यात्रु कुर्ने गाडीलाई अब कार्वाही हुने

सन्देश श्रेष्ठ
पोखरा, २० पुस । पोखरामा गुड्ने गाडीहरुले अब यात्रु कुरेको पाइए कार्वाही गरिने भएको छ । पोखरा महानगरपालिकाले पोखराका मुख्य चोकहरुका बस बिसौनीहरुमा लामो समय लगाएर यात्रु कुर्ने गाडीलाई कार्वाही गर्ने भएको हो । महानगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकले मुख्य चोकहरुमा गाडी रोकेर यात्रु कुर्न नपाइने नियम बनाउँदै त्यस्तो गरेको पाइए कार्वाही गर्ने निर्णय गरेको हो ।

पोखराका मुख्य चोक महेन्द्रपुल, विपीचोक, सभागृहचोक, पृथ्पीचोक, सिर्जनाचोक लगायतका ठाउँमा आवश्यकता भन्दा लामो समयसम्म यात्रु कुरेर बस्न नपाइने र बसेको पाइए कारबाही गर्ने गरी निगरानी थालिएको महानगर ट्राफिक व्यवस्थपान समितिले जानकारी दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले भने, ‘अब पोखराका मुख्य चोकहरुमा यात्रु ओराल्ने र चढाउने मात्रै गर्न पाइन्छ । त्योभन्दा धेरै बस्नै पाइन्न, अबदेखि बसेको पाइए कारबाही गर्छौं ।’

बाग्लुङबाट सिद्धार्थ राजमार्ग हुँदै आवतजावत गर्ने बसहरु सिर्जनाचोक, विरौटा हुँदै जानुपर्ने नियम बनाइएको छ । स्याङजा जाने बसहरु पनि पृथ्वीचोक नआई सिधै नागडुंगा हुँदै जानुपर्ने नियम बनाइएको पौडेलले जानकारी दिए । स्याङ्जा र बाग्लुङबाट आएका बस पृथ्वीचोक हुँदै आवतजावत नगर्ने वित्तिकै पृथ्वीचोकमा सवारीसाधनको चाप घटेर र ट्राफिक जाम कम हुने विश्वास गरिएको छ । पोखराको ट्राफिक व्यवस्थापनलाई चुस्त र व्यवस्थित पार्न महानगरपालिका लागिपरेको पोखरा महानगरपालिका मेयरका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।

You might also like

Comments are closed.