मादीमा भेटियो बर्ड फ्लु

सन्देश श्रेष्ठ

पोखरा, ४ चैत । कास्कीको मादीमा बर्ड फ्लु भेटिएको छ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ३ याङ्जाकोटकी सन्तु परियारले पालेको गिरिराज र स्थानिय जातका कुखुरामा बर्ड फ्लु भेटिएको जिल्ला बर्ड फ्लु रोग नियन्त्रण कक्ष कास्कीले जनाएको छ ।

परियारले पालेको गिरीराज र स्थानिय जातका कुखुराहरु विरामी हुने र मर्ने समस्या आएपछि जचाउनका लागि पोखरा ल्याएको र पोखरामा सम्भव नभएपछि नमूना परिक्षण गर्न काठमाडौं पठाइएको थियो । काठमाडौंमा गरिएको परिक्षणमा कुखुरामा बर्ड फ्लु भेटिएको जिल्ला बर्ड फ्लु रोग नियन्त्रण कक्ष कास्कीका ईञ्चार्ज डा.केदारराज पाण्डेले जानकारी दिए । उनले ति कुखुरामा एच फाइभ एन वान लागेको प्रमाणित भएको बताए ।

डा.पाण्डेका अनुसार परियारले १५ वटा कुखुरा पाल्दै आएकी थिईन् । स्थानिय जातका कुखुराबाट गिरीराजमा बर्ड फ्लु सरेको बताइएको छ । कुखुरा पालक किसान परियारलाई उद्धृत गर्दै जिल्ला बर्ड फ्लु रोग नियन्त्रण कक्ष कास्कीका प्रमुख डा.पाण्डेले भने,‘शुरुमा स्थानिय जातका कुखुरामा लागेर गिरिराजमा सरेको हो ।’ उनले बर्ड फ्लु देखिएका कुखुरा मादी भन्दा बाहिरबाट ल्याएर पालेको देखिएको बताए । तर ठाउँ पहिचान भइनसकेको बताउँदै उनले भने,‘बर्ड फ्लु भेटिएका कुखुरा कहाँबाट ल्याइएको हो भन्नेबारेमा स्थान पहिचान गर्ने प्रयास गरिरहेका छौं, हामी श्रोतको नजिक नजिक पुगेका छौं ।’ उनले अहिले नै बर्ड फ्लु देखिएको कुखुरा लगेको स्थान भन्दा ति ठाउँका कुखुरा रातारात बिक्री हुने शंकाले यसलाई गोप्य राख्ने प्रयास गरिएको बताए ।

यसैबीच, बर्ड फ्लु भेटिएको मादी ३ याङ्जाकोटकी सन्तु परियारको घर क्षेत्रका ७७ वटा कुखुरा नष्ट गरिएको छ । संक्रमित क्षेत्रबाट पन्छी तथा पन्छीजन्य वस्तुहरु चैत १४ गतेसम्म ओसारपसारमा निशेध गरिएको छ । यसैबीच, कास्कीका व्यवसायीहरुले कास्की बाहिरका कुखुरा एक हप्ता कास्कीमा नभित्राउने प्रतिबद्धता जनाएका छन् । उनीहरुले कास्की बाहिर रहेका आफ्ना आउटलेटहरुबाट पनि कास्कीमा एक हप्ता कुखुरा नल्याउने प्रतिबद्धता जनाएका हुन् । कास्कीमा २ वर्ष अघिपनि बर्ड फ्लु भेटिएको थियो

You might also like

Comments are closed.