राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु, विदेशीले बजार कब्जा गरेकोप्रति चिन्ता

पोखरा । पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा झरीका बिच ‘समृद्धी स्टिल्स राष्ट्रिय औद्योगिक ब्यापार मेला २०७६’ शुरु भएको हो । मेलाको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले समुद्घाटन गरे । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मेलाको समुद्घाटन गर्ने तयारी भएपनि लमजुङमा रहेका मुख्यमन्त्री गुरुङ वर्षाका कारण पोखरा आउन ढिलाई भएपछि अन्तिम समयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले मेलाको समुद्घाटन गरेका हुन् । मेलाको समुद्घाटन कार्यक्रम मेला स्थल पोखरा प्रदर्शनी केन्द्र नयाबजारमै गर्ने तयारीपनि अन्तिम समयमा आएर स्थगित गर्दै पोखरा उद्योग वाणिज्य संघको सभाहलमै गरिएको थियो । त्यस्तै मेलाको समुद्घाटनअघि संघको सचिवालयबाट प्रभातफेरी निकाल्ने कार्यक्रम पनि अन्तिम समयमा स्थगित गरिएको थियो । प्रभातफेरीमा सहभागि हुन झरीसमेत नभनी आएका आमा समूह, क्लव तथा संघसंस्थाका प्रतिनिधिहरु समुद्घाटन कार्यक्रममा सहभागि भएका थिए ।

उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउने तथा उद्यमशीलता सिकाउने उद्धेश्यले मेला आयोजना गरेको आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बताए । उनले मेलामार्फत नेपाल भ्रमण वर्ष २०२० लाई सघाउनेपनि आफूहरुको उद्धेश्य रहेको स्पष्ट पारे ।

मेलामा उद्योग, हस्तकला, वैंक तथा वित्तिय संस्था, फ्लोरिकल्चर, अटो, बाल उद्यान, रेष्टुरेण्टलगायतका छुट्टाछुट्टै पेभेलियन रहेका छन् । मेलामा कुल २७० वटा स्टल रहेको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए । स्टलमार्फत अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनी गरिने उनले बताए ।

मेला अवलोकनकर्तालाई नेपाल टेलिकमसँगको सहकार्यमा ६० रुपैयाँको टिकट काटेपछि ५० रुपैयाँ ब्यालेन्स भएको सिमकार्ड प्रदान गरिने संघका अध्यक्ष दामु अधिकारीले बताए । उनका अनुसार विद्यार्थीहरुको लागि परिचयपत्रको आधारमा प्रवेश टिकटको शुल्क ४० रुपैयाँ कायम गरिएको छ । सिमकार्ड लिनको लागि अवलकोकनकर्ताले आफ्नो नागरिकताको फोटोकपी र एउटा फोटो भने ल्याउनु पर्नेछ । मेला परिसरमा रहने नेपाल टेलिकमको स्टलमार्फत सिमकार्ड बितरण गरिने छ ।

मेलामा वुटवलका इन्जिनियर शिशिर जिसीले आविष्कार गरेको ६० प्रतिशत इन्धन र ४० प्रतिशत पानीको प्रयोगबाट मोटर र मोटरसाइकल चल्ने प्रविधिलाई प्रदर्शनी गरिने संघका उपाध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए ।

मेलामा लोकदोहोरी प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्ड तथा चर्चित कलाकारहरुको सांगितिक कार्यक्रम, खुल्ला एकल नृत्य प्रतियोगिता र प्रहशनलगायतका मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको सांस्कृतिक कार्यक्रम संयोजक सोवित पौडेलले जानकारी दिए ।

मेलामा करिब १ लाख दर्शकले मेलाको अवलोकन गर्ने दाबी गरिएको छ भने मेलाबाट १ करोड संकलन गरेर ७० खर्चिदा करिब ३० लाख बचत हुने अनुमान गरिएको संघका कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छेले बताए । शुक्रबारदेखि शुरु भएको मेला पुष २८ गतेसम्म जारी रहने आयोजकले जनाएको छ ।

विदेशीले बजार कब्जा ग¥यो ः मन्त्री लम्साल

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले नेपाली बजार विदेशीले कब्जा गरेको बताएका छन् । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको ‘राष्ट्रिय औद्योगिक ब्यापार मेला २०७६’ को शुक्रबार उद्घाटन गर्दै मन्त्री लम्सालले विदेशीको कब्जाबाट नेपाली बजार मुक्त गर्नुपर्ने बताए । हाम्रो बजार विदेशीले कब्जा गरेको छ,‘उनले भने,‘यसबाट मुक्त गर्न सबै नेपाली उत्पादनमा जोडिन आवश्यक छ ।’ उनले विदेशीले बजार कब्जा गर्दा व्यापार घाटा बढेको बताए । हामी पराश्रित भयौं,‘उनले थपे,‘हामी किनेर खाइरहेका छौं, तर खेत बाँझो छ, श्रम खेर गइरहेको छ ।’ उनले उत्पादनमा नजोडिएसम्म रोजगारी बृद्धि नहुने र समृद्धीपनि प्राप्त नहुने बताए । समृद्धीका लागि उत्पादनमा जोडिनुपर्छ,‘उनले भने,‘बाँझो खेतमा खेती गर्नुपर्छ, श्रमलाई सदूपयोग गर्नुपर्छ ।’ कमसल मालले बजार कब्जा गरेको भन्दै उनले यसबाट मुक्त हुन अर्गानिक र गुणस्तरि सामान उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले उत्पादित सामग्रीको प्याकेजिङ, रिफाइनिङ, बजारीकरणलगायत गर्न सरकार र नीजि क्षेत्रबीच सहकार्य जरुरी रहेको औंल्याए ।

मन्त्री लम्सालले क्लव, संघसंस्थाले आयोजना गर्ने मेलालाई सरकारले नै नियमन गरेर सञ्चालन गर्नुपर्ने बताए । त्यसका लागि सरकार लागिरहेको उनको भनाई थियो ।

मन्त्री लम्सालले यस वर्ष जसरीपनि लगानी सम्मेलन गरेरै छाड्ने उद्घोष गरे । अघिल्लो साल नै गर्ने भनिएको लगानी सम्मेलन विविध कारणले रोकिएको भन्दै उनले यस वर्ष त्यसलाई सफल पारेरै छाड्ने बताएका हुन् । लगानी सम्मेलन गरेर गण्डकी प्रदेशका गौरवका आयोजनाहरुको लागि लगानी जुटाउने प्रदेश सरकारको तयारी रहेको उनले स्पष्ट पारे ।

गण्डकी प्रदेश सांसद तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विन्दुकुमार थापाले नेकपाको सरकार नीजि क्षेत्रमैत्री नभएको आरोप लगाए । उनले बढ्दो वैंक ब्याज, करलगायतका कारण लगानीको वातावरण नबनेको र लोनको डिमाण्डसमेत हुननसकेको उनले दाबी गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइरालाले उत्पादित सामग्रीको प्रवद्र्धनका लागि मेला सहायकसिद्ध हुने बताए ।

You might also like

Comments are closed.