आर्थिक आवाज
पोखरा । नेपाल रेडियोलोजिकल सोसाइटी गण्डकी प्रदेश समितिले दसैं, तिहार, नेपाल संवत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा गण्डकी प्रदेश स्तरिय रेडियोलोजी भेला सम्पन्न गरेको छ ।
सोसाइटीका गण्डकी प्रदेश समिति अध्यक्ष उदयकान्त तिवारीको समापतित्वमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले व्यावसायिक एकता आवश्यक रहेको बताए । ‘रेडियोग्राफी पेशाकर्मीहरु आफ्नो हकहितका लागि एकताबद्ध एवं सक्रिय भएर लाग्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा सोसाइटीका केन्द्रीय कोषाध्यक्ष डा. श्याम पराजुली, प्रदेश समितिका विशेष सहयोगी जगन्नाथ गौतम लगायतले बोलेका थिए ।
सोसाइटीका प्रदेश सभापति उदयकान्त तिवारीले आगामी दिनहरुमा रेडियोग्राफी स्वास्थ्यकर्मीहरुको हकहितका लागि सोसाइटीले प्रभावकारी कदम चाल्ने बताए ।
प्रदेश समितिका सचिव विमल क्षेत्रीले सञ्चालन गरेको सो कार्यक्रममा प्रदेश समिति सदस्य कृष्ण के.सी.ले स्वागत मन्तव्य राखेका थिए ।
सोही अवसरमा सोसाइटीको गण्डकी प्रदेश स्तरीय भेला एवं छलफल कार्यक्रम पनि सम्पन्न भएको छ । ‘हक, अधिकार र सुरक्षाका लागि पेशागत एकताः गुणस्तरीय एवं सुरक्षित रेडियोलोजी सेवा हाम्रो प्रतिवद्धता’ नारामा केन्द्रित सो भेलाले पेशागत शुद्धीकरणका लागि विभिन्न चरणका दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको सोसाइटीका प्रदेश सचिव विमल क्षेत्रीले जानकारी दिए ।
कार्यक्रममा पोखरा लगायत गण्डकी प्रदेशका विभिन्न जिल्लाका अस्पतालहरुमा कार्यरत रेडियोग्राफी स्वास्थ्यकर्मीहरु एवं जिल्ला प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।