मुख्यमन्त्री गुरुङले ‘वार रुम’ सञ्चालन गर्ने

आर्थिक आवाज
पोखरा, ३ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘वार रुम’ सञ्चालन गर्ने भएका छन् । दोश्रो विश्व युद्धताका बेलायतका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिलले प्रयोग गरेको ‘वार रुम’को झल्को दिनेगरी मुख्यमन्त्री गुरुङले ‘एक्सन रुम’ सञ्चालन गर्न लागेका हुन् । सरकार गठन भएको प्रथम वार्षिकोत्सवको अवसरमा ‘वार रुम’को उद्घाटन गरिने गण्डकी प्रदेश सरकारले विहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

मुख्यमन्त्रीले गण्डकी प्रदेशका प्रमुख आयोजनाहरु सिधै अनुगमन गर्नका लागि ‘एक्सन रुम’ सञ्चालन गर्न लागिएको श्रोतले बताएको छ । दोश्रो विश्व युद्धताका बेलायतका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिलले ‘वार रुम’ प्रयोग गरेका थिए । जहाँबाट उनले कुन जर्नेललाई कहाँ खटाउने ? कसले के गरिरहेको छ ? र कसले के गर्ने भनेर निर्णय गर्दै निर्देशन दिने गर्दथे । युद्ध स्तरमा काम गर्नलाई प्रयोग गरिने ‘वार रुम’ गण्डकी प्रदेशले पनि सञ्चालन गर्न लागेको हो । गण्डकी प्रदेशमा भएका योजनाहरुको काम कसरी भइरहेको छ ? के अपुग भएको छ ? कहाँ कसरी काम गर्ने ? लगायतका अनुगमन र निर्देशन दिनलाई ‘एक्सन रुम’ को प्रयोग हुने गण्डकी प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारले फागुन ९ गते आन्तरिक भ्रमण वर्ष शुभारम्भको घोषणा गर्ने भएको छ । नेपाल पत्रकार महासंघको फागुन ९ गते हुने विधान अधिवेशनको उद्घाटन सत्रकै मञ्चलाई प्रयोग गरेर आन्तरिक भ्रमण वर्ष घोषणा गरिने प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले गर्ने भनेको लगानी सम्मेलन यस वर्ष नहुने भएको छ । संघ सरकारले पनि लगानी सम्मेलन गर्ने तयारी गरेकाले जुधाउने गरी प्रदेश सरकारले लगानी सम्मेलन नगर्ने सोंच बनाएको मन्त्री गुरुङले बताए । गण्डकी प्रदेशले शनिबार वार्षिकोत्सवको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान गर्ने मन्त्री गुरुङले जानकारी दिए । सो अवसरमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने उनले बताए ।

You might also like

Comments are closed.