रेडियो अन्नपुर्णको १७ वार्षिकोत्सव मनाइयो, न्यौपाने पुरस्कृत र सांसद गुरुङ सम्मानित

पोखरा, १४ वैशाख

अन्नपुर्ण ९३.४ मेगाहर्जको १७ औँ वार्षिकोत्सव एक भव्य कार्यक्रमको आयोजना गरी मनाइएको छ । वार्षिकोत्सव आयोजित कार्यक्रमकाबिच रेडियोका उत्कृष्ट कर्मचारीको रुपमा यसवर्ष काठमाण्डौ प्रतिनिधि नरहरी न्यौपाने पुरस्कृत भए । उनलाई सम्मान पत्रको साथमा नगद १० हजार एक सय ११ रुपैयाले पुरस्कृत गरिएको हो । रेडियो अन्नपुर्णका संस्थापक अध्यक्ष एंव पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, रेडियोका प्रवन्ध निर्देशक सुनयना पालिखे, प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले उनलाई पुरस्कार हस्तान्तरण गरेका थिए । काठमाण्डौं प्रतिनिधि रहेका न्यौपाने विगत ८ बर्ष देखि रेडियो अन्नपुर्णमा आवद्ध छन् ।

यसैगरी वार्षिकोत्सवकै अवसरमा रेडियोका पूर्व कर्मचारी एवं प्रदेश नम्बर ४ का सांसद तथा मिना गुरुङ प्रदेश साँसदमा निर्वाचित भएकोमा सम्मान गरियो । सम्मान ग्रहण गर्दै सांसद गुरुङले रेडियो अन्नपुर्णमा कार्य गर्दाको समयलाई स्मरण गरिन् । आफ्नो कार्यकाललाई सफल बनाउन सञ्चार क्षेत्रको भुमिका महत्वपुर्ण हुने बताउदै सञ्चार क्षेत्रलाई साथमा लिई अगाडी बढ्ने बताइन् ।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले रेडियोका कर्मचारीको हौसला बढाउन बार्षिकोत्सवमा वेष्ट स्टाफ अफ दी इयरबाट पुरस्कृत गर्ने गरिएको बताए । पुरस्कारले सबै कर्मचारीको मनोबल बढ्ने उनको भनाई थियो ।

प्रवन्ध निर्देशक सुनयना पालिखेको अध्यक्षतामा सम्पन्न भएको सम्मान समारोहमा पर्यटन व्यवसायि विप्लप पौडेल, गोविन्दराज पहारी, नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, डा. माया लामा लगायतले रेडियोले समाजमा खेलिरहेको योगदानको बारेमा चर्चा गरेका थिए । आवाज विहिनको आवाज बन्दै रेडियोले सबैलाई सुसुचित गरेकोमा उनीहरुले मुक्तकण्ठले प्रशंसा गरे ।

वार्षिकोत्सवको अवसरमा आयोजित सांगितीक कार्यक्रममा अन्नपुर्णकर्मी सन्तोस बस्याल, जुना थापा मगर, सरला लामिछाने, दिल प्रसाद गुरुङ लगायतले आ–आफ्नो प्रस्तुती राखे । वि.स. २०५८ बैशाख १२ गते अक्षय तृतियको दिनबाट प्रसारण आरम्भ गरेको रेडियो क्रेज पोखरामा निरन्तर रुपमा बढ्दै गएको छ । रेडियोले विगतदेखिनै विभिन्न सामाजिक कार्यमा अगुवाई गर्दै समाजलाई सकारात्मक दिशामा डो¥याउन विशेष भुमिका खेल्दै आएको छ ।

You might also like

Comments are closed.