युवा विद्यार्थीहरुको संयुक्त लगानीमा लेकसाइडमा खुल्यो होटल मोर्डन देवदर्शन ईन

आर्थिक आवाज
पोखरा, २४ वैशाख । पोखरा महानगरपालिका वडा नं ६, खहरेचोक लेकसाइडमा होटल मोर्डन देवदर्शन ईन प्रा.लि संचालनमा आएको छ । विद्यार्थी राजनीतिमा होमिएका युवाहरुले होटल सञ्चालनमा ल्याएका हुन् । अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य नरेश रोकाया, त्रिचन्द्र कलेजका अनेरास्ववियुका उपाध्यक्ष सुनिल कँडेल र सुनिल श्रेष्ठको संयुक्त लगानीमा होटल सञ्चालनमा आएको हो ।

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले सोमबार होटलको उद्घाटन गरेका हुन् । राजनीतिलाई मर्यादित र व्यवस्थित बनाउन उत्पादनसँग जोडिनुपर्ने पहारीले बताए । ‘पर्यटन विकास र समृद्ध नेपालको अभियानमा युवा विद्यार्थीहरुको योगदान हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि पर्यटन क्षेत्रमा युवाहरुको लगानी बढ्नु सकारात्मक छ ।’

राजनीति पेशा नभएर समाजसेवा रहेकाले व्यक्तिगत जीवनलाई समयानुकूल अघि बढाउन उत्पादनसंग जोडिनको लागि सामाजिक काममा खटिरहदा प्राप्त हुने फुर्सदको समयलाई व्यवसायमा दिनेगरी होटल संचालनमा ल्याएको संचालक नरेश रोकायाले बताए । होटलमा सुविधा सम्पन्न १५ वटा कोठा रहेको उनले बताए । ‘३ वटा अपार्टमेन्ट छ,’ उनले भने । होटलबाट शान्त वातावरणमा फेवा तालको रमणीय दृश्य हेर्न मिल्ने गरी सम्पूर्ण कोठाहरुमा डिजाइन गरिएको संचालक सुनिल कँडेलले बताए । होटलमा पर्याप्त पार्किङ, रेस्टुरेन्ट र बारको सुविधा रहेको अर्का संचालक सुनिल श्रेष्ठले बताए ।

करिब ४० जना अट्ने मिनी सेमिनार हल सहितको उक्त होटलमा १ करोड रुपैयाँ लगानी भएको संचालक सुनिल कँडेलले बताए । होटलले घुम्न आउने विद्यार्थीहरुका लागि विद्यार्थी परिचयपत्रका आधारमा लजिंङ सेवामा १० प्रतिशत छुटको योजना समेत ल्याएको छ । यो सेवा सधैं लागू हुने बताइएको छ । जसले गर्दा विद्यार्थीहरुका लागि केही हदसम्म सुविधा पुग्ने सञ्चालकहरुको विश्वास छ ।

You might also like

Comments are closed.