारबाट माछा किनेर खानु हुन्छ ? यदि तपाईं बजारबाट माछा किनेर खाँदै हुनुहुन्छ भने तपाईं अब सचेत हुनुपर्छ । किनकी माछा ताजा राख्न व्यापारीले फर्मालिनको प्रयोग गर्छन् । जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तर सबै माछामा भने फर्मालिन प्रयोग हुँदैन । फर्मालिन मरेका माछालाई ताजा राख्नको लागि प्रयोग गर्ने गरिन्छ । जिउँदो माछामा भने यसको प्रयोग हुँदैन । मरेका माछा नसडोस् भनेर फर्मालिनको प्रयोग हुने गरेको हालै पोखरामा भएको अनुगमनमा भेटिएको हो ।

पोखरामा गत सोमबार र मंगलबार माछा पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा मरेका माछालाई ताजा राख्न फर्मालिन प्रयोग गरेर राखेको भेटिएको मासु जिल्ला अनुगमन समिति कास्कीले जनाएको छ । अनुगमनका क्रममा फर्मालिन प्रयोग गरेर राखिएका तीन सय केजी अर्थात ३ क्विन्टल माछा एकै दिन जफत गरिएको अनुगमन समितिका सदस्य तथा उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए । जफत गरिएका फर्मालिन प्रयोग गरिएका माछा नष्ट गरिएको उनले बताए । उनका अनुसार पोखराको पृथ्वीचोकमा रहेका ८ वटा माछा पसलमा गरिएको अनुगमनमा ४ वटा माछा पसलबाट ती माछाहरु जफत गरिएका हुन् ।

माछामा फर्मालिन प्रयोग गरेर बेच्ने पसलका सञ्चालकलाई ३ दिनको समय दिएर जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिलकुमार शाहीले जानकारी दिए । फर्मालिन प्राणघातक केमिकल हो । जुन मानव शवलाई सड्न नदिन प्रयोग गर्ने गरिन्छ । फर्मालिनमा ‘मानोडिहाड’ भन्ने ग्यास उत्पन्न हुने पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला पोखराका प्रमुख डा.केदार पाण्डेले जानकारी दिए । यसले मानव शरिरमा नकारात्मक असर गर्दछ । फर्मालिन प्रयोग गरेको माछा खाँदा त्यसमा रहेको केमिकलले कलेजोको क्यान्सर रोगसम्म लाग्नसक्छ । डा. पाण्डेका अनुसार फर्मालिनमा राखिएको माछा खाएपछि त्यो कलेजोमा गएर बस्छ र पछि गएर लिभर क्यान्सर गराउँछ ।

‘फर्मालिन प्रयोग गरेको माछा खाँदा मिर्गौला खराब हुनुका साथै जन्डिससमेत गराउँछ,’ उनले भने, ‘फर्मालिन प्रयोग गरेको माछा खाँदा किड्नी ड्यामेज, जडिन्स आदि पनि हुन्छ, यसले जिनेटिक शक्तिलाई समेत नष्ट गराउँछ ।’ माछामा फर्मालिनकोे मात्रा धेरै भएमा यसले तत्काल मान्छेको ज्यानै पनि लिनसक्ने उनले बताए ।

फर्मालिन माछा ताजा राख्नको लागि प्रयोग गर्नु अवैध भएको डा.पाण्डेले बताए । फर्मालिन प्रयोग गरेको माछामा झिंगासमेत नबस्ने र माछा ताजा देखिने गरेकाले माछा पसलेले यसको अत्यधिक प्रयोग गर्ने गरेको उनको भनाई छ । आम उपभोक्ता भने सोकेसमा सजाइएका मरेका माछा खाइरहेका छन् जुन माछामा फर्मालिनको प्रयोग गरिएको हुन्छ । डा.पाण्डेले माछालाई आइसमा राखिएपनि त्यसमा फर्मालिन प्रयोग गरेकै कारण ताजा देखिएको दाबी गरे । अझ उदेक लाग्दो कुरा त के छ भने बजारमा सोकेसमा होस् वा बाहिर राखिएका माछा आइसमा नहुँदा पनि ताजा देखिन्छ । त्यस्ता माछा फर्मालिनकै कारण ताजा देखिएको डा.पाण्डेले बताए । उनका अनुसार जिउँदो माछा मरेको २ घण्टा पछिदेखि नै सड्न शुरु गर्छ । तर फर्मालिनको प्रयोगले त्यो माछा दिनभर सोकेसमा राख्दापनि सड्दैन ।

नेपालीको महान चाँड शुरु भएसँगै फर्मालिन प्रयोग गरिएका माछाहरु अत्याधिक मात्रामा पोखरा भित्रिएका छन् । पोखराको फेवाताल, बेगनासताल, रुपातालसहित नजिकका पोखरीमा पालिएका माछाले माग धान्न नसकेपछि कास्की बाहिरबाट माछा आयात गर्नेगरिन्छ । पोखरामा रहेका माछाहरु प्रायः जिउँदै बेच्ने गरिन्छ । तर पोखरा बाहिर जनकपुर, भारत, बंगलादेश लगायतका देशबाट ल्याएका माछा जिउँदा हुँदैनन् । माछा मरेपछि चाँडो दुर्गन्धित हुन्छ । त्यसैले व्यापारीले माछा ताजा राख्न शव सड्न नदिनको लागि प्रयोग गर्ने गरेको भेटिएको हो ।

चिकित्सकहरुले जिउँदो माछा मात्र खान सुझाएका छन् । डा.पाण्डे बजारमा फर्मालिन प्रयोग भएका माछा अत्याधिक भएकाले सर्वसाधारण आफै सचेत भएर माछाको प्रयोग गर्नुपर्ने बताउँछन् । उनले जिउँदो माछा खाएमा फर्मालिनको प्रयोगबाट बच्नसकिने सुझाए । यद्यपि, प्रशासनले पनि बेलाबेला अनुगमन गरेर नियमन गर्नुपर्ने उनको भनाई छ ।

अहिले प्रयोग भइरहेको फर्मालिन सर्वोच्चको आदेश बिपरित पनि हो । गत फागुनमा सर्वोच्च अदालतले मानव स्वास्थ्यको लागि फर्मालिन घातक भएको भन्दै फर्मालिन प्रयोग भएको माछा बेच्नलाई रोक्न परमादेश जारी गरेको थियो । तर सर्वोच्चको आदेश बिपरित पोखरामा छ्यास्छ्यास्ती फर्मालिन प्रयोग भएको माछा ताजा भन्दै बेचिँदै आएको छ ।

You might also like

Comments are closed.