मालपोत कार्यालयमा डिजिटल सेवा सुरु

सुनिता आचार्य
तनहुँ, २७ कात्तिक । जिल्ला मालपोत कार्यालय तनहुँले सेवाग्राहीको सहजताका लागि डिजिटल अनलाइन सेवा सुरु गरेको छ । मालपोतमा अनलाइन सेवा सुरु भएपछि अब सेवाग्राहीहरुले घरमै बसेर पनि आफ्नो जग्गाको बारेमा जानकारी दिन र लिन पाउने भएका छन् ।

अनलाइन सेवाको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले अनलाइन सेवाको सुरुवात भएपछि सेवाग्राहीले सहज र छिटो छरितो सेवा पाउने र सेवामा समेत पारदर्शितन र इमानदारिता कायम हुने विश्वास व्यक्त गरे ।

डिजिटल सेवाको शुभारम्भसँगै नापी, मालपोत कार्यालयमा सबैभन्दा बढी भ्रष्ट हुने गरेको भन्ने गुनासो समेत समाधान हुने उनले बताए । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले मालपोत कार्यालयमा हुने भनिएको किर्ते र जालसाजी जस्ता अनियमिततालाई रोक्न अनलाइन सेवाले मद्दत पुग्ने बताए । अनलाइन सेवाले कारोवारलाई व्यवस्थित बनाउने र मालपोत कार्यालयका अभिलेखलाई वैज्ञानिकीकरण गर्ने हुँदा सर्वसाधारण लाभान्वित हुने निश्चित भएको उनको भनाइ थियो ।

 

jutta mela

भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक भरत गौतमले अनलाइनमा व्यवस्थित गरिएका जग्गा सधैँका लागि सुरक्षित हुने हुँदा तमसुकका आधारमा सम्बन्धित व्यक्तिको विवरण प्रणालीमा दर्ता गरि त्यसलाई कार्यालयले प्रमाणीकरण गरिने बताए । जग्गा खरीद बिक्री गर्ने दुवै पक्षको फोटो, औँठाछाप कम्प्युटरमा व्यवस्थित गरिने हुनाले फर्जी कामको अन्त्य गर्न सकिन्छ, उनले भने ।

व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले अनलाइन सेवा सुचारु भएपछि मालपोतमा हुने भष्ट्राचार, किर्ते जालसाजी जस्ता कामहरू न्यून हुने विश्वास व्यक्त गरे । मालपोत कार्यालय तनहुँका प्रमुख जितेन्द्रजङ केसीले कार्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित अनलाइन सेवा शुभारम्भ गरिएको हो ।

यस सेवामा व्यवस्थित गरिएका जमीनको खोजी गर्न तथा पुनः किनबेच गर्न परेमा छिटो र छरितो हुने उनले बताए । अनलाइन सेवा सञ्चालनका लागि दुई वटा इन्टरनेट प्रदायकसँग सम्झौता भइसकेको केसीले जानकारी दिए । अनलाइन सेवा शुरु हुने मालपोत कार्यालय तनहुँ ४१औँ कार्यालय हो ।

You might also like

Comments are closed.