‘युआरएलले चिकित्सक र बिरामीको मन जितेको छ’ (अन्तर्वार्ता)

ठाकुरप्रसाद पन्त
प्रवन्ध निर्देशक, युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि, पोखरा

पोखराको न्युरोडमा सञ्चालित युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि मंसिर २३ गतेबाट पाँचौं वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गर्दैछ । प्रालिले वार्षिकोत्सवको अवसरमा विभिन्न रचनात्मक तथा सामाजिक काम गर्दैै आएको छ । स्थापनाको छोटो समयमा लोकप्रिय बन्न सफल प्रालिले हालसम्म १ लाख २५ हजार भन्दा बढी सेवाग्राही तथा बिरामीहरुको रक्त परीक्षण गरिसकेको छ । वार्षिकोत्सवको अवसरमा प्रालिका विभिन्न गतिविधिहरुमा केन्द्रित रहेर प्रवन्ध निर्देशक ठाकुरप्रसाद पन्तसँग आर्थिक आवाजले गरेको कुराकानी  : 

वार्षिकोत्सवको अवसरमा के–के कार्यक्रम गर्नुभयो ?
हामीले वर्षेनी विभिन्न रचनात्मक कामसहित वार्षिकोत्सव मनाउँदै आइरहेका छौं । यस वर्ष हामीले मंसिर महिनाभरि होलबडी चेकअपमा ३० प्रतिशत छुट दियौं । कोलस्टोर सम्बन्धी प्याकेज लिपिट प्रोफाइलमा ५० प्रतिशत छुट दिइरहेका छौं । अन्य विशेष परीक्षणमा पनि परीक्षण अनुसार विशेष छुट प्रदान गरिरहेका छौं । युआरएल पत्रकारिता पुरस्कार यस वर्ष पनि प्रदान गर्दैछौं । त्यसैगरी यो वर्षबाट वर्षको उत्कृष्ट कर्मचारी छानेर पुरस्कृत गर्न सुरु गरेका छौं ।

युआरएल स्थापनाको पाँचौ वर्षसम्ममा कति जनाको रक्त परीक्षण गर्नुभयो ?
हामीलाई खुसी पनि लागिरहेको छ, युआरएलको ५ वर्षे सेवा अवधिसम्म आइपुग्दा १ लाख २५ हजार जना भन्दा बढी बिरामी तथा सेवाग्राहीहरुले ल्याबोरेटरीबाट रक्त परीक्षण गराइसक्नुभएको छ । अत्यन्त जटिल र अलिकति महंगा मानिएका परीक्षण जसलाई छिमेकी देश भारत र राजधानी लगायत ठाउँमा परीक्षणका लागि पठाउनुपर्ने बाध्यता थियो । युआरएल स्थापनासँगै उक्त बाध्यता हटेको छ । हामीले नेपालका अन्य ल्याबोरेटरीमा सम्भव नभएका रक्त परीक्षण पनि युआरएलमा गर्दै आएका छौं । जस्तै हृदयघात सम्बन्धी एन्टि प्रोबिएनपी, थाइराइड सम्बन्धी टिएसएचआर, फोक्सो सम्बन्धी साइप्रा २१.१ जस्ता जटिल परीक्षण पनि युआरएलले नेपालमै पहिलो पटक पोखराबाट सुरुवात गर्यो । पाठेघरको क्यान्सर सम्बन्धी एकिन गरिने परीक्षण नेपालमै पहिलो पटक हामीले सुरु गरेका छौं । जसलाई एचईफोर परीक्षण भनिन्छ । यसबाट अधिक बिरामीहरुले सेवा लिई समयमा नै आफ्नो स्वास्थ्य प्रति सचेत हुने अवसर पाउनुभएको छ । जुन परीक्षण पोखरामै भएकाले बिरामीको समयमा नै उपचार गर्न सम्बन्धित विषयका विशेषज्ञ चिकित्सकलाई पनि सहयोग मिलेको छ ।

युआरएलका विशेषताहरु के–के हुन् ?
बिरामीको स्वास्थ्य उपचारलाई समयमा नै सहयोग मिलोस् भनी युआरएल पोखरामा स्थापना गरेका हौं । हामीले बिरामीले परीक्षणको अभावमा कुनै पनि रोगको उपचार गर्न चिकित्सकलाई ढिला नहोस् । सही रिपोर्ट समयमा नै पाउन् र चिकित्सकलाई उपचार गर्न सहयोग मिलोस् भन्ने हेतुले संसारकै सर्बोत्कृष्ट प्रविधि एवं उच्चस्तरको जनशक्तिको मद्दतले गुणस्तरीय तवरबाट जटिल किसिमका रक्त परीक्षणहरु आवश्यक परेको खण्डमा एकै घन्टामा पनि रिपोर्ट उपलब्ध गराएका छौं । सामान्यतया बिहान आएको स्याम्पलको दिउसो र दिउसो आएको स्याम्पलको रिपोर्ट बेलुकी दिँदै आएका छौं । हामीले स्याम्पल कलेक्सन गर्दा पनि सही किसिमको रिपोर्ट आओस भनी सिरिन्जको सट्टा निडिल मार्फत भ्याकुम ट्युवको प्रयोग गछौं । संसारकै सर्वोत्कृष्ट प्रविधि रोस कम्पनीको कोभास इ फोर वानवानको इकिलिया मेथोडबाट रक्त परीक्षण गर्दै आएका छौं । हामो प्राविधिक जनशक्तिमा प्याथोलोजिष्ट, बायोक्यामिष्ट, टेक्नोलोजिष्ट र टेक्निसियन सहित २६ जना कर्मचारीहरु बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म २ सिफ्टमा खटिनुहुन्छ । वर्षमा ५ दिनमात्रै ल्याब पूर्ण रुपमा बन्द गछौं भने ३ सय ६० दिन खुल्ला रहन्छ ।

सामाजिक उत्तरदायित्व कसरी बहन गर्नुभएको छ ?
हामीले दीनदुखी, गरिब, असहाय व्यक्तिहरुका लागि जिल्ला जनस्वास्थ्य कार्यालय अथवा अन्य कुनै स्वास्थ्य संस्था र सामाजिक संघसंस्थाको सिफारिसमा शतप्रतिशतसम्म छुट गरी परीक्षणहरु गर्दै आएका छौं । त्यतिमात्र होइन स्थानीय तहमा रहेका विभिन्न संघसंस्थाको सहकार्यमा विभिन्न किसिमका रोगको पहिचान गर्ने रक्त परीक्षणहरु निःशुल्क एवं उक्त रोग सम्बन्धी जानकारी गराउने सचेतना समेत सम्बन्धित रोगका विशेषज्ञ चिकित्सक लागि परामर्श दिलाउँदै आइरहेका छौं । हालसम्म ५७ वटा यस्ता कार्यक्रमहरु पोखरा र पोखराका आसपासका जिल्लाहरुमा गरिसकेका छौं । जसबाट ३५ हजार भन्दा बढी बिरामी तथा सेवाग्राहीले फाइदा लिन सक्नुभएको छ । यसलाई निरन्तरता दिने कुरा पनि म जानकारी गराउँछु । हामीले विभिन्न संघसंस्थाका कार्यहरुलाई आर्थिक रुपले र प्राविधिक रुपले पनि सहयोग गर्दै आएका छौं ।

युआरएलमै रक्त परीक्षण किन गराउने ? विश्वासका आधारहरु के–के छन् ?
हामीले ल्याबोरेटरीले अपनाउनुपर्ने गुणस्तरका विषयहरुलाई प्राथमिकताका साथ समयानुकुल परिमार्जन गर्दै परीक्षणलाई गुणस्तरीय र भरपर्दो बनाएका छौं । प्राविधिक कर्मचारीहरुलाई समय समयमा सम्बन्धित विषयका विज्ञहरु ल्याइ तालिम दिँदै आएका छौं । व्यवस्थापन पक्षलाई पनि सफ्टवयर मार्फत सञ्चालन गरिरहेका छौं । बिरामीले आफ्ना परीक्षणहरु कसरी गरिएको छ भन्ने कुरा प्रत्यक्ष हेर्न सक्ने वातावरण तय गरेका छौं । त्यसैगरी अन्य कुनै प्राविधिक तथा चिकित्सकहरुले पनि आफ्नो बिरामीको परीक्षणहरु कस्तो तरिकाबाट आएको छ भन्ने जानकारी समेत प्रविधिमार्फत हामी देखाउन सक्छौं । स्थापनाको ५ वर्षसम्म गरिएका परीक्षणहरु पुरै पूर्ण रुपमा सफल भएकाले पनि हाम्रो विश्वसनीयता स्पष्ट हुन्छ । बिरामीको अवस्था हेरी आवश्यक परेको खण्डमा तत्कालै परीक्षणको रिपोर्ट उपलब्ध गराउँछौं । र अन्य प्रयोगशालामा सम्भव नभएका परीक्षणहरु पनि यहाँ समयमा नै परीक्षण हुनसक्ने आधारले पनि बिरामीहरु बिश्वासका साथ युआरएल आउनुहुन्छ ।

युआरएलका शाखाहरु कहाँ कहाँ छन् ?
सेवालाई बिस्तार गर्ने क्रममा हामीले बागलुङ र तनहुँको दमौलीमा युआरएलको शाखा खोलेका छौं । त्यहाँ सम्भव नभएका परीक्षणहरुलाई कलेक्सन गरी सही तापक्रममा र तोकिएको समयभित्र स्याम्पललाई युआरएलमा ल्याइ परीक्षण गरी मेलमार्फत तत्काल रिपोर्ट पठाई बिरामीको उपचारमा सहयोग पुर्याउँदै आएका छौं । सामान्यतया थाइराइड, मुटु, क्यान्सर सम्बन्धी र भिटामिनहरु सम्बन्धी परीक्षणहरुको लागि युआरएलमा स्याम्पल आउने गरेको छ । सामान्य परीक्षणका लागि पनि बिरामी पोखरा आउँदा पैसा र समय दुवैको खर्च हुने हुँदा हामीले युआरएलकै दररेटमा शाखामा सेवा उपलब्ध गराएका छौैं । जसले दुवै जिल्लाका सेवाग्राही लाभान्वित भएका छन् । त्यहाँ रहनुभएका विशेषज्ञ चिकित्सकहरुले परीक्षणको अभावमा बिरामीलाई पोखरा लगायत काठमाडौं पठाउनुपर्ने बाध्यतात्मक परिस्थितिको पनि अन्त्य भएको छ ।

चिकित्सकहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
हामीले सञ्चालनको ५ वर्ष बित्नै लाग्दासम्मको अवस्थामा झण्डै ५ सय भन्दा बढी सम्बन्धित विषयका विशेषज्ञ चिकित्सकहरुले बिरामीहरु युआरएलमा पठाउनुभएको छ । युआरएलले दिँदै आएको परीक्षणको सेवा उच्च स्तरीय र समयानुकुल परीक्षण छ भन्ने कुराको पुष्टि यसले पनि गर्छ । हामीलाई चिकित्सकहरुले बिरामीको उपचार गर्ने शिलशिलामा कतिपय परीक्षणहरु तत्काल गर्नुपर्ने अवस्थामा पनि हामीले बिरामीको स्वास्थ्यलाई ध्यानमा राख्दै समयमा नै रिपोर्ट गर्न सफल भएको कारणले पनि उपचार तथा बिरामीको पोखरा बसाईंको खर्चलाई न्युनीकरण गरेको छ । बिरामीले सामान्य परीक्षणको रिपोर्ट कुर्नका लागि साता दश दिन लाग्ने जुन अवस्था थियो त्यसलाई हामीले निश्चित एकाध घन्टामा नै रिपोर्ट उपलब्ध गराई बिरामीलाई सबै क्षेत्रबाट सहज पारेका छौं । चिकित्सक ज्युहरुले पनि परीक्षणको अभावमा बिरामीहरु काठमाडौं लगायत छिमेकी देश पठाउनुपर्ने जुन परिस्थिति थियो त्यो लगभग पूर्ण रुपमा अन्त्य भएको महसुस गर्नुभएको छ । उपचार नै नहुने र चिकित्सकले गर्ने नसक्ने भन्ने जस्तो भ्रम पूर्ण रुपमा बिरामीको सोचाइबाट हटेको अवस्था छ ।

कुन कुन ठाउँबाट परीक्षणका लागि स्याम्पल आउँछन् ?
हामी कहाँ बिरामीहरुको परीक्षणका लागि स्याम्पलहरु चार तरिकाले आइरहेको छ । जस्तै पोखरामा भएका हस्पिटल एवं क्लिनिकमा रहेका ल्याबहरुमा सम्भव नभएका परीक्षणहरुका लागि सम्बन्धित प्रयोगशालाबाटै स्याम्पल युआरएलमा आउँछ र हामी त्यसलाई परीक्षण गरी रिपोर्ट मेल या हाम्रा कर्मचारीले सम्बन्धित ल्याबमा पुर्याउनुहुन्छ । दोस्रो बिरामी आफै युआरएलमा आइ सामान्य रोगदेखि शरिरको विभिन्न अंगमा कुनै किसिमको रोगहरु लागेको छ छैन भनी रक्त परीक्षण गराउनुहुन्छ । त्यो सामान्य एक दुई परीक्षणदेखि होलबडी रक्त परीक्षण समेत गरी जे समस्या हो त्यही किसिमको विशेषज्ञ चिकित्सक कहाँ उपचारका लागि जानुहुन्छ । तेस्रो कुनै पनि सामान्य ल्याबमा आएको रिपोर्टमा चित्त नबुझेका खण्डमा डाक्टरले युआरएलमा पुन परीक्षणका लागि पठाउनुहुन्छ या बिरामी स्वयम थप परीक्षणका लागि यहाँ आउनुहुन्छ । चौथो बिरामी चिकित्सक कहाँ जचाइसकेपछि डाक्टरले बिरामीलाई परीक्षणका लागि सिधै युआरएलमा पनि रिफर गर्नुहुन्छ । यसरी युआरएलमा बिरामीहरु विभिन्न तवरबाट आइरहनुभएको छ । दिनमा लगभग प्रत्यक्ष अप्रत्यक्ष करिब २ सय जनाको हाराहारीमा बिरामी आउने गर्नुभएको छ । कास्की लगायत छिमेकी जिल्ला एवं राजधानीबाट समेत परीक्षणका लागि बिरामी तथा स्याम्पल युआरएलमा आउने गरेको छ ।

You might also like

Comments are closed.