युआरएलको प्राविधिक सहयोगमा पुतलीबजारमा स्वास्थ्य शिविर

पोखरा, २९ मंसिर । स्याङ्जा हस्पटल प्रालिको आयोजनामा पुतलीबजार १ चौकीमा शनिबार स्वास्थ्य शिविर भएको छ । शिविरमा ३ सय २ जनाको सित्तैमा थाइराइड, रगतमा हुने खराब बोसो र मधुमेहसम्बन्धी रक्त परीक्षण गरिएको छ । पोखरा, सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा अन्य सबै प्रकारका रक्त परीक्षणमा पनि ५० प्रतिशत छुट दिइएको थियो । कार्यक्रममा सांसद नारायणप्रसाद मरासिनीले स्वास्थ्य, शिक्षा, रोजगारीको संविधानले ग्यारेन्टी गरे पनि अझै राज्यले यसको ग्यारेन्टी गर्न सक्ने अवस्था नरहेको बताए ।

उनले खानपान, जीवनशैली र शारीरिक व्यायममा ध्यान दिँदै रोग लागिहाले पनि नडराउन बरु उचित उपचार गर्न आग्रह गरे । उनले भने, ‘मलाई मधुमेह छ, हृदयघात पनि भयो । ध्यान दिएँ र पो बाचें, नदिएको भए अहिलेसम्म रहन्नथें ।’ मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा तारा कोइरालाले अहिलेको युगमा कफिनाका ४ खुट्टा हुने तर्क गरे । उनले भने, ‘धूमपान, रक्तचाप, मधुमेह र कोलेस्ट्रोल कफिनका ४ खुट्टा हुन् । यीबाट टाढै रहनुस् ।’ उनले रोग लागे÷नलागेको पत्ता लगाउन र रोगको अवस्था थाहा पाउन राम्रा ल्याब जरुरी हुने उल्लेख गरे ।

थाइराइडका विभिन्न प्रकार र अवस्थाबारे प्रकाश पार्दै उनले सबै थाइराइडमा औषधी खानैपर्छ भन्ने भ्रम नपाल्न आग्रह गरे । इन्सुलिन बन्दै नबन्दा, कम बन्दा र बनेको इन्सुलिनले पनि काम नगर्दा मधुमेह हुन्छ । डा. कोइरालाले जीवनशैली, खानपान र वंशाणुगत कारणले पनि मधुमेह हुनसक्ने औंल्याए । उनले भने, ‘बेलैमा पत्ता लगाएर सावधानी र उपचार गरे जीवन लामो हुन्छ, हेलचेक्र्याई गरे आँखा बिग्रिन्छ, मृगौला खराब हुन्छ, अनेक असर हुन्छन् ।’

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले गण्डकी प्रदेशका बासिन्दालाई सर्वसुलभ र गुणस्तरीय सेवा दिनु युआरएलको लक्ष्य भएको बताए । उनले भने, ‘समस्या हुने सबैसँग पैसा हुँदैन । रोग लुकाउँदा, उपचार नगर्दा ज्यानै जान सक्छ । यसैलाई मनन गरी हामी शिविरहरु आयोजना गरिरहेका छौं । ’ युआरएलले विभिन्न संघ, संस्थासँगको सहकार्यमा आयोजना गरेको यो ५९ औं शिविर हो । स्याङ्जा हस्पिटल प्रालिका सञ्चालक डा. वसन्त पंगेनीले स्वस्थ मानिसलाई रोग लाग्न नदिन र रोग लागिसकेकालाई उचित उपचारका लागि यस्ता कार्यक्रम सहयोगी हुने बताए । कार्यक्रम सञ्चालन विक्रम परियारले गरेका थिए ।

You might also like

Comments are closed.