मेरो टिम र योगदान नै जीतको आधारः प्रजू (अन्तर्वार्ता)

रवीन्द्रबहादुर प्रजू
अध्यक्षका उम्मेदवार, पोखरा उद्योग वाणिज्य संघ, ३२औं महाधिवेशन

पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजूले अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् । अध्यक्षमा उम्मेदवारी दिनुको कारण लगायत विविध विषयमा केन्द्रित रहेर प्रजूसँग आर्थिक आवाजले गरेको कुराकानीको सारः

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?
म बिगत १२ वर्षदेखि पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा रहेर काम गरिरहेको छु । व्यवसायीको समस्या समाधान र पोखरा उद्योग वाणिज्य संघको गरिमालाई उच्च बनाउन महत्वपूर्ण भुमिका खेल्दै आएको छु । कार्यसमिति सदस्य हुँदै कोषाध्यक्ष, उपमहासचिव, हुँदै ३१औं महाधिवेसनबाट वरिष्ठ उपाध्यक्ष पदमा रहेर काम गरिरहेको छु । पोखरा उद्योग वाणिज्य संघ विशुद्ध उद्योगी तथा व्यवसायीको संस्था हो । म पनि एक व्यवसायी हुँ । वषौंदेखिको व्यावसायिक अनुभव मसँग छ । त्यही अनुभवलाई अध्यक्ष बनेर प्रयोगमा ल्याउने मेरो चाहना हो ।

जीतको आधार के छ ?
३२औं महाधिवेशनमा अध्यक्ष पदमा उमेद्वारी दिएको छु । सबै उद्योगी व्यवसायीको साथ रहनेमा पनि म ढुक्क छु । उद्योगी व्यवसायीका समस्यालाई नजिकबाट नियालेको छु । समस्या समाधानमा पनि पहल गरिरहेको छु । व्यवसायमा देखा परेका अप्ठ्यारा तथा बाधा व्यवधान फुकाउन पहल गर्नेछु र हालसम्म पनि गरिरहेको छु । पोखरा उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीको सम्वन्ध अझै नजिक बनाउनेछु । मेरो टिम र मेरो योगदान नै जितको आधार हो ।

अध्यक्ष बनेपछि के गर्नुहुन्छ ?
मुख्यत करको समस्या अहिले व्यवसायीको बीचमा छ । उद्योगी व्यवसायीलाई व्यावसायिक बिमाको बारेमा पनि ज्ञान दिनु आवश्यक छ । यस समस्या समाधानको लागि सम्वन्धित निकायसँग सहकार्य गर्नेछु । लगानीमैत्री वातावरण सृजना गरी व्यवसायीलाई लगानी थप गर्न प्रोत्साहन गर्नेछु । पार्किङलाई व्यवस्थित बनाउन आवश्यक पहल थाल्नेछु । घरभाडाका कारण व्यवसायीलाई परेका समस्या सामाधानको लागि लाग्नेछु । पोखरा उद्योग वाणिज्य संघको गरिमालाई अझ उच्च बनाउन तथा समग्र उद्योगी व्यवसायीको हितको लागि काम गर्ने प्रतिवद्धता सहित मलाई भोट दिन म आग्रह गर्दछु । विकास निर्माण तथा राष्ट्रिय गौरवका योजनाका काम समयमा नै सम्पन्न गर्नको लागि खवरदारी गर्नेछु ।

निजी क्षेत्रको छाता संस्थाभित्र राजनीति बढी भयो भनिन्छ । के भन्नुहुन्छ ?
राजनीतिक आस्था सबैको हुन्छ । तर, पोखरा उद्योग वाणिज्य संघलाई राजनीतिबाट टाढा राख्नुपर्छ । राजनीतिक कारणले नभई व्यावसायिक तथा बिगतका अनुभवका कारण मैले आफूलाई योग्य ठानेर उमेद्वारी दिएको हुँ ।

विजयी हुन्छु भन्ने लाग्छ ?
अध्यक्षमा निर्वाचित हुन्छु भन्ने मलाई पूर्ण विश्वास छ । वियजी भएपछि मेरा प्रतिश्पर्धी साथीसँगको सहकार्य सधैं रहिरहनेछ । मतदाताको विश्वास मैले जितिसकको छु ।

तपाईं त वडा अध्यक्ष पनि हो नि ! संघको अध्यक्ष बन्न किन लोभ लाग्यो ?
जनप्रतिनिधीले जनतालाई सेवा दिने हो । जनतालाई मैले सुविधाबाट बञ्चित गरेको छैन । म २४सैं घण्टा जनताको काममा रहन्छु । यससँगै म उद्योगी व्यवसायीको समस्या समाधानमा पनि लाग्ने छु । समय व्यवस्थापन गर्न मलाई समस्या छैन । जहाँ जसरी बसेर पनि जनताका साथै उद्योगी व्यवसायीका काम गर्न सक्छु । स्थानीय सरकार र प्रदेश सरकारसँग मिलेर काम गर्नेछु ।

You might also like

Comments are closed.