मुक्तिनाथ विकास बैंकको १२औं वार्षिकोत्सव, १ सय १६ जनाद्वारा रक्तदान

सुरेन्द्र पौडेल
पोखरा, २० पुस । राष्ट्रियस्तरको मुक्तिनाथ विकास बैंकले १२औं वार्षिकोत्सव मनाएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा बुधबार क्षेत्रीय कार्यालय पोखरामा रक्तदान कार्यक्रम गरेको छ । क्षेत्रीय कार्यालयको आयोजनामा भएको रक्तदानमा १ सय १६ जनाले रक्तदान गरेको क्षेत्रीय प्रवन्धक बाबुराम ढकालले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा रक्तदान कार्यक्रम गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले जानकारी दिए । जनप्रिय बहुमुखी क्याम्पस पोखराका पूर्व क्याम्पस प्रमुख पिताम्बर शर्मा नेपालीको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो ।

बैंकका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य क्षेत्रीय प्रवन्धक बाबुराम ढकालले राखेका थिए भने कार्यक्रम सञ्चालन चिप्लेढुंगा शाखा प्रवन्धक धु्रव रेग्मीले गरेका थिए ।

यसैबीच, बैंकको ११औं वार्षिक साधारणसभा बुधबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाले २१ दशमलव ०५ प्रतिशत बोनस सेयर पास पारित गरेको छ । बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा छ ।

६२ आधुनिक बैंकिङ शाखा, ९ सीमित बैकिङ शाखा, ३ एक्स्टेन्शन काउण्टर र ६५ लघुवित्त डेस्कबाट बैंकले वित्तीय कारोबार गरिरहेको छ । बैंकमा ३ लाखभन्दा बढी ग्राहकहरू रहेको प्रमुख कार्यकारी अधिकृत ढकालले जानकारी दिए । ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्छ’ भन्ने मूल मर्मका साथ बैंकले वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.