पोखरा, २ असार ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले देशका सम्पुर्ण युवा शक्तिलाई एक साथ लिएर समृद्ध राष्ट्र निमार्णमा लाग्ने बताएका छन् । कास्कीको पोखरामा सम्पन्न नेपाल मानब धर्म सेवा समिति युवा संगठनले आयोजना गरेको राष्ट्रिय युवा सम्मेलन २०७५ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देश विकासमा युवाको महत्वपुर्ण भुमिका रहेको बताउदै कुनै हालतमा युवाले निरास नभई देश विकासमा जुट्न आग्रह गरे । अरुको नक्कल गरेर कदापि सफल नहुने बताउदै मन्त्री पण्डितले नकरात्मक सोचलाई पछि पार्दै सकारात्मक सोचका साथ अगाडी वढ्न युवाहरुलाई सुझाव दिए । अहिले युवाहरु विभिन्न कुलतमा फसेको समयमा मानब धर्म सेवा समितिले युवाहरु लाई उत्प्रेरणा जगाउन कार्यक्रमले सहयोग पुग्ने भन्दै खुशि व्यक्त गरे । मानब जीवनमा अध्यात्म र भौतिकवादको उतीकै महत्वपुर्ण भुमिका रहेको भन्दै अध्यात्मबाद र भौतिकबादको द्धन्द्धमा नफस्न युवाहरुलाई आग्रह गरे ।
२ दिन सम्म संचालन भएको सम्मेलनमा महानायक राजेश हमाल, संचारकर्मी सविना कार्की, लेखक तथा साहित्यकार घनश्याम खड्का, गायिका आस्था राउत लगायतले युवालाई उत्प्रेरणा मुलक मन्तव्य राखेका थिए । सम्पूर्ण नेपाली युवाहरुलाई सकारात्मक मार्गदर्शन, उत्प्रेरणा, नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उदेश्यले गरिएको सम्मेलनबाट समाजमा रहेका हरेक युवाहरुलाई आध्यात्मिक जागरण मार्फत सुसंस्कृत समाजको निर्माण, सामाजिक सद्भाव र भाईबन्धुत्वको भावना अभिवृद्धि गरि राष्ट्रियताको बोध गराई राष्ट्र निर्माण योगदान पुग्ने आयोजकले जनाएको छ । सम्मेलनमा नेपाल भारत र भुटानका गरी करिब २ हजार युवाहरुको सहभागिता रहेको थियो ।
Comments are closed.