राजनीतिक व्यक्ति हैन व्यवसायी रोज्न समावेशी व्यवसायी समूहको आग्रह

 

पोखरा, २९ भदौ

पोखरा उद्योग वाणिज्य संघमा प्यानलै उम्मेद्वारी दिएर चुनाव प्रचारप्रसारमा जुटेको समावेशी व्यवसायी समूहले संघको चुनावमा मत हाल्दा व्यवसायीलाई रोज्न आग्रह गरेका छन् । प्रत्येक व्यवसायीको घर÷घर र पसल÷पसलमा पुग्ने लक्ष्य लिएर घरदैलो गरिरहेको अध्यक्षका उम्मेद्वार दामु अधिकारी नेतृत्वको सो समूहले मत हाल्दा अनुहार हेरेर भन्दा पनि उसको व्यवसाय, गुण र क्षमता हेरेर मत हाल्न उद्योगी÷व्यवसायीलाई आग्रह गरेका हुन् । शुक्रबार तेर्सापट्टी, नालामुख, पालिखेचोक, साँघुमुख, नदीपुर, सृजनाचोक, सिमलचौर र राष्ट्रवैंक चोकमा घरदैलो गर्दै सो समूहले व्यवसायीको हक, हित र अधिकार प्राप्ति र पोखरा उद्योग वाणिज्य संघको गरिमा बचाई राख्नका लागि व्यवसायीले नै जित्नुपर्नेमा जोड दिए ।

सो समूहको तर्फबाट बोल्दै संघको अध्यक्षका उम्मेद्वार दामु अधिकारीले भने,‘राजनीतिमा चुर्लुम्म डुबेको व्यक्तिलाई अहिले भोट दिदा भोलि पोखरा उद्योग वाणिज्य संघको गरिमा कहाँ पुग्छ? अनि त्यस्तो बेला व्यवसायीको हक, हित र अधिकार पनि कुण्ठित हुन्छ, त्यसैले बेलैमा होस पु¥याउँ, नत्र पछुताउनुपर्ने दिन आउन सक्छ ।’ उनले को कुन पार्टीको नजिक वा टाढाको भन्दापनि कसको क्षमता कति छ र उसले उद्योगी÷व्यवसायीको पक्षमा के गर्न सक्छ भनेर मूल्यांकन गरेर मत हाल्नपनि आग्रह गरे ।

अधिकारीले आफ्नो समूह सबै हिसाबले समावेशी भएको दाबी गरे । उनले भने,‘हाम्रो समूहमा सबै पेशा, व्यवसाय गर्नेहरु हुनुहुन्छ, सबै युवा हुनुहुन्छ र सबै शुद्ध व्यवसायी हुनुहुन्छ, त्यतिमात्र हैन, हाम्रो समूह सबल र सक्षम छ जसले पोखरा उद्योग वाणिज्य संघको गरिमा जोगाई राख्न सक्छ ।’ उनले पोखरेली व्यवसायीको समस्या कर, घर भाडा, पार्किङलगायत रहेको बताउँदै ति समस्या समावेशी व्यवसायी समूहले समाधान गर्ने प्रतिबद्धता जनाए । उनले भने,‘हामी निर्वाचित भएपछि व्यवसायीमैत्री कर निर्धारण गर्न दवाब दिन्छौं, सरकार सच्चिन तयार भएन भने हाम्रै नेतृत्वमा आन्दोलन गर्छौं र जसरी भएपनि व्यवसायीमैत्री कर निर्धारण गर्न बाध्य पार्छाैं, अनि घर भाडा र पार्किङलगायतका समस्या समाधान पनि हामी हाम्रै पहलमा गर्छौं ।’

समावेशी समूहको प्यानलको अध्यक्षमा दामु अधिकारी, वरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उपाध्यक्ष (उद्योग) तर्फ गीता तिवारी गौतम, उपाध्यक्ष (वाणिज्य) तर्फ यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उप–महासचिवमा सीता बराल उम्मेद्वार छन् । त्यस्तै सदस्यहरुमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुइटेल उम्मेद्वार छन् ।

You might also like

Comments are closed.