युवा उद्यमको विकासमा मेरो योगदान रहनेछः किसान

किसान सुनार
महासचिव पदका उम्मेदवार
पोखरा उद्योग वाणिज्य संघ, ३२औं महाधिवेशन

निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि असोज ५ र ६ गते ३२औं महाधिवेशन हुँदैछ । महाधिवेशनका लागि उम्मेदवारी दर्तासमेत भइसकेको छ । संघमा कार्यसमिति सदस्य भएर काम गरिसकेका युवा उद्यमी किसान सुनारले महासचिव पदमा उम्मेदवारी मनोनयन गरिसकेका छन् । महासचिवमा उम्मेदवारी दिनुका कारण लगायत विविध विषयमा केन्द्रित रहेर आर्थिक आवाजले सुनारसँग गरेको कुराकानीको सारः

घरदैलो अभियान कसरी चलिरहेको छ ?
अहिले घरदैलो अभियान चलिरहेको छ । घरदैलोमा हामीले मत माग्नुका साथसाथै व्यवसायीहरुका गुनासाहरु सुन्ने, उहाँहरुलाई परेका पिरमर्काहरुको पहिचान गर्ने काम गरिरहेका छौं । उहाँहरुले दिएका प्रतिक्रिया र सुझावलाई मनन् गरिरहेका छौं । जसले गर्दा व्यवसायीको पक्षमा काम गर्ने वातावरणसमेत बन्ने हामीले बुझेका छौं । घरदैलोका क्रममा उद्योगी व्यवसायीबाट उत्साहप्रद समर्थन पाएका छौं । थप जिम्मेवारी बोध भएको अनुभूति भएको छ । व्यवसायीहरुसँग धेरै अपेक्षाहरु पनि छन्, ती अपेक्षा सफल बनाउन हाम्रो नेतृत्वको टिमले बास्तविक व्यवसायीको पक्षमा काम गर्न सक्नेछ भन्ने विश्वास दिलाउन हामी सफल छौं ।

बर्तमान कार्यसमितिमा रहँदा गरेका कामहरुलाई कसरी सम्झनुहुन्छ ?
कार्यसमिति सदस्यसँग त्यतिधेरै जिम्मेवारी र भूमिका नहुँदा–नहुँदै पनि मैले आफूलाई निकै सक्रिय बनाएँ । संस्थाका सबै गतिविधिमा म अग्रस्थानमा रहन सफल भएँ । सदस्यता उपसमिति, डोम निर्माण उपसमिति, आर्थिक उपसमितिमा रहेर काम गरेँ । म आफै संयोजक भएर श्रीलंकन राजदूतलाई पोखरा ल्याउन सफल भएको थिएँ । पर्यटन व्यवसाय र दुई देशबीचको व्यापारका विषयमा छलफल चलाएँ । संघको प्रमुख कार्यक्रम राष्ट्रिय औद्योगिक व्यापार मेलामा दुवै पटक सुरक्षा संयोजक रहेर काम गरेको छु ।

महासचिव पदमा तपाईंको उम्मेदवारी किन ?
अहिले म एक कार्यकाल व्यवसायीको पक्षमा काम गरेँ । ३१औं महाधिवेशनमा म लोकप्रिय मतका साथ कार्यसमितिमा निर्वाचित भएको थिएँ । मतदाताको त्यो विश्वासलाई अहिले मैले अझ बढी बढाएको छु भन्ने लाग्छ । मेरो लागि त्यो निर्वाचन ऐतिहासिक पनि थियो, किनकि सबैैभन्दा सानो उमेरको व्यक्ति कार्यसमितिमा प्रवेश गर्ने अवसर पनि मिलेको थियो, त्यो पनि अत्याधिक लोकप्रिय मतसहित । कार्यसमिति सदस्य भइसकेपछि २ वर्षको अवधि मैले आफूलाई संघका हरेक गतिविधिमा सक्रियताका साथ अगाडि बढाएँ । प्राप्त सबै जिम्मेवारी र भूमिकालाई पुरा गरेँ । २ वर्षमा जति पनि काम गरेँ, ती कामबाट आफूलाई अब्बल बनाउन म सफल भएँ । अहिले आम व्यवसायीहरुको चाहना र मागबाट नै म महासचिव पदमा उम्मेदवार बनेको छु । कार्यसमिति सदस्य रहँदा मैले गरेका काम र मेरो नेतृत्व क्षमताबाट म महासचिव पदको उम्मेदवार भएको हुँ ।

सदस्यबाट सिधै महासचिवको उम्मेदवार किन बन्दै हुनुहुन्छ ?
कार्यसमिति सदस्यबाट ३ जना पदाधिकारीमा जाने नै हो । कतिपयले यसलाई अपब्याख्या गरेको पाएको छु । म नगएको भएपनि कोही ३ जना साथीहरु पदाधिकारीमा अवश्य नै जाने नै थिए । यसलाई क्रमगत नै मान्नुपर्छ । मेरो चाहनाले भन्दा पनि मैले खेलेको भूमिकाबाट म यो पदमा उम्मेदवार बनेको हुँ । सबैको भावना अनुसार म यो पदको उम्मेदवार बन्दैछु । नयाँ पुस्ताले महत्वपूर्ण पदको नेतृत्व सम्हाल्नुपर्छ भन्ने धेरै साथीहरुको चाहना पनि छ । मैले धेरै ठाउँमा भन्दै आइरहेको कुरा के हो भने, कसले कति वर्ष काम ग¥यो त्यो महत्वपूर्ण होइन, संघभित्र जति समय रहेपनि त्यहाँ उसले के काम ग¥यो त्यो महत्वपूर्ण कुरा हो । मैले के सावित गर्न सफल भएँ भने कतिवर्ष काम गरेँ भन्ने कुरासँग सम्बन्ध नराखी २ वर्षमा यसले धेरै काम गर्न सक्नेरहेछ है भन्ने प्रमाणित गर्न सफल भएँ । दुई वर्षमा गरेको कामले पदाधिकारीमा जाने म्यान्डेट पाउनु नै मेरो उपलब्धी हो ।

महासचिव पदको भूमिकालाई कसरी बुझ्नुभएको छ ?
महासचिवको उम्मेदवारीलाई मैले दुई हिसाबले बुझेको छु । एउटा, महासचिवले खेल्नुपर्ने भूमिका र दायित्वका हिसाबले र अर्को समग्र रुपमा व्यवसायीको पक्षमा काम गर्नुपर्छ भन्ने हिसाबले । महासचिव भन्ने वित्तिकै संस्थाको प्रशासनिक प्रमुख अथवा सचिवालय प्रमुख रहने हुँदा त्यहाँको प्रशासन चुस्त दुरुस्त बनाउने, प्रविधिमैत्री बनाउने, व्यवसायीहरुको सहज पहुँच भएको सचिवालय बनाउने मेरो प्रमुख भूमिका तथा प्राथमिकता रहनेछ । हामीले सहायता कक्ष बनाएका छौं, त्यसको त्यति धेरै कार्यान्वयनमा आएको छैन, उक्त सहायता कक्षलाई प्रभावकारी बनाउने मेरो सोच छ । टोलफ्रि नम्बरमार्फत नै व्यवसायीले सानादेखि ठूला समस्याहरु त्यहाँ पु¥याउन सकुन् भन्ने मेरो चाहना छ । म आफैमा युवा पनि हो । म अहिले उमेरले ३१ वर्षको भएँ । सानो उमेरमा पदाधिकारीमा पुग्ने दोस्रो ऐतिहासिक अवसर मलाई मिलेको छ । युवा प्रतिनिधि भएका हिसाबले पनि म के भन्न चाहन्छु भने युवा उद्यम विकास मञ्च अभियान चलाउने र त्यो अभियान मार्फत युवा उद्यमशीलताको विकासका लागि काम गर्ने मेरो लक्ष्य छ । उक्त काम गर्नका लागि आवश्यक पूर्वाधार, प्रशिक्षण, क्षमता विकास सहित सम्पूर्ण सूचना प्रदान गर्ने खालको डेक्स विकास गर्नेछौं । उद्यम विकासका कार्यक्रमहरु सञ्चालन हुनेछ ।

संघको अबको नेतृत्वले के–के कुरामा ध्यान दिनुपर्ला ?
हिजो बिगतदेखि बर्तमानसम्म पोखरा उद्योग वाणिज्य संघले गरेका राम्रा कामहरुलाई प्राथमिकता दिनेछौं । सामाजिक उत्तरदायित्व, पोखराको समग्र आर्थिक विकास र उन्नति, बजार र पोखरामा सकारात्मक परिवर्तन ल्याउन हिजोका नेतृत्वबाट भएका कामलाई निरन्तरता दिदै थप काम गर्नेछौं । राम्रा राम्रा परियोजना सहित सामाजिक उत्तरदायित्वका कामलाई भोलिका दिनहरुमा पनि अगाडि बढाइनेछ । आयस्रोतका हिसाबले पोखरा उद्योग वाणिज्य संघ कमजोर छ, आयस्रोतकोे पहिचान गरी संघको आर्थिक विकासमा यथोचित काम गर्ने उद्देश्य लिएको छु । हिजो थुप्रै अन्तर्राष्ट्रिय परियोजनाहरु सञ्चालनमा थिए, आज अन्तर्राष्ट्रिय परियोजनाहरु त्यति धेरै छैनन् । समाजमा सकारात्मक परिवर्तन ल्याउने परियोजनाहरु ल्याउने मेरो प्राथमिकतामा छ । समयमा नै पोखराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्नका लागि दबाब दिने, व्यवस्थित बसपार्क, फेवातालको संरक्षणलाई पनि हामीले प्राथमिकतामा राखेका छौं । पोखराको विकाससँग जोडिएका कुराहरुलाई खबरदारी गर्ने, व्यवसायीसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुसँग नजिक रहेर काम गर्ने, धेरै प्रकृतिका व्यवसायीहरु हामीसँग आबद्ध हुनुहुन्छ । ठूला ठूला उद्योगहरु पनि हाम्रो सदस्य हुनुहन्छ सबैको भावनलाई समेटेर अगाडि बढ्ने दायित्व हामीसँग छ ।

करको विषयमा तपाईंको धारणा के छ ?
अहिलेको मुलुकी संरचना परिवर्तन भएको छ । तीन तहका सरकार गठन भएका छन् । तीनै तहका सरकारबाट नयाँ–नयाँ नीति नियमहरु आइरहेका छन् । करको कुरा ठूलो विवादको रुपमा आइरहेको छ । अब जतिपनि नीति नियमहरु बन्छ, त्यसलाई व्यवसायीमैत्री बनाउन हामीले दबाब दिनेछौं । अबको नेतृत्व भनेको पहिलो कुरा सरकारसँग साझेदारी गर्ने हैसियत राख्नुपर्छ र अर्को कुरा समन्वयले मात्रै पुग्दैन, व्यवसायमैत्री ऐननियम ल्याउन ठूलो कसरत गर्नुपर्नेछ । नेतृत्वले बुझनुपर्छ, नेतृत्वले बुझिसकेपछि व्यवसायीलाई बुझाउने र त्यसपछि सरकारसँग हातेमालो गर्दै अगाडि बढ्ने र परेको खण्डमा ठूलो कसरत पनि गर्नुपछ र दबाब पनि दिनुपर्छ । त्यसका लागि पनि मेरो उम्मेदवारी हो । मेरो टिमले पनि यसमा प्रतिबद्धता गरेको छ ।

You might also like

Comments are closed.