चिनु गुरुङ
उपमहासचिव, पोखरा उद्योग वाणिज्य संघपोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पुस १८ देखि २८ गतेसम्म समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदैछ । मेलाका सन्दर्भमा आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव तथा प्रभातफेरी एवं आमा समूह समन्वय उपसमिति संयोजक चिनु गुरुङसँग आर्थिक आवाजले गरेको कुराकानीको सम्पादित अंश :
पोखरा उद्योग वाणिज्य संघले मेला मात्रै गर्दैन, बरु उद्यमशीलता विकासको लागि पनि काम गर्ने गरेको छ । महिला उद्यमशीलता विकासका लागि संघले राष्ट्रिय औद्योगिक व्यापार मेलामा महिला उद्यमीहरुलाई निःशुल्क स्टल उपलब्ध गराएको छ । संघले प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहकार्यमा महिला उद्यमीहरुलाई निःशुल्क स्टल उपलब्ध गराइएको हो ।
महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकलादेखि अन्य सामग्रीहरु मेलामा राखिएका छन् । त्यहाँ उत्पादित सामग्रीको खरिद बिक्रीसँगै महिला उद्यमशीलता सम्बन्धी जानकारीसमेत लिन पाइन्छ । पुष २५, २६ र २७ गते महिला उद्यमशीलता सम्बन्धी तालिमको समेत व्यवस्था गरेका छौं । व्यापार मेलाकै सन्दर्भमा आयोजित यो तालिम पनि निकै उपयोगी हुने हामीले विश्वास लिएका छौं । उद्यमी बन्न चाहने महिलाहरुले सीप सिक्न पाउनेछन् भने मार्केटिङ गर्नेबारे पनि तालिम लिनेछन् । यसमा बि टु बी र सि टु सी सम्बन्धीपनि तालिम दिइनेछ ।
पोखरा उद्योग वाणिज्य संघले मेला बाहेक अन्य समयमा पनि विभिन्न संघसंस्थाको सहकार्यमा महिला उद्यमशीलता सम्बन्धी तालिम दिने गरेको छ । त्यसैले महिला उद्यमशीलता र महिला सशक्तीकरणमा पोखरा उद्योग वाणिज्य संघको महत्वपूर्ण योगदान छ । पोखरा उद्योग वाणिज्य संघले आयोजना गर्ने मेला नाफामूलक नभएर उद्यमशीलता विकासका समर्पित छ । मेलामा महिलाहरुबाट उत्पादित बस्तुहरुको प्रदर्शनी र बिक्रीलाई विशेष महत्व दिइन्छ ।
त्यसैगरी, प्रभातफेरीमा सहभागी आमा समूहहरुलाई आकर्षक उपहारको व्यवस्था समेत गरिएको छ । उत्कृष्ट सहभागी समूहले छुट्टै पुरस्कार पाउने व्यवस्था समेत यस पटक मिलाएका छौं ।
Comments are closed.