मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनी बीच सहकार्य

पोखरा, ४ बैशाख

मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा लगानी विस्तारको लागि मुक्तिनाथ कृषि कम्पनीसंग सहकार्य गर्न बुधवार सम्झौता गरेको छ । सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष भरतराज ढकालले हस्ताक्षर गरेका छन् ।

मुक्तिनाथ विकास बैंकले विगत १२ वर्षदेखि ग्रामीण भेगहरुमा सबै वर्गका नागरिकहरुलाई समावेशी वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको छ । कृषि पेशामा निर्भर किसानहरुलाई वित्तीय सेवाका अतिरिक्त कृषि सम्बन्धी व्यवस्थापन गर्न आवश्यक देखिएकोले कम्पनीसंग सहकार्य गरिएको बैंकका सुचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए । मुक्तिनाथ कृषि कम्पनी कृषिलाई मुख्य पेशाको रुपमा अंगालेका कृषकहरुलाई प्रत्यक्ष तथा कृषि सहकारीहरु मार्फत पनि गैर वित्तीय सेवाहरु जस्तैः बीउ विजन, मल, उपकरण, औजार, प्रविधि तथा क्षमता विकास र बजारिकरण समेतका सेवाहरु प्रदान गर्ने उद्देश्य सहित रु. ४० करोड जारी पूँजीमा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो ।

यस सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका ग्राहक सदस्यहरुलाई कृषिमा आधारित उद्यम÷व्यवसाय गर्न आवश्यक पर्ने मल, बीउ, विजन, उपकरण र प्राविधिक ज्ञान समेत प्रदान गरी ग्राहक सदस्यहरुबाट उत्पादित कृषि उत्पादनहरुलाई बजारको ग्यारेन्टी गर्ने काम मुक्तिनाथ कृषि कम्पनीले गर्नेछ ।

किसानहरुको यस कम्पनीसंगको सहकार्यले किसानहरुले हाल भोगेका कृषि उपजको बजारिकरण सम्बन्धी समस्याहरुको दिगो समाधान हुने र उत्पादनको उचित मूल्य प्राप्त गर्ने अपेक्षा गरिएको छ । भविष्यमा कम्पनीले कृषि सम्बन्धी अन्य आवश्यक विविध प्रकारका कार्यहरु विस्तार गर्दै जाने जनाएको छ ।

You might also like

Comments are closed.