आर्थिक आवाज
पोखरा, ११ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकार दक्षिण एसियाका सबै देशहरुसँग साँस्कृतिक सम्बन्ध बढाउन आतुर रहेको बताएका छन् । शनिबार नेपालस्थित बंगलादेशको राजदूतावास तथा पोखरा उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपमा आयोजित ‘बंगलादेशको गीत र संगीतको एक साँझ’ नाम साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उनले साँस्कृतिक कार्यक्रमहरुको आदान प्रदानले मित्रराष्ट्रबीचको सम्बन्धमा न्यानोपन ल्याउने उल्लेख गरे ।
साँस्कृतिक रुपले धनी गण्डकी प्रदेश छिमेकीसँग साँस्कृतिक सम्बन्ध जोड्न आतुर रहेको उनको भनाई थियो । नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सेको समुपस्थितिमा भएको कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले साँस्कृतिक कार्यक्रममार्फत दुई देशको सम्बन्ध जोड्न भएको प्रयासको मुक्तकण्ठले प्रशंसा गरे । नेपालको निजी क्षेत्र बंगलादेशसँग विभिन्न क्षेत्रमा सहकार्य गर्न तयार रहेको उनको भनाई थियो ।
यता गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक सम्वृद्धिको लागि छिमेकीहरुसँगको सहकार्य गण्डकी सरकारको प्राथमिकता भएको बताइन् । पोखरा उद्योग वाणिज्य संघ तथा नेपालस्थित बंगलादेशको दूताबासद्वारा शनिबार पोखरामा आयोजित नेपाल र बंगलादेशबीचको व्यापार र पर्यटनका सम्भावनाबारेको गोष्ठीको समुद्घाटनका अवसरमा बोल्दै उनले पर्यटनलगायतका क्षेत्रमा द्विपक्षीय सम्बन्ध र लगानी बढाउन सकेमा सम्बन्धले पनि नयाँ उचाई लिने उल्लेख गरिन् ।

यता, सोही कार्यक्रममा बोल्दै नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सेले नेपालको निर्यात व्यापार बढाउन प्रतिष्पर्धी क्षमताको विकास हुनुपर्नेमा जोड दिइन् । नेपालबाट आयात हुने दाललगायतका सामानहरुको बंगलादेशमा उच्च माग भए पनि महंगो मूल्यका दाल आयात नगरिएको उनको भनाई थियो । ‘केही वर्षअघिसम्म नेपालबाट बंगलादेशमा दाल निर्यात हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले हामी धेरै टाढाको क्यानडालगायतका मुलुकबाट दाल आयात गर्छौं, नेपालको दाल महंगो भयो ।’ उनका अनुसार बंगलादेशमा नेपाली दालको माग उच्च छ, तर महंगो भएकाले आयात रोकिएको छ ।
राजदूत साम्सेले नेपाल सरकार र बंगलादेशबीच केहीअघि भएको विद्युत व्यापार सम्झौताले ऊर्जा क्षेत्रमा संयुक्त लगानीको सम्भावना बढेको समेत बताइन् । यद्यपि, उनले विद्युत प्रशारण लाइन बिस्तारमा भारतको सहकार्यमा पनि जोड दिइन् । बंगलादेशको आर्थिक विकासले नयाँ गति लिएको बताउँदै उनले नेपाज र बंगलादेशले द्विपक्षीय व्यापार बिस्तारका विभिन्न क्षेत्रमा सहकार्य गर्न सकिने उल्लेख गरिन् । बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या वार्षिक २५ हजारको हाराहारीमा भए पनि आर्थिक सम्वृद्धिको दिशामा अगाडि बढेको बंगलादेशबाट धेरैभन्दा धेरै पर्यटक नेपाल आउने सम्भावना रहेको उनको भनाई रहेको थियो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले नेपाल र बंगलादेशबीच मानवीय मात्र नभएर प्राकृतिक सम्बन्ध समेत रहेको उल्लेख गरे । ‘बंगालको खाडीबाट आउने मनसुनले नेपालमा पानी पार्छ अनि त्यही पानीले नेपालमा सहकाल ल्याउँछ, अर्थात हाम्रो खेतिपाति बंगालको खाडीमा आश्रित रहेको छ’, उनले भने, ‘नेपालबाट बगेका सबैजसो नदीहरु बंगालकै खाडीमा गएर मिसिन्छन्, नेपालका हिमालहरु बंगालको खाडीसँग र बंगालको खाडी नेपाली हिमालहरुसँग जोडिएका छन् ।’
ट्रेड एण्ड टुरिजम अपर्चुनिटिज विट्विन नेपाल एण्ड बंगालादेश एक्स्लोरिङ हाइजेष्ट पिक टु लङगेष्ट विच’ विषयक कार्यक्रममा बोल्दै उनले नेपालको जलविद्युत क्षेत्रमा बंगलादेशको लगानी भित्र्याउन नेपाल सरकारको तर्फबाट गरिएका प्रतिवद्धताले दुई देशको सम्बन्ध मजबुत बनाउने आशा समेत व्यक्त गरे । नेपाल र बंगलादेशबीच हुँदै आएको व्यापारलाई सहजीकरण, बंगलाबन्द बन्दरगाहको अधिकतम् प्रयोग र आयात– निर्यातमा सहजता पनि हाम्रा चासोका विषयहरु रहेको उनको भनाई थियो ।
नेपालको बंगलादेशसँग हुँदै आएको ब्यापार घाटा वर्षेनी बढ्दै गएको विषय उप्काउँदै उनले दुई देशका आवश्यकताहरुको पहिचान गरी संयुक्त लगानीका उद्योगहरु स्थापनामा नेपालको निजी क्षेत्र उत्सुक रहेको बताए । हिमाल आरोहण, हिमाली क्षेत्रको पदयात्रामा रमाउने पर्यटकहरुलाई संसारकै लामो समुन्द्री किनारासम्म लैजानको लागि दुई देशका पर्यटन व्यवसायीबीच सहकार्य हुनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक आदित्य बराल र नेपाल पर्यटन बोर्डका पूर्व अध्यक्ष बासु त्रिपाठीले पर्यटनमा द्विपक्षीय सहकार्य र नेपालका पर्यटकीय सम्भावनाहरुबारे कार्यपत्र पेश गरेका थिए । पोखरा उद्योग वाणिज्य संघका सदस्यता विकास अधिकृत सुरेश रानाभाटको संचालन रहेको कार्यक्रममा नेपालस्थित बंगलादेश राजदूतावासका प्रथम महबुल हकले धन्यवाद ज्ञापन गरेका थिए ।
Comments are closed.