रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको अध्यक्ष बन्दै विद्या भट्टराई

पोखरा, १७ जेठ । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको औपचारिक घोषणा जेठ १८ गते शनिबार पोखरामा हुँदैछ । परिवार, पार्टी नेताहरु र शुभेञ्छुकहरुलाई समेटेर गठन गर्न लागिएको प्रतिष्ठानको अध्यक्ष विद्या भट्टराई हुनेछिन् । उनी स्वर्गीय रवीन्द्रकी धर्मपत्नी हुन् । यस अगाडि गठन भएको प्रतिष्ठानको तदर्थ समितिको अध्यक्ष पनि उनी नै छन् ।

प्रतिष्ठानको उपाध्यक्षमा नेकपा कास्कीका अध्यक्ष तथा प्रदेश सांसद कृष्ण थापा हुँदैछन् । प्रतिष्ठानको महासचिवको जिम्मेवारी रवीन्द्रका बाल्यकालदेखिका सारथी धनराज आचार्यले लिनेछन् । यद्यपि, प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुको औपचारिक घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पोखरा सभागृहमा शनिबार हुने कार्यक्रममा हुनेछ ।

प्रतिष्ठान गैर नाफामुलक संस्था रहेको र यसमा ३ किसिमका सदस्यता रहने बताइएको छ । साधारण सदस्यको लागि ५ सय रुपैयाँ, आजीवन सदस्यको लागि ५ हजार रुपैयाँ शुल्क लाग्नेछ । जसमा ३ हजार ५ सय रुपैयाँ विशेष सहयोग रहनेछ । विशिष्ट सदस्यको लागि १ लाख रुपैयाँ शुल्क लाग्ने बताइएको छ ।

You might also like

Comments are closed.