यसरी सञ्चालन हुँदैछ, नेफ्स्कून लायन्स लघुउद्यम कार्यक्रम

पोखरा, ४ चैत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र लायन्स क्लब इन्टरनेशनलको संयुक्त लगानीमा कास्कीमा नेफ्स्कून लायन्स लघुउद्यम कार्यक्रम सञ्चालन हुने भएको छ । प्रारम्भिक चरणमा १ करोड ३४ लाख रुपैयाँको बजेटबाट सुचारु हुने कार्यक्रम कास्की लगायत बाँके, मोरङ, धादिङ, देलखा, काभ्रे, बर्दिया र रामेछापमा सञ्चालन गरिनेछ ।

कार्यक्रम अन्तर्गत पहिलो चरणमा कास्कीमा ग्रामीण तथा समुदायमा आधारित विशेष गरि सानो कारोबार गरिरहेका र लघुकर्जा सञ्चालन गरिरहेका ६ वटा सहकारी मार्फत उक्त कार्यक्रम सञ्चालन हुनेछ । उक्त परियोजना सञ्चालन गर्न नेफ्स्कून लायन्स अन्तरक्रिया कार्यक्रम सरोकारवाला सहकारीको प्रतिनिधिसँग सम्पन्न भएको छ ।

नेफ्स्कूनका सञ्चालक तथा प्रदेश नं. ४ का संयोजक भीमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी का गर्भनर धनराज आचार्यले लायन्स क्लब स्थापनाको सय वर्षको अवसर पारी उक्त परियोजना सञ्चालन गर्न लागेको जानकारी दिए । ‘नेफस्कून जस्तो संस्थासँग सहकार्य गर्न पाउँदा लायन्स क्लब थप कार्यक्रम सञ्चालन गर्न उत्साहित भएको छ,’ उनले भने ।

नेफस्कून फिल्ड कार्यालय पोखराका इन्चार्ज जगन्नाथ लामिछानेले सञ्चालन गरेको कार्यक्रममा कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका संयोजक मीलन ढकाल, जिल्ला सहकारी संघ लि. कास्कीका सञ्चालक अम्बिका कुँवर, सहभागी गायत्री ढकाल लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

छनौट भएका सहकारी संस्थाले प्रारम्भमा प्रति संस्था ५ लाख रुपैयाँ ६ प्रतिशत ब्याजदरमा प्राप्त गर्नेछन् भने संस्थाले सदस्यहरुलाई लघु उद्यम प्रयोजनका लागि समूहमा १० प्रतिशत भित्र लगानी गर्नुपर्नेछ ।

You might also like

Comments are closed.