पोखरा । सञ्जिवनी दिदीबहिनी केन्द्र नेपाल राहत वितरणमा सक्रिय बनेको छ । यसैक्रममा पोखराका ६६ परिवारलाई संस्थाले आइतबार राहत वितरण गरेको छ । यूकेबाट अन्तिम गुरूङको संयोजकत्वमा संकलित दोस्रो चरणको राहत पोखरामा वितरण गरिएको हो ।
गुरुङको संयोजकत्वमा संकलित ९४ हजार ७ सय २० रुपैयाँ र संजिवनी दिदीबहिनी केन्द्र नेपालको नाममा प्राप्त सहयोग रकम २६ हजार रुपैयाँसहित १ लाख २१ हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालकी अध्यक्ष बिना गुरुङले जानकारी दिइन् ।
पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको समन्वय, प्रहरी प्रशासनको सहयोगमा लकडाउन पीडित विपन्न वर्गका परिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु बितरण गरिएको हो । अपाङ्गता भएका तथा एकल महिला ३० जना, अस्वस्थ्य तथा बहिरा २० जना, मजदुर परिवार १६ परिवार सहित ६६ परिवारलाई राहत वितरण गरिएको गुरुङले बताइन् ।
समस्याग्रस्त परिवारलाई पोखराको आधारभूत माविमा एक सातासम्म खाना खुवाउने व्यवस्थासमेत मिलाइएको गुरुङले जानकारी दिइन् । कार्यक्रममा वडा अध्यक्ष रुद्रनाथ बराल, महिला सिप विकास तालिम केन्द्रकी सञ्चालिका रामकली खड्का, रेडियो जननीका अध्यक्ष मीलन थापा लगायतले राहत वितरणले विपन्न वर्गका परिवारलाई राहत पुगेको बताएका थिए । सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालले यस अगाडि पनि विभिन्न ठाउँमा राहत वितरण गरिसकेको छ ।
Comments are closed.