रिस्सो युनिभर्सिटीसँग पुलिस पराजित

सन्देश श्रेष्ठ

पोखरा, २२ माघ । जापानको रिस्सो युनिभर्सिटी मनकामना केबलकार पोखरा कपको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा जारी प्रतियोगितामा मंगलबार नेपाल पुलिस क्लवलाई १–० गोल अन्तरले स्तब्ध पार्दै रिस्सो युनिभर्सिटी जापान पोखरा कपको सेमीफाइनलमा प्रवेश गरेको हो । जापानीजन टिमका लागि हिरोमु टानाकाले निर्णायक गोल गरेका हुन् । उनले खेलको १९ औं मिनेटमा नासुकी टकेडाको क्रसमा वान टच प्रहार गर्दै जाली चुमाएका थिए ।

मंगलबारको खेलमा विभागीय टोली नेपाल पुलिस क्लव पहिलो हाफमा जापनीज टोली निरिह देखियो । एकतर्फी पेलेको खेलमा जापानले आधा दर्जन बढी गोल गर्ने अवसर खेर फाल्दा नेपाल पुलिस क्लवले एउटापनि गोल गर्ने अवसर सृजना गर्न सकेन । शुरुवातदेखी नै आक्रामक खेल खेलेको जापनीज टोली खेलको १० औं मिनेटमै गोल गर्ने अवसरबाट चुक्यो । जापनीज टीमका डाइची ओगावाले बायाँ साइडको करीब २० यार्ड टाढाबाट प्रहार गरेको कडा प्रहार बिपक्षी गोलकिपर शत्रुधन चौधरीले मुश्किलले पञ्च गरेर बाहिर फाले ।

खेलको १८ औं मिनेटमा हिरोमु टानाकाले पेनाल्टी एरियामा अनमार्क हुँदा पाएको अवसर गोलमा परिणत गर्न सकेनन् । उनले गरेको फितलो प्रहार सेकेण्ड बार हुँदै बाहिरियो । २५ औं मिनेटमा डाइची ओगावाले दिएको पासमा टाकुया हितोमीले गरेको कडा प्रहार पोल भन्दा थोरै माथीबाट बाहिरियो । ३८ औं मिनेटमा यासुटाका सुजुकीले गरेको हेडर गोल बिपक्षी गोलकिपर बिट भएको अवस्थामा कप्तान बिक्रम धिमालले गोल लाइनबाट क्लियर गरे । ४२ औं मिनेटमा नासुकी टकेडाको क्रसमा डाइची ओगावाको हेडर बिपक्षी गोलकिपर शत्रुधन चौधरीले पञ्च गरेर पोल माथीबाट बाहिर फाले ।

पहिलो हाफमा कमजोर देखिएको नेपाल पुलिस क्लवले दोश्रो हाफमा भने सुधारिएर प्रदर्शन ग¥यो । पहिलो हाफमा एउटा पनि गोल गर्ने अवसर सिर्जना गर्न नसकेको पुलिसले दोश्रो हाफमा भने २ पटक गोल गर्ने अवसर खेर फाल्यो । दोश्रो हाफमा आक्रमक रणनीति लिएर मैदानमा उत्रिएको पुलिसले ६९ औं मिनेटमा खेल बराबरी गर्ने मौका गुमायो । पुलिसका लागि सब्ष्टीच्यूट खेलाडी भरत साह गोल गर्नबाट चुकेका हुन् । उनले सब्ष्टीच्यूट खेलाडी हरि कठायतले प्रहार गरेको बल बिपक्षी गोलकिपर मिट्सुमोरीबाट रिबाउण्ड भएको अवस्थामा खाली पोष्टमासमेत बललाई गोलपोष्टको दिशा दिन सकेनन् । त्यस्तै ७६ औं मिनेटमा निरकुमार राईपनि गोल गर्न चुके । उनले गरेको कडा प्रहारमा बिपक्षी गोल किपर मिट्सुमोरी बाधक बने ।

jutta mela

बिजयी जापनीज टिम रिस्सो युनिभर्सिटीका टकेश टोकाइरिनले यात्रामा भएको थकानका बाबजुद आफ्ना खेलाडीले बहादुरीपूर्ण प्रदर्शन गर्दा जित निस्केको प्रतिक्रिया दिए । उनले पहिलो हाफमा आफ्ना खेलाडीले ज्यान दिएर खेलेका कारण दोश्रो हाफमा थकित भएका कारण केहि दवाबमा परेको बताए । पोखराको वातावरणमा घुलमिल हुन नसक्दा मंगलबार सोंचेजस्तो खेल्न नसकेको भन्दै उनले अबको खेलमा आफ्नो असली खेल देखाउने बताए ।

पराजित नेपाल पुलिस क्लवका प्रशिक्षक अनन्तराज थापाले पहिलो हाफमा बिपक्षीको खेल बुझ्नै नपाई खोल खानुपर्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए । सम्हालिन नपाउँदै गोल खानुलाई खेलको टर्निङ प्वाइन्ट भन्दै उनले दोश्रो हाफमा सुधारिएर प्रदर्शन गर्दै उत्कृष्ट जापनीज टिमलाई दवाब दिन सकेको बताए । उनले जापनीज टिम निकै उत्कृष्ट रहेको र यो खेलबाट आफू र आफ्ना खेलाडीले मोडर्न गेम कसरी खेलिन्छ भनेर सिक्ने अवसर पाएको बताए । उनले भने,‘जापनीज टिम निकै उत्कृष्ट रहेछ, उनीहरुको खेल बुझि सकेपछि दोश्रो हाफमा हामीले खेलमा सुधार ल्याएपनि हार टार्न सकेनौं, यस खेलबाट हामीले सिक्ने अवसर पायौं, मोडर्न गेम कसरी खेलिन्छ भनेर बुझ्न पायौं ।’ उनले यस्ता उत्कृष्ट टीम अन्य प्रतियोगितामा पनि ल्याउनुपर्नेसमेत बताए ।

प्रतियोगितामा निर्णायक गोलका लागि एसिस्ट गर्ने जापनीज खेलाडी नासुकी टकेडा म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरियो । प्रतियोगिता अन्तर्गत बुधबार अन्तिम क्वाटरफाइनल खेलमा लिग बिजेता मनाङमस्र्याङ्दी र ब्रिगेड ब्वाइज क्लव प्रतिष्पर्धामा उत्रिनेछन् ।

कास्की जिल्ला फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा माघ २६ गतेसम्म हुने प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लव, संकटा क्लव, थ्रीस्टार क्लव, नेपाली सेनाको त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको एपिएफ क्लव, हिमालयन शेर्पा क्लव, च्यासल क्लव, ब्रिगेड ब्वाईज क्लव रहेका छन् । त्यसैगरी आयोजकको पोखरा ११, रिस्सो युनिभर्सिटी जापान र डफिन्स टिम फेमेली क्यामरुन प्रतियोगितामा सहभागि रहेको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बताए ।

प्रतियोगिताको बिजेताले उपाधिसहित ७ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्ने एन्फा कास्कीले जनाएको छ । उपबिजेताले भने ४ लाख ५ हजार प्रदान गरिने एन्फाका महासचिव रमेश कार्कीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिने उनले बताए ।

You might also like

Comments are closed.