मिस पोखरालाई मिस नेपाल हुँदै मिस वल्डसम्म बनाउने लक्ष्य छ

शिव सुबेदी
अध्यक्ष : पोखरा जेसिज

मिस पोखरा एउटा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो । यो हामीले १८ वर्षदेखि २२ वर्षसम्मका नारीहरुको अन्र्तनिहित प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले सन् १९९५ देखि गर्दै आएका छौं । शहरदेखि गाउँगाउँसम्मका प्रतिभावान युवतीहरु समेटेर उनीहरुलाई नेतृत्व र व्यक्तित्व सम्बन्धी विशेषज्ञहरुद्वारा प्रशिक्षित गराई शुरुमा उनीहरुलाई सक्षम बनाइन्छ । करिब डेढ महिनाको तालिम र प्रशिक्षणबाट खारिएका उनीहरुबीच प्रतिष्पर्धा गराई ग्राण्ड फिनाली मार्फत मिस पोखरा घोषणा गरिन्छ ।

पोखरा जेसिज आफैमा एउटा परिवर्तनवाहक संस्था हो । पोखरा जेसिज १८ वर्षदेखि ४० वर्ष नकटेका युवा व्यक्तिहरु भएको संस्था हो । यसले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्नुका साथै समाज परिवर्तनको लागि भूमिका खेल्ने गर्दछ । त्यस अन्तर्गत मिस पोखरा पनि एक हो । मिस पोखरा गर्नुको उद्देश्य नै प्रतिभावान नारीहरुलाई व्यक्तित्व र नेतृत्व प्रदान गरी समाज परिवर्तनका लागि भूमिका खेल्न अग्रसर गराउनु हो । व्यक्तित्व र नेतृत्व सम्बन्धी तालिम पश्चात उनीहरुमा आएको परिपक्वता र ज्ञान, सीप र अनुभव समाजमा बाँडेर सकारात्मक प्रभाव छाड्छन् भन्ने उद्देश्यले हामीले यो गर्दै आएका छौं ।

मिस पोखरा बनेपछि सद्भावना दूत बनेर समाज परिवर्तनमा भूमिका खेल्न सकिन्छ । खास गरेर गण्डकी प्रदेश पर्यटकीय प्रदेश भएकाले मिस पोखराले पर्यटनदूत र वातावरणमैत्री सहर बनाउन हरियाली वातावरणको अभियन्ता बनेर काम गर्नेछन् । यसका लागि हामी सरकारका सबै निकायसँग समन्वय गरेर सहकार्य गर्छौं । राज्यले हामीलाई जति प्रयोग गर्छ त्यत्ति नै समाजलाई फाइदा हुन्छ । हामी सहयोगका लागि सँधै तयार छौं ।

हामी मिस पोखरालाई अन्तर्राष्ट्रिय स्तरको ब्राण्डेड प्रतियोगिता बनाउने प्रयासमा छौं । अझ भनौं मिस पोखरालाई मिस नेपाल बनाउँदै मिस वल्र्ड जित्नेसम्म बनाउने हाम्रो सपना हो । त्यसका लागि हामीले प्रतिभावान युवतीहरु खोज्ने, उनीहरुलाई विशेषज्ञहरुद्वारा तालिम र सहजीकरण गरेर सक्षम बनाउने र आवश्यक सबै वातावरण तयार गर्ने काम गरिरहेका छौं । हाम्रो यो प्रयास सँधै जारी रहनेछ । यसमा समग्र पोखरेलीको पनि साथ रहनेमा हामी विश्वस्त छौं ।

मिस पोखरा २०१८ को अन्तिम प्रतिस्पर्धा असोज २० गते शनिबार पोखरा सभागृहमा हुँदैछ ।

You might also like

Comments are closed.