मातृभूमि सहकारीको भित्तेपात्रो लोकार्पण

पोखरा २९ चैत ।

तनहुँ सम्पर्क समाज पोखराद्वारा स्थापित मातृभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सृजनाचोकले नयाँ वर्ष २०७५ सालको भित्तेपात्रो लोकार्पण गरेको छ ।

कार्यक्रममा बोल्दै समाजका सल्लाहकार समेत रहेकी राष्ट्रिय सभा सदस्य बृन्दा रानाले विगतमा संविधान निर्माण कार्यमा गरेको मेहनतबाट आगामी दिनमा देशमा स्थायित्व, सुशासन र समृद्धि कायम गर्न सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेको बताइन्। उनले प्रदेश ४ मा रहेकोे प्रचूर प्राकृतिक स्रोतसाधन उपयोग गरी सशक्त रुपमा अगाडि बढाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै प्रतिशोधको भरमा अनेक लाञ्छना लगाएर सरकारले आफ्नै कुनियतबाट जनतालाई भ्रम फैलाउन खोजेको आरोपसमेत लगाइन्।

अध्यक्षको आशनबाट समाजका अध्यक्ष शिवराज पौडेलले समाज तथा सहकारीप्रतिको विगतमा पाएको सहयोग, सद्भाव र सदाशयताको निरन्तरताको अपेक्षा गरे। सहकारीका अध्यक्ष श्रीकान्त शर्मा खतिवडाले वित्तीय गर्जो टार्न सफल सहकारी एवम् सदस्यको मानवीय संवेदना बुझ्ने समाजको विकास र वृद्धिमा निरन्तर सबैको भूमिका अपरिहार्य रहेको बताए। सहकारीका सल्लाहकार मुरलीमोहन काफ्ले, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्य, समाजका उपाध्यक्ष भरत केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा सहकारीका सदस्य एवम् प्रदेश ४ का क्यान महासंघका अध्यक्ष चिन्तामणि बास्तोला एवम् भित्तेपात्रो प्रकाशनका लागि सहयोग गर्ने जय शिवशंकर हार्डवयर एण्ड सप्लायर्सका सञ्चालक शंकर ओझा र भोलेबाबा सप्लायर्सका सञ्चालक युवराज सिग्देललाई सम्मान गरिएको थियो। स्वागत मन्तव्य सहकारीका उपाध्यक्ष चन्द्रवित्रम अधिकारी र सञ्चालन सचिव ईश्वरप्रसाद सुवेदीले गरेका थिए।

You might also like

Comments are closed.