राससकर्मी वास्तोलालाई आदित्यध्वज जोशी स्मृति पुरस्कार

पोखरा, ५ फागुन । राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयका समाचारदाता हरि बास्तोलालाई आदित्यध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन, राससको आइतबार बसेको बैठकले बास्तोलालाई पुरस्कृत गर्ने निर्णय गरेको संगठनका संयोजक प्रेमप्रसाद उपाध्यायले जानकारी दिए ।

राससको ५९ औं वार्षिकोत्सवका अवसरमा केन्द्रीय कार्यालय काठमाडौंमा हुने समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बास्तोलालाई ५ हजार ५५५ रुपैयाँ नगद सहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गर्ने कार्यक्रम छ ।

बास्तोला २०४५ सालदेखि निरन्तर रुपमा रासस पोखरा कार्यालयमा सेवारत छन् । यस अघि राससको वर्ष उत्कृष्ट आलेख पुरस्कारका साथै नेपाल पत्रकार महासंघ एवम् प्रेस सम्बद्ध संघ संस्थाबाट उनी सम्मानित भइसकेका छन् ।

राससका व्यवस्थापक रहेका स्व.आदित्यध्वज जोशीको काठमाडौं नयाँसडकस्थित घरबाट २०१८ फागुन ७ गतेदेखि राससको सेवा सुरु भएको थियो । हाल उक्त स्थानमा जोशी शपिङ सेन्टर छ । संगठनले २०६६ सालदेखि सो पुरस्कार स्थापना गरेको हो ।

You might also like

Comments are closed.