युवा पत्रकार सञ्जालद्वारा आयोजित पत्रकारिता तालिम सम्पन्न, खोज पत्रकारितामा जोड

पोखरा । पोखरा महानगरपालिकाका प्रवक्ता धन बहादुर नेपालीले सतही पत्रकारिताको विकल्प खोज्नु पर्ने बताएका छन् । युवा पत्रकार सञ्जाल, गण्डकीद्वारा आयोजित आधारभूत पत्रकारिता सम्बन्धि तीन दिने तालिमको समापनका अवसरमा बोल्दै प्रवक्ता नेपालीले सतही पत्रकारिताको माग सकिएको उल्लेख गर्दै खोजी पत्रकारिताको आवाश्यकतामा जोड दिए ।

पत्रकरिताको भाषामा कुनै पनि शब्दहरु मुल्यवान हुने बताएका नेपालीले समाचारको प्रभावका विषयमा संवेदनशील बन्न सुझाव दिए । पेशागत मर्यादा र दक्षता अभिवृद्धिमा गम्भिर बन्दै समाज परिवर्तनको अभियानमा योगदान आवाश्यक रहेको उनले बताए । प्रवक्ता नेपालीले पत्रकारिता रहरको विषय हुनै नसक्ने ठोकुवा गरेका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले व्यावसायिक पत्रकारिताको आवाश्यकतामा जोड दिए । परिवर्तनका खातिर दृढ प्रतिवद्धता र निरन्तरको क्रियाशीलतामा उनले जोड दिए । तालिमका सहभागीहरु अमित आचार्य र सरु अधिकारीले तालिम व्यवहारिक र फलदायी भएको बताए । पत्रकारिताको क्षेत्र र प्रभावका विषयमा आफूहरुले जानकार हुने मौका समेत प्राप्त गरेको उनीहरुले बताए ।

तीन दिनसम्म चलेको तालिममा समाधान राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक भरत कोइराला, कान्तिपुर राष्ट्रिय दैनिकका गण्डकी ब्युरो प्रमुख भीम घिमिरे, ब्रोडकाष्टिङ् एशोसियसन नेपाल बानकी केन्द्रीय महासचिव दुर्गा अधिकारीले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

अधिवक्ता सुरेन्द्र थापा मगर, अधिवक्ता दुर्गा भण्डारी, संचारिका समूह गण्डकीका महासचिव कविता श्रेष्ठ, डब्लुडब्लुजे कास्कीका अध्यक्ष सरिता तिम्सिना पंगेनी र ताण्डप साप्ताहिकका प्रधान सम्पादक अर्जुन गिरीले समेतले प्रशिक्षण दिएका थिए । तीन दिनसम्म चलेको तालिममा पोखराका विभिन्न क्याम्पसहरुमा पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थी तथा संचारकर्मी समेत गरी ४० जनाले सहभागिता जनाएका थिए । नवप्रवेशीहरुको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको सञ्जालले जनाएको छ । सञ्जालका अध्यक्ष भीम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष विनिता सुनार तथा संचालन महासचिव सुरेशराज अधिकारीले गरेका थिए ।

You might also like

Comments are closed.