युनाइटेड कप खुल्ला बास्केटवल प्रतियोगिता मंगलबारबाट, तयारी पुरा

गिता राना मगर
पोखरा, २४ मंसिर । पोखराको अमरसिंह माविको बास्केटबल कोर्टमा मंगलबारदेखि प्रथम युनाइटेड कप खुल्ला बास्केटवल प्रतियोगिता हुने भएको छ । स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आएको युनाइटेड क्लबले आफ्नो खेलकुद कार्यक्रम अन्तर्गत प्रथम युनाइटेड कपको आयोजना गर्न लागेको हो । तयारी पुरा भएको बताइएको छ  ।

मंगलबार शुरु हुने बास्केट बल प्रतियोगितामा पुरुषतर्फ १२ टिमको सहभागिता रहनेछ भने महिला तर्फ ४ टिमको सहभागिता रहनेछ । भेट्रान्सतर्फ ५ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक विष्णु गुरुङले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगद १ लाख, शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने दोस्रो हुने टिमले नगद ४० हजार, शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फ प्रथम हुने टिमले नगद २० हजार, शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमले नगद १० हजार, शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पौढतर्फ प्रथम हुनेलाई नगद २५ हजार, शिल्ड मेडल र प्रमाण पत्र र दोस्रो हुनेले नगद १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष लालकाजी गुरुङले जानकारी दिए ।

प्रतियोगिताको विशेष सहयोगीमा पोखरा महानगरपालिका रहेको छ भने सहयोगीहरुमा पोखरा महानगर वडा नम्बर १०, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला बास्केटवल संघ रहेका छन् भने अफिसियल बैङ्कमा सानिमा बैङ्क लिमिटेड, अफिसियल पानीमा स्पा ड्रप वाटर र प्राथमिक उपचारमा नरहरि मेडिकलको सहयोग रहेको छ । प्रतियोगिताको बुधबार दिउसो १ बजे राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य राजेश गुरुङले उद्घाटन गर्नेछन् ।

You might also like

Comments are closed.