राजस्व नतिर्ने प्याराग्लाइडिङ कम्पनीलाई उडान भर्न महानगरको रोक

सन्देश श्रेष्ठ
पोखरा, २१ पmागुन । पोखरा महानगरपालिकाले राजस्व नतिर्ने प्याराग्लाइडिङ कम्पनीलाई बुधबारदेखि उडानमा प्रतिबन्ध लगाउने भएको छ । महानगरपालिकाले पटक÷पटक राजस्व तिर्नका लागि ताकेता गर्दापनि प्याराग्लाइडिङ कम्पनीहरुले राजस्व नतिरेपछि बुधबारदेखि उडानमै प्रतिबन्ध लगाउन लागेको हो ।

राजस्व नतिर्ने प्याराग्लाइडिङ कम्पनीलाई उडानमा प्रतिबन्ध लगाउने हो भने बुधबारदेखि एउटा मात्रै कम्पनीले उडान गर्न पाउने भएको छ । ५६ वटा दर्ता भएका प्याराग्लाइडिङ कम्पनी मध्ये माउन्टेन भ्यू प्याराग्लाइडिङले मात्रै नियमित रुपमा राजस्व तिर्दै आएको छ । अन्य ५५ वटा कम्पनीले भने राजस्व ४ वर्षदेखि नतिरेको पोखरा महानगरपालिका राजस्व शाखाका अधिकृत रोमनाथ उपाध्यायले बताए ।

उपाध्यायका अनुसार अघिल्लो २ वर्ष ५ हजार ५ सयका दरले प्रति वर्ष तिर्न बाँकी रहेको ११ हजार, गत वर्षको ५० हजार र यस वर्षको २५ हजार गरेर प्याराग्लाइडिङ कम्पनीले ८६ हजार रुपैयाँ तिर्न बाँकी छ । शुरुमा ५ हजार ५ सयका दरले तिरिरहेकोमा स्थानीय सरकार आएपछि बढाएर ५० हजार पु¥याएको थियो । तर एक्कासी धेरै राजस्व बढाएको भन्दै गुनासो आएपछि महानगरपालिकाले यस वर्ष आधा घटाउँदै २५ हजारमा झारेको थियो ।

उसो त प्रदेश सरकारले पनि एक लाख पर्यटन शुल्क कर तोकेको छ । सो रकम पनि प्याराग्लाइडिङ कम्पनीले तिरेका छैनन् । प्रदेश सरकारले लगाएको पर्यटन शुल्क पनि पोखरा महानगरपालिकाले उठाउने निर्णय भएको छ ।

राजस्व नतिर्नेलाई उडानमा प्रतिबन्ध लगाउनका लागि ४ वटा नाकामा बसेर राजस्व रसिद खोजिने पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार सराङ्कोट प्रवेश विन्दु बिन्ध्यबासिनी, पोखरा महानगरपालिका वडा नम्बर २५ र वडा नम्बर १८ को सीमा क्षेत्र, खपौंदी र लभ्लीहिलबाट सराङ्कोट जाने बाटोको बिचमा गरी ४ वटा नाकामा घाट राखेर राजस्व तिरे नतिरेको रसीद जाँच गरिनेछ । रसिद जाँचेर उडानमा रोक लगाउने काम पोखरा महानगरपालिका वडा नम्बर १८ लाई दिइएको छ । वडा नम्बर १८ का वडाध्यक्ष रणबहादुर थापाले महानगरपालिकाले दिएको जिम्मा वडाले चुस्तदुरुस्त तरिकाले गर्ने बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले राजस्व नतिर्ने प्याराग्लाइडिङ कम्पनीको उडान बुधबारदेखि रोकिने बताए । उनले भने, ‘जसले राजस्व तिरेका छन् उनीहरुले उडान गर्न पाउँछन्, जसले तिरेका छैनन् उनीहरुले उडान गर्न पाउँदैनन् ।’ उनले प्याराग्लाइडिङ कम्पनीले बारम्बार समय माग्दै अटेर गरेको भन्दै अब राजस्व नतिरेसम्म उडानमा लागेको प्रतिबन्ध नहटाइने चेतावनी दिए । उनले भने, ‘उडानमा रोक लगाउँदा अन्तर्राष्ट्रिय समुदायमा नराम्रो सन्देश जान्छ भनेर चुप लाग्दालाग्दा बेथितिले गाँज्यो, आज, भोेलि भन्दाभन्दै एक भयो पर्खेको, अब पर्खिन सकिदैन, पूर्ण रुपमा प्रतिबन्ध लगाइन्छ राजस्व नतिर्नेलाई ।’ उनले राजस्व नतिरेका कारण नियमन गर्नपनि गाह्रो हुँदा दुर्घटना बढेकोसमेत बताए ।

लापर्वाहीले दुर्घटना बढ्योः नेपाली

पोखरा महानगरपालिकाले प्याराग्लाइडिङ पाइलटको लापर्वाहीले दुर्घटना बढेको बताए । तोरीपानीबाट मात्रै सोलो पाइलटलाई उडानको अनुमति दिइएको छ । तर सराङ्कोटबाटै उडान भर्न थालेपछि दुर्घटना बढेको महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले बताए । उनले भने, ‘हिजो आज हरेक दिन प्याराग्लाइडिङ दुर्घटना भइरहेका छन्, तर यो चालकको लापर्वाहीले हो, सोलो पाइलटले तोरीपानीबाट मात्रै उडान भर्न पाउँछ, तर उनीहरुले अहिले सराङ्कोटबाटै उडान भर्दा दुर्घटना बढेका छन् ।’ उनले दुर्घटना न्युनीकरणका लागि तत्काललाई सोलो पाइलटलाई उडानमा रोक लगाइएको जानकारी दिए ।

You might also like

Comments are closed.