राष्ट्र बैंकले ग¥यो दमौलीमा पूर्व बजेटकालीन अन्तरक्रिया

तनहुँ, २९ फागुन
नेपाल राष्ट्र बैेंक अनुसन्धान विभागले बुधवार दमौलीमा वित्तीय सरोकारवालाहरुसँग पूर्व बजेटकालीन अन्तरक्रिया गरेको छ ।
आर्थिक वर्ष २०७६÷०७७को बजेटले सम्बोधन गर्नुपर्ने विषयहरुको बारेमा राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्ष देशभरका सरोकारवालहरुसँग राय, सुझाव संकलन गरी नेपाल सरकार समक्ष पूर्वबजेटकालीन प्रतिवेदन पेश गर्ने गरेको छ । कार्यक्रममा जिल्ला समन्वय अधिकारी प्रेमराज गिरीले पर्यटन, जलस्रोत र कृषिलाई विशेष प्रथामिता दिनुपर्नेमा जोड दिए । राजनीतिक स्थीरताको अवस्थामा विकासका प्रशस्त सम्भावना हुने चर्चा गर्दै गिरीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आग्रह गरे । नेपाली युवाहरुले विदेश गएर कमाएको पनि भौतिक विलासितामा खर्च गर्ने प्रवृत्ति बढ्दै गएकाले आर्थिक समृद्ध नभएको उनले टिप्पणी गरे ।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले ,  दक्ष जनशक्ति देशमै टिकाउन सक्ने खालका नीति तथा कार्यक्रमको आवश्यकता औँल्याए । “सधै निर्यात गरेका वस्तुहरुको व्यापार गरेर मात्र व्यापार घाटा न्युनिकरण हुदैन्, अब उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्छ र व्यवसायी बन्नुपर्छ” उनले भने । कम्तीमा पनि एउटा प्रदेशलाई एक उत्पादनमा आत्मानिर्भर बनाउनुपर्नेमा उनले जोड दिए । सोही अवसरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले हिजोको सरकारले सम्बोधन गरेका बहुवर्षीय योजनाहरु अलपत्र हुदाँ काम गर्न कठिन भएको बताए । “विगतमा थालेका योजनाहरु सर्वत्र अलपत्र छन यी योजनाहरु स्थानीय तहको बजेटलले सम्बोधन गर्न पनि सक्दैन” उनले भने ।

कार्यक्रममा अनुसन्धान विभागका निर्देशक दीर्घबहादुर रावलले मुलुकको आर्थिक स्थिती, गण्डकी प्रदेशको आर्थिक स्थिती, आगामी बर्षको बजेट तर्जुमाको स्थिती लगायतका विषयमा प्रस्तुती राखेका थिए । सोही क्रममा रावलले देशको कुल गर्हास्थ उत्पादनमा १०.५ प्रतिशत गण्डकी प्रदेशको हिस्सा रहेको जानकारी दिए । उनका अनुसार देशको समग्र प्रतिव्यक्ति आय १ हजार १२ युएस डलर रहेकोमा गण्डकी प्रदेशको प्रतिव्यक्ति आय १ हजार २१ डलर रहेको छ । त्यस्तै गण्डकी प्रदेशमा १४.९ प्रतिशत मात्र जनसंख्या गरिबीको रेखामुनी रहेको छन् । प्रदेशको ११ जिल्लाका ८५ वटै स्थानीय तह मध्ये ८२ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिती रहेको उनले जानकारी गराए ।
उनका अनुसार गण्डकी प्रदेश साहसिक र ग्रामीण पर्यटनका लागी मुलुककै प्रमुख गन्तव्यको रुपमा रहेको छ । यहाँ अन्नपुर्ण बेसक्याम र पदमार्ग, बन्दीपुर, घान्द्रुक, घलेगाँउ, शिरुवारी, ढोरपाटन सिकार आरक्षण, सराङ्गकोट, मुक्तिनाथ, गोरखा दरबार लगायतका क्षेत्रहरुमा पर्यटनको उच्च सम्भावना रहेको छ ।

त्यस्तै देशकै सबैभन्दा बढी उर्जा उत्पादन हुने तथा सम्भावना समेत उच्च रहेको रावलले जानकारी दिए । निर्माणधीन १४० मेघावाट तनहुँ हाइड्रो, ४९.५ मेघावाटको सुपर दोर्दी ख, ४४ मेघावाट क्षमताको मादी, बुढीगण्डकी लगायत अन्य ३० भन्दा बढी जलविद्युत परियोजना सञ्चालन भएका र केही सञ्चालन हुने क्रममा रहेको उनले तथ्याङक प्रस्तुत गरेका थिए ।

राष्ट्र बैंकले नेपाल सरकारलाई आर्थिक सल्लाहकारको रुपमा प्रत्येक वर्ष आर्थिक तथा वित्तीय विषयमा  पूर्व बजेटकालीन प्रतिवदेन प्रस्तुत गर्न देशभरका सरोकारवालाहरुको राय र समस्या बुझने उद्देश्यले कार्यक्रम आयोजना गरेको उप निर्देशक नविना ढकालले जानकारी दिइन् ।
कार्यक्रममा स्थानीय तहमा कृषि, उद्योग, जलस्रोत पर्यटन, पूर्वाधार विकासका क्षेत्रमा देखा परेका समस्या, चुनौती र बजेटले सम्बोधन गर्नुपर्ने विषयमा जिल्लास्थित विषयगत कार्यालयका प्रतिनिधिहरु, तनहुँ उद्योग वाणिज्य संघ तथा वित्तीय संघसंस्थासँग छलफल गरी राय सुझाव संकलन गरिएको थियो ।

राष्ट्र बैंक पोखरा शाखाका प्रमुख पोमनाथ गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रम  मित्र तिमल्सेनाले सञ्चालन गरेका थिए ।

You might also like

Comments are closed.