रुपाका ३ सय घरमा सनराइज बैंकको वित्तीय सांक्षरता

पोखरा । सनराइज बैंक लि.ले कास्कीको रुपा गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिका र र स्कूल अफ विजनेस, पोखरा विश्वविद्यालयको सहकार्यमा कार्यक्रम गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारको ‘समृद्धिसँग जोडौं नाताः सबै नेपालीको बैंक खाता’ अभियान कार्यक्रमलाई सफल बनाउन रुपा गाउँपालिका वडा नं. २, थुम्कीमा कार्यक्रम गरिएको बताइएको छ । करिव ३ सय घरहरुमा खोलौं बैंक खाता अभियान सञ्चालन गरिएको सनराइज बैंकका गण्डकी प्रदेशका प्रादेशिक प्रमुख रवीन्द्र केसीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमले खाता खोल्ने र बचत गर्ने बानीको विकास गर्ने बताए । ‘ग्रामीण क्षेत्रलाई समेत बैंकिङ सेवा सुविधा प्रदान गर्न बैंकको शाखा गाउँपालिकामा स्थापना भएकाले यसलाई अवसरको रुपमा लिनुपर्छ,’ उनले भने । घरमा निस्क्रिय रुपमा रहेको साना साना बचत रकमलाई समेत बैंकमा जम्मा गर्दा हुने बचतको बानी एवं आवश्यकता अनुसार साना, घरेलु एवं कृषि, पशुपालन व्यवसायहरुलाई व्यावसायिक रुपमा संचालन गर्न बैंकिङ सहयोग मार्फत आर्थिक उन्नती गरी समृद्धिको ढोका खोल्न सकिने उनले बताए ।

स्कूल अफ विजनेस पोखरा विश्वविद्यायलका डाइरेक्टर डा. रवीन्द्र घिमिरेले पोखरा विश्वविद्यालयका विद्यार्थीहरुलाई समेत ग्रामीण क्षेत्रको आर्थिक अवस्था वारेमा व्यवहारिक ज्ञान उपलब्ध हुने अवसरको रुपमा नेपाल सरकारको अभियानमा सहभागी भएको बताए । कार्यक्रममा रुपा गाउँपालिका उपाध्यक्ष लाल सुभा गुरुङ, कार्यालयका कार्यकारी अधिकृत विष्णु प्रसाद पोखरेल, वडा नं. २ का कार्यवाहक अध्यक्ष हिता कूमारी रुपाखेती लगायतले बोलेका थिए ।

बैंकका प्रादेशिक प्रमुख रवीन्द्र केसीले बैंकले नेपाल सरकारले लिएको अभियानलाई सफल बनाउन ग्रामीण क्षेत्रमा निरन्तर रुपमा सेवा दिई राखेको बताए । ‘सबै नेपालीको बैंक खाताको लागि रुपाँ गाउँपालिकाका अन्य वडाहरुमा समेत यो कार्यक्रमलाई निरन्तर रुपमा संचालन गरिनेछ,’ उनले भने ।

कार्यक्रम सञ्चालन बैंकका देउराली शाखाका शाखा प्रमुख सुनिल ध्वज पन्तले गरेका थिए । पोखरा न्यूरोड शाखाका शाखा प्रमुख नितेश रेग्मीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय समाजसेवी एवं पोखरा विश्वविद्यालयका विद्यार्थी गरी करिव ७० जना व्यक्तिहरु सबैं घरघरमा गई वित्तीय सांक्षरता एवं बैंक खाता खोल्ने अभियान संचालन गरिएको हो ।

You might also like

Comments are closed.