यस्तो पो हो महोत्सव, हेर्नुहोस् लेखनाथ महोत्सवमा दर्शक

आर्थिक आवाज
लेखनाथ, १४ पुस । महोत्सवको पनि महोत्सव भनेर चिनिदै आएको लेखनाथ महोत्सव जारी छ । महोत्सवमा शनिबार थामिनसक्नु दर्शकको भिड लाग्यो । दर्शक ठेलमठेल हुँदा व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे पर्ने स्थिति सिर्जना भयो । महोत्सवको १०औं दिन शनिबार बिदा परेकाले स्कुले विद्यार्थीहरु अभिभावक सहित आउने भएकाले पनि बाक्लो उपस्थिति भएको हो । महोत्सव स्थलमा अन्य दिनको तुलनामा दर्शकको चाप अत्याधिक रहेको संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिए ।

दर्शक बढेपछि टिकट काउण्टर थपेर व्यवस्थापन गरिएको थियो । हात हातमा टिकट लिएर बिक्री गर्नुपरेको थियो । शनिबार विभिन्न काउण्टरबाट बिक्री भएका टिकट समेत गरी करिब ५० हजार दर्शकले मेलाको अवलोकन गरेको अधिकारीले बताए । ‘हालसम्म तीन लाख बढी दर्शकले मेलाको अवलोकन गरिसकेका छन्,’ उनले भने ।

दर्शकको चाप सँगसँगै आर्थिक कारोवारमा पनि बृद्धि भएको छ । शनिबार एकैदि दुई करोड ५० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए । ‘हालसम्म करिव १५ करोड रुपैयाँ बराबरको कारोबर भइसकेको छ,’ उनले भने ।

महोत्सवको थप आकर्षणका रुपमा रहेको विद्यालय स्तरीय एकल नृत्य प्रतियोगितामा फाइनलका लागि छनोट भएका नौ प्रतिस्पर्धी मध्ये बालप्रभात बोडिङ स्कुलकी बर्षा क्षेत्रीले प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । जुनियर सिटिजन्स्की समृद्धि पाण्डे द्वितीय, डायमण्ड मा.वि. की सिमरन गुरुङ तृतीय, युनिभर्स बोडिङ स्कुलकी प्रीति गुरुङ र डायमण्ड मोडेलकी मेरिजन गुरुङ सान्त्वना भएको प्रतियोगिताका संयोजक उपेन्द्रराज सुवेदीले जानकारी दिए ।

You might also like

Comments are closed.