मेलामा देशभरका महिला उद्यमी सहभागी हुँदैछन्ः संयोजक बराल (अन्तर्वार्ता)

सीता बराल
संयोजक
पोखरा उद्योग वाणिज्य संघ
महिला उद्यमी विकास उपसमिति

पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास उपसमितिको आयोजनामा पोखरामा महिला उद्यमी मेला २०७५ हुँदैछ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जेठ ३० देखि असार २ गतेसम्म चल्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलाको सहयोगी संस्थामा नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समिति, नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नं. ४ महिला उद्यमी विकास समिति, पोखरा महानगरपालिका लगायत छन् । मेलाको उद्देश्य, मेला अवधिभर हुने गतिविधि लगायत विविध विषयमा केन्द्रित रहेर उपसमिति तथा मेलाका संयोजक सीता बरालसँग आर्थिक आवाजले गरेको कुराकानीः

महिला उद्यमी मेला आयोजना गर्नुको उद्देश्य के हो ?
महिलालाई आर्थिक सम्मृद्धितर्फ लैजानको लागि मेला आयोजना गरेका हौं । बेरोजगार महिलाालाई उत्पादन क्षेत्रका साथै उद्यमशीलतातर्फ अगाडि बढाउनु मेलाको मुख्य उद्देश्य हो । पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत महिला उद्यमी विकास उपसमितिले यस पटक आयोजना गरेको मेलाबाट महिला उद्यमशीलताको क्षेत्रमा विशेष योगदान पु¥याउनेछ ।

मेलामा कति वटा स्टल रहन्छन् ?
मेलामा ७८ स्टल राख्दैछौं । महिलाले उत्पादन गरेका सामानको प्रदर्शनी बिक्री तथा वितरण मेलामा हुन्छ । जिल्ला प्रदेश तथा नेपाल भरका महिला उद्यमीको मेलामा सहभागिता रहँदैछ । हस्तकलाका सामानलाई विशेष प्राथमिकतामा राखिएको छ । नेपाल भरिका महिलाको मेलामा प्रतिनिधिमुलक सहभागिता रहने हुँदा यस पटकको मेलाको विशेष महत्व छ । करिब ४० वटा स्टल ४ नं प्रदेश भन्दा बाहिरका महिला उद्यमीका उत्पादनले भरिदैछन् ।

कस्ता उत्पादनलाई प्राथमिकता दिइएको छ ?
स्थानीय कच्चा पदार्थबाट तयार पारिएका सामान मेलामा बढी प्राथमिकतामा रहनेछन् । सिस्नो, जलकुम्भी झार, रेशादार कपडा, ढाका लगायतबाट बनेका सामानका साथै च्याउ, लप्सीका विभिन्न परिकार मेलामा पाइन्छन् । क्रिस्टल, स्टोन लगायतबाट बनेका महिलाले प्रयोग गर्ने विभिन्न गहना पनि मेलामा रहनेछन् । महिलाले बनाएका विभिन्न चित्रकलाका सामान पनि मेलामा प्रदर्शन तथा बिक्री वितरण हुनेछन् ।

मेलाका विशेषताहरु के–के छन् ?
यस पटक आयोजना गरिएको मेलाको छुट्टै पहिचान छ । महिलालाई केही गर्नुपर्छ भन्ने सन्देश तथा उत्प्रेरणा यो मेलाले दिनेछ । महिलालाई विभिन्न खालका तालिम तथा प्रशिक्षण पनि हामी प्रदान गर्नेछौं । व्यवसाय, कर तथा बैकिङ सम्वन्धी जानकारी पनि हामी दिन्छौं । व्यवसाय कसरी शुरु गर्ने ? कसरी ऋण लिने ? कर सम्वन्धी के कस्ता प्रावधान छन् ? लगायतका कुरा हामी जानकारी दिन्छौं । उत्पादनको बजारीकरण तथा व्यवसायीकरणको वारेमा पनि हामी सिक्न चाहने महिलालाई सिकाउछौं । हामीले यसको लागि प्रशिक्षकको व्यवस्था गरेका छौं । विज्ञ समूहबाट प्रशिक्षण प्रदान हुनेछ ।

महिला भेला पनि हुँदैछ । उद्देश्य के हो ?
मेला अवधीमै हामीले महिला भेला पनि गर्दैछौं । देशको विभिन्न स्थानबाट आउने महिलाहरुको भेट हुने हुँदा व्यवसाय सञ्चालन गर्दा आउने समस्याका बारे छलफल तथा अनुभव पनि आदानप्रदान गर्नका लागि भेला प्रभावकारी बन्नेछ । मेला स्थलमा स्वास्थ्य शिविर पनि हामीले आयोजना गर्नेछौं । पाठेघरको क्यान्सर सम्वन्धी निःशुल्क परीक्षण हामीले राखेका छौं । मेलामा रमाइलो भन्दा पनि महिलालाई उद्यमशीलतामा लाग्नुपर्छ भन्ने कुराको सन्देश तथा प्रेरणा मिल्नेछ । आँखा शिविर, स्वास्थ्य परीक्षण लगायतका सेवा पनि निःशुल्क प्रदान गर्दैछौं ।

मेलाको लक्षित समूह कुन हो ?
हाम्रो लक्षित समूह महिला नै हुन् । उद्यममा लाग्न चाहने महिलाहरुलाई विशेष प्राथमिकता दिइनेछ । महिला उद्यमीहरुको बीचमा अनुभव आदानप्रदान हुनेछ भने उद्यम सिक्न चाहनेहरुका लागि पनि विभिन्न विषयको जानकारी प्राप्त गर्ने स्थान मेला बन्नेछ । टोलको नेतृत्व गर्ने दिदीबहिनीले आफ्नो ठाउँमा महिलाको लागि कस्तो कार्यक्रम आवश्यक छ त्यसको वारेमा जानकारी दिनुहुनेछ । महिलालाई उद्यमशील बनाउन हामी काम गरिहनेछौं । स्वाबलम्बी बन्न चाहने महिलालाई उत्प्रेरणाको साथै हामी विभिन्न तालिम प्रदान गर्नेछौं ।

महिला उद्यमीलाई प्रोत्साहन गर्न के गर्नु आवश्यक छ ?
उद्यमी महिलालाई सुरक्षित बनाउन विभिन्न नीति नियम आवश्यक छन् । महिलामैत्री नीतिनियम आउनु आवश्यक छ । बैकिङ क्षेत्रले पनि महिला उद्यमशीलता विकासमा सहयोग गर्नुपर्छ । सहज रुपमा ऋण प्रवाह गर्नुपर्छ ।

महिला उद्यमी उपसमितिले अन्य के–कस्ता गतिविधि गरिरहेको छ ?
समय समयमा उद्यमशीलता, व्यवसाय बिस्तार, कर शिक्षा लगायत विभिन्न विषयमा तालिम तथा सेमिनार आयोजना गरिरहेका छौं । विभिन्न तह तथा निकायसँग समन्वय गरिरहेका छौं । महिला उद्यमशीलता विकास गर्न हामीले विभिन्न सरोकारवाला संघसंस्थासँग समन्वय गरी विविध कार्यक्रम आयोजना गरेका छौं

You might also like

Comments are closed.