राज्यका सबै क्षेत्रमा सहकारीको ३३ प्रतिशत सहभागिता अनिवार्य गर्नुपर्नेमा जोड

पोखरा । राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा प्रदेशसभाका सदस्य प्रभा कोइरालाले राज्यले लिएको तीन खम्बे अर्थनीति अनुसार राज्यका सबै क्षेत्रमा सहकारीको ३३ प्रतिशत सहभागिता अनिवार्य गर्नुपर्नेमा जोड दिएकी छन् । जिल्ला सहकारी संघ लिमिटेड कास्की र राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाले आइतबार पोखरामा आयोजना गरेको सहकारी ऐन २०७४ र समसामयिक विषयक अन्तरक्रियामा उनले यस्तो बताइकी हुन् । संविधानले सहकारीलाई आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण पाटोका रुपमा लिएकाले सोही अनुसारका नीति नियम बनाएर सहकारीको सहभागितामा बढाउनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक के.बी. उप्रेतीले सहकारी ऐनमा उल्लेख भएका सकारात्मक विषयहरुलाई प्रभावकारी कार्यान्वयन गर्न र सहकारीलाई वाधा उत्पन्न गर्ने विषयहरुलाई परिमार्जनका लागि परामर्श गर्नुपर्ने बताए । सहकारी क्षेत्रबाट जनताले श्रम, शीप र पुँजी परिचालन गरी थप आयआर्जन गर्ने, बचत गर्ने र आफ्ना समस्या आफै समाधानको बाटोमा लागेर राज्यलाई सहयोग गरेको भन्दै उनले सहकारी क्षेत्रको योगदानलाई स्मरण गरेर सहकारी मैत्री नीति नियम निर्माणमा जोड दिए ।

कार्यक्रमको उद्देश्य र प्रभावकारिताका बारेमा जानकारी गराउँदै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी अभियानलाई आर्थिक विकास र सामाजिक रुपान्तरणको महत्वपूर्ण आधार क्षेत्रका रुपमा विकास गर्नका लागि यसका नीति नियमहरुको पालना गर्दै व्यावसायिकतामा ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा नेफ्स्कुनका सञ्चालक भीम गुरुङले सम्पत्ती सुद्धीकरणले सहकारीहरुलाई संस्थागत हुन प्रेरित गरेको भन्दै यसलाई अन्यथा लिन नहुने धारणा राखे । जिल्ला बचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष सुदिप ढकाल, जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष बलराम गौतम लगायतले बोलेका थिए ।

कार्यक्रम जिल्ला सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष रविरमण तिवारीको अध्यक्षता, राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखा समन्वय उपसमितिका संयोजक तुलसीप्रसाद गुरुङको स्वागत र बैंकका शाखा प्रमुख केदारनाथ उप्रेतीको सञ्चालनमा सम्पन्न भएको थियो । कास्कीका विभिन्न विषयका १ सय ५० वटा सहकारी संंघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा सहकारी ऐनले सहकारीको प्रवद्र्धनमा पार्न सक्ने प्रभाव लगायत समसामयिक विषयमा छलफल भएको थियो ।

You might also like

Comments are closed.