यु–१८ टेनिसमा हङकङका इन ताङ र जापानका जेनी इनो फाइनलमा

पोखरा । हङकङका केल लोक इन ताङ र जापानका जेनी इनो पोखरामा जारी १८ वर्ष मुनिको डिभिजन पाँच आइटीएफ टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् । अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा हङकङका इन ताङले फिलिपिन्सका जोसे एन्टोनियो ट्रियामाथि ७–६ र ६–२ को रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् । जारी प्रतियोगिताको सिडिङ्गमा सातौ स्थानमा रहेका इन ताङले प्रतियोगितामा शिर्ष वरियता प्राप्त खेलाडी एन्टोनियोलाई पराजित गरेका हुन् ।

पुरुष एकलतर्फकै अर्को सेमिफाइनलमा जापानका जेनि इनोले जापानकै केइजु मियाकेलाई ६–३ र ६–० को सहज सेटमा पराजित गर्दै अन्तिम दुईमा प्रवेश गरे । यो संगै आइटीएफको पुरा ३० अंक प्राप्तका लागि उनले इन ताङसंगको भेट निश्चित गरेका छन् । प्रतियोगितामा दोश्रो स्थान हाँसिल गर्ने खेलाडीले १८ अंक प्राप्त गर्नेछ ।

प्रतियोगिता अन्तर्गत महिला एकलतर्फ उपाधीका लागि चाइनाका ले यि लिउ र बुल्गेरियाका भिक्टोरिया भेलेभाविच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबारनै भएको सेमिफाइनल खेलमा चाइनाका लिउले भारतका रेन्नी सिंग्लालाई ७–६ र ६–१ ले तथा भिक्टोरियाले चाइनाका क्विङ्गलिन जाङलाई ४–६ र ७–५ को प्रतिस्प्रधात्मक सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुने प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेलले जानकारी दिए ।

You might also like

Comments are closed.