यदु र सरुको नमुना काम, छोराको ब्रतबन्धको खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना

आर्थिक आवाज
पोखरा, २७ पुस । पोखराका युवा व्यवसायी यदुनाथ अधिकारीले छोराको ब्रतबन्ध धुमधामका साथ गर्नसक्ने हैसियत राख्छन् । तर यदु र उनकी जीवनसंगिनी सरु दाहाल अधिकारीले छोराको ब्रतबन्धमा तडकभडक केही गरेनन् । सामान्य तरिकाले छोराको ब्रतबन्ध गरे । ब्रतबन्धको भोजभतेरमा हुने खर्च कटाए । बचत रकमलाई राम्रो र रचनात्मक काममा खर्च गरे । उनीहरुले छोराको नाममा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

पोखरा–८, प्रतिभामार्ग बस्ने यदुनाथ अधिकारी र उनी श्रीमती सरस्वती अधिकारी सरुले छोरा आदर्श अधिकारीको ब्रतबन्धको भोजवापतको खर्च कटाएर २ लाख रुपैयाँ पृथ्वीनाराण मावि, धम्पुसमा अक्षयकोष स्थापनार्थ सहयोग गरेका हुन् । यदुनाथका बाबु स्व. कलाधर अधिकारीको स्मृतिमा विद्यालयको वार्षिकोत्सव अवसरमा प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मामार्फत विद्यालयलाई शुक्रबार सो रकम प्रदान गरियो ।

अक्षयकोषबाट आउने व्याजमार्फत विद्यालयमा हुने विभिन्न क्रियाकलापमध्ये भलिबल, फुटबल, गायन, नृत्य, वक्तृत्वकलामा उत्कृष्ट र प्रतिभावान् विद्यार्थीलाई वार्षिक रुपमा पुरस्कृत गरिने अक्षयकोषदाता सरु अधिकारीले जानकारी दिइन् ।

विद्यालयका पूर्व विद्यार्थी यदुनाथ अधिकारी युवा उद्यमी तथा व्यवसायीको रुपमा चिनिन्छन् भने सरु अधिकारी सामाजिक कार्यकर्ता हुन् । अधिकारी दम्पत्तिका तीन छोराछोरीमध्ये आदर्श कान्छा हुन् । उनका दुई दिदीहरु एलिसा र आयुषाका छन् ।

You might also like

Comments are closed.