यातायात समन्वय समितिको पदस्थापन, समितिहरुको उचित व्यवस्थापन आवश्यक छः कोइराला

आर्थिक आवाज
पोखरा, ३ पुस । गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समिति पोखराको नवनिर्वाचित समितिको पदस्थापन बिहीबार भएको छ । हालै सम्पन्न अधिवेशनबाट केदार पौडेलको अध्यक्षतामा सर्वसम्मत समिति चयन भएको थियो ।

पदस्थापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश संसदका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले व्यवसायीहरुका समितिहरुलाई उचित व्यवस्थापन आवश्यक रहेको बताए । ‘सिण्डिकेटको आरोप लगाएर मात्रै हुँदैन,’ उनले भने, ‘सबै काम सरकारले गर्न नसक्ने भएकाले व्यवसायी समितिहरुको पनि उचित व्यवस्थापन हुनुपर्छ ।’ सरकारले निजी क्षेत्रको लगानीलाई निरुत्साहित गर्न नहुने उनले बताए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष ऐनकुमार साई, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम राना, समन्वय समितिका संस्थापक अध्यक्ष हरि खनाल लगायतले बोलेका थिए ।

पदस्थापन गर्नेहरुमा अध्यक्ष पौडेल सहित वरिष्ठ उपाध्यक्ष योगेन्द्रबहादुर केसी, उपाध्यक्ष द्वय प्रकाशमणि तिवारी, दयाराम भारती, महासचिव अमृत शर्मा तिमिल्सिना, सचिव श्रीप्रसाद तिवारी, सन्तोष राना र सहकोषाध्यक्ष लक्ष्मण बास्तोला छन् । निवर्तमान अध्यक्ष पदम केसी छन् । निर्वाचन समितिका संयोजक जीवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन निर्वाचन समितिका सदस्य रामचन्द्र लामिछानेले गरेका थिए ।

You might also like

Comments are closed.