मिस नेवा ११३८ को तयारी पूरा

पोखरा, १४ चैत ।

नेवा खल कास्कीले आयोजना गरेको सिजी मिस नेवा ११३८ को तयारी पूरा भएको छ । प्रतियोगितामा २० जना सहभागी छन् । यसअघि चैत ३ गते हुने तय भएको प्रतियोगिताको फाइनल चैत १६ गते पोखरा सभागृहमा हुने भएको छ । बुधबार भएको पत्रकार सम्मेलनमा नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले नेपाल संवत ११३१ देखि सुरु भएको मिस नेवाले संस्कृति संरक्षणमा योगदान गरेको बताए ।

उनले मिस नेवा अचेल बजारमा भइरहने जस्तो सुन्दरी प्रतियोगिता नभएको उल्लेख गरे । उनले भने, ‘यो सांस्कृतिक प्रतियोगिता हो । नेवारी कला, संस्कार, भाषा, संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न र नेवारी युवतीलाई विभिन्न सीप सिकाएर सक्षम बनाउनु यसका उद्देश्य हुन् ।’

प्रतियोगीलाई व्यक्तित्व, नेतृत्व विकासका तालिम, भ्रमण, नेवारी भाषा, समसामयिक विषयवस्तु आदिबारे प्रशिक्षण दिइएको प्रतियोगिताका मूल संयोजक गजेन्द्रमान श्रेष्ठले बताए । मिस नेवाका विजेतालाई ताजसहित, नगद ४० हजार, प्रमाणपत्र र विभिन्न उपहार प्रदान गरिनेछ । फस्ट रनरअपले नगद २५ हजारका साथमा प्रमाणपत्र र उपहारहरु पाउने छिन् ।

सेकेन्ड रनरअपले नगद १५ हजारका साथमा प्रमाणपत्र र उपहारहरु पाउने छिन् । प्रतियोगीमध्ये उत्कृष्ट नेवारी भाषा प्रस्तुत गर्ने १ जनालाई विशेष उपाधिका साथ नगद ७ हजार, प्रमाणपत्र र उपहार प्रदान गरिनेछ । यसैगरी, वेस्ट ट्यालेन्ट, बेस्ट स्माइल, बेस्ट पर्सनालिटी, बेस्ट फोटोजेनिक, भ्युअर्स च्वाइस र मिस फेन्डेलीले जनही ५ हजारसहित प्रमाणपत्र र उपहार पाउने छन् ।

संस्थाका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासचिव आनन्द श्रेष्ठ र सञ्चालन प्रचारप्रसार संयोजक अनिशा श्रेष्ठले गरेकी थिइन् ।

You might also like

Comments are closed.