लगानी सम्मेलन आजदेखि, गण्डकी प्रदेशका १० परियोजना

सन्देश श्रेष्ठ

पोखरा, १४ चैत । लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने अभियान अन्तर्गत बिदेशी पुँजी भित्राउन लगानी सम्मेलन हुन लागेको हो । नेपालका विभिन्न ७१ वटा राष्ट्रिय गौरवका आयोजनाहरु लगानी सम्मेलनमा लगानीका लागि प्रस्तुत गरिदैछ ।

लगानी सम्मेलनमा गण्डकी प्रदेशका १० वटा योजनाहरु समावेश छन् । सरकारले आज र भोलि हुने लगानी सम्मेलनमा गण्डकी प्रदेशका १० वटा योजनाहरु समावेश हुने भएका हुन् । यी योजनाहरु गण्डकी प्रदेश सरकार र निजी क्षेत्रले प्रस्तुत गर्ने तयारी गरेको गण्डकी प्रदेश सरकारले जनाएको छ । सम्मेलनमा कृषि परियोजनादेखि केवलकार र रेल सेवासम्मका योजना प्रस्तुत गर्ने तयारी गरिएको लगानी बोर्डका सूचना अधिकारी राजु गुरागाईंले जानकारी दिए । सम्मेलनमा गण्डकी प्रदेशले ६ वटा र नीजि क्षेत्रले ४ वटा योजना प्रस्तुत गर्ने उनले बताए ।

सम्मेलनमा गण्डकी प्रदेश सरकारले पोखरा–काठमाडौं–लुम्बिनी रेल सेवा सञ्चालन, कास्कीको हेम्जामा एकीकृत कृषि परियोजना, गण्डकी प्राविधिक विश्व विद्यालय, तनहुँको दमौलीमा बहुउद्देश्यीय पर्यटन परियोजना, मस्र्याङ्दी हाइड्रो पावर, दमौलीमा बहुउद्धेश्यीय पर्यटन परियोजना, मुक्तिनाथ दर्शक केबलकार परियोजना र मनाङमा स्की रिसोर्ट सञ्चालन प्रस्तुत गर्ने तयारी गरिएको छ । सम्मेलनमा निजी क्षेत्रले गण्डकी प्रदेशका अन्नपूर्ण सिक्लेस केवलकार परियोजना, कालीगण्डकी गर्ज, मध्य कालीगण्डकी र म्याग्दीखोला जलविद्युत परियोजना प्रस्तुत गर्ने तयारी गरेको बताइएको छ । लगानी सम्मेलनमा सरकार र निजी क्षेत्रले गर्न सक्ने बाहेकका अन्य ठूला योजनाहरु मात्रै प्रस्तुत गर्ने तयारी गरेको बुझिएको छ । सम्मेलनमा ठूला पुँजीका बहुउद्धेश्यी परियोजनाहरु मात्रै प्रस्तुत गर्न लागिएको लगानी बोर्डका सूचना अधिकारी राजु गुरागाईंले बताए ।

लगानी सम्मेलनमा प्रस्तुत हुने पोखरा–काठमाडौं–लुम्बिनी रेल सेवा सञ्चालन परियोजना प्रस्तुत गरिनेछ । जुन बहुउद्धेश्यीय परियोजना हो । यो केन्द्रीय सरकारले प्रस्तुत गर्दैछ । यो परियोजना सञ्चालनका लागि करिब २ हजार ८ सय ३० मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । चुच्चे रेलको तस्वीर राखेर रेल परियोजनाको आह्वान पत्र तयार गरिएको छ । यो परियोजना १० वर्षे अनुभवी कम्पनीलाई निर्माणको जिम्मा दिन सकिने उल्लेख छ । यो परियोजना यसअघि नै नेपाल सरकारले रेल मन्त्रालयमार्फत अघि सारिसकेको परियोजना हो । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा बन्ने यो रेलमार्ग १८७ किलोमिटर लामो हुने बताइएको छ । रेल परियोजनामा काठमाडौंदेखि पोखरासम्मका विभिन्न ४४ वटा भूमिगत सुरुङ बनाइनेछ छ । रेल मार्गका लागि तनहुँको मादी नदीमा सबैभन्दा लामो १ हजार २ सय ९५ मिटर लामो पुलसमेत बनाउनुपर्ने उल्लेख छ ।

गण्डकी प्रदेश सरकारको तर्फबाट कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर २५ मा हेमजामा निर्माण गर्ने उद्धेश्यसहित एकीकृत कृषि परियोजना पनि लगानी सम्मेलनमा प्रस्तुत गर्ने तयारी गरिएको छ । यो परियोजनाका लागि ५.५३ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको छ । बहुउद्धेश्यीय यो परियोजनाका लागि गण्डकी प्रदेश सरकारले जग्गा उपलब्ध गराउने उल्लेख छ । परियोजना अन्तर्गत कोल्ड स्टोर, कृषि उत्पादनको प्रशोधन केन्द्रदेखि बिक्री केन्द्रसम्म राख्नेगरी एकीकृत परियोजना बनाउने उल्लेख छ । हेमजामा बनाउने प्रस्ताव गरिएको यो परियोजना अन्तर्गतको कोल्ड स्टोर ४ हजार मेट्रिक टन क्षमताको हुने जनाइएको छ । परियोजना अन्तर्गत फलफूलको प्रशोधन, प्याकेजिङ तथा बिक्री केन्द्रसमेत बनाउने प्रस्ताव गरिएको छ । यस परियोजना अन्तर्गत मनाङ र मुस्ताङको स्याउ, पोखरेली जेठो बूढो धान, बागलुङ र म्याग्दीमा पाइने सिमी, हेमजा, मुस्ताङ, म्याग्दीको आलुलगायतलाई ब्राण्डिङ गर्ने भनिएको छ । सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार नै सञ्ंचालन गर्नेगरी प्रस्ताव गरिएको यो परियोजना ३० वर्षका लागि सम्झौता हुने उल्लेख छ । सम्झौता अवधी सकिएपछि यो परियोजना निर्माण कम्पनीले सरकारलाई बुझाउनुपर्ने भनिएको छ ।

लगानी सम्मेलनमा गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्राविधिक विश्वविद्यालय स्थापना गर्ने प्रस्तावपनि प्रस्तुत हुनेछ । यो परियोजना प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि समावेश छ । प्रादेशिक विश्वविद्यालय बनाउने उद्धेश्यले स्थापना गर्न लागिएको यो विश्वविद्यालयको मुख्य उद्धेश्य विभिन्न प्राविधिक क्षेत्रमा जनशक्ति उत्पादन गर्ने रहेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा बनाउने प्रस्ताव गरिएको यो परियोजनाका लागि ६१ मिलियन अमेरिकी डलरको प्रस्ताव गरिएको छ ।

लगानी सम्मेलनमा सरकारले प्रस्तुत गर्ने परियोजना मध्ये गण्डकी प्रदेशबाट मध्य कालीगण्डकी जलविद्युत आयोजनापनि एउटा हो । यो ५३ मेगावाट क्षमताको जलविद्युत आयोजना हो । म्याग्दी जिल्लाको तातोपानीमा बनाउन प्रस्ताव गरिएको यो परियोजना हाइड्रो सपोर्ट प्रालिले गरेको अध्ययन प्रतिवेदन अनुसार ८५ मिलियन डलर लागत लाग्नेछ । उक्त जलविद्युत परियोजना सन् २०२३ मै सम्पन्न गर्नेगरी काम अघि बढाउन प्रस्ताव गरिएको छ ।

लगानी सम्मेलनमा निजी क्षेत्रको तर्फबाट कालिगण्डकी गर्ज जलविद्युत परियोजना पनि प्रस्तुत गरिदै छ । मुस्ताङको थसाङमा बनाउन प्रस्ताव गरिएको यो परियोजना सम्पन्न गर्नका लागि २६० मिलियन लागत लाग्ने अनुमान गरिएको छ । यो परियोजनाबाट उत्पादित बिजुली, दाना सब स्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ ।

लगानी सम्मेलनमा गण्डकी प्रदेशको तर्फबाट तनहुँको दमौलीमा बहुउद्धेश्यीय पर्यटन परियोजना पनि प्रस्तुत गरिएको छ । वाटर बेस टुरिजम विकास गर्ने उद्धेश्यसहित यो परियोजना अगाडि सारिएको जनाइएको छ । यो परियोजना अन्तर्गत ताल बनाउने भनिएको छ । जसका लागि मादी नदीमा चेकड्याम निर्माण गर्ने उल्लेख छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर ३ र ५ लाई भेट्नेगरी चेकड्याम निर्माण गरिनेछ । ताल वरपर अन्य विभिन्न प्रकारका योजनाहरु पनि सञ्चालन गरिने भनिएको छ । ताल वरपर फुटपाथ बनाउने, लाइटिङको प्रयोग गरेर आकर्षक बनाउने, फुटपाथको बिच बिचमा बस्नका लागि फलैँचा निर्माण गर्ने, ठाउँठाउँमा सार्वजनिक कला निर्माण गर्ने उल्लेख छ । यसैगरी स्पिरिचुअल कल्चर थिम पार्क, म्यूजिकल फाउन्टेन, मेडिटेसन सेन्टर, बोटानिकल गार्डेन, वाटर पार्क, मिनि गल्फलगायतपनि बनाएर आकर्षक बनाउने परियोजनाको लक्ष्य रहेको जनाइएको छ ।

म्याग्दीखोला जल विद्युत आयोजनापनि लगानी सम्मेलनमा प्रस्तुत गरिएको छ । यस आयोजनाबाट ५७.३० मेगावाट विद्युत उत्पादन हुने भनिएको छ । कुनावान र म्याग्दी खोलालाई थुनेर निर्माण गरिने यो आयोजना निर्माणका लागि ९६ मिलियन अमेरीकी डलर खर्च हुने अनुमान गरिएको छ ।

यसैगरी मस्र्याङ्दी हाइड्रो पावरपनि लगानी सम्मेलनमा प्रस्तुत गरिएको छ । मनाङमा निर्माण गरिने मस्र्याङ्दी हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट निर्माणका लागि ६२.१ मिलियन अमेरीकी डलर खर्च लाग्ने अनुमान गरिएको छ । मनाङमा स्की रिसोर्ट पनि लगानी सम्मेलनको महत्वपूर्ण योजना मध्येको एक योजना रहेको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्की रिसोर्ट सञ्चालन गर्न लागिएको यस परियोजनामा बाह्रै महिना हिमालको मनोरम वातावरणमा पर्यटकलाई सेवा प्रदान गर्न सकिने उल्लेख छ । रिसोर्ट प्राङ्गणमै स्कि प्रतियोगितासमेत गर्न सकिने गरी परियोजना निर्माण गर्ने भनिएको छ । यो रिसोर्ट ४० कोठे क्षमताको हुनेछ । रिसोर्ट र स्की प्रतियोगिता स्थल निर्माणका लागि १०० मिलियन अमेरिकी डलर अनुमान गरिएको छ ।

सिक्लेस केबलकार परियोजना लगानी सम्मेलनको अर्को महत्वपूर्ण परियोजना हो । केवलकारसँगै होटल, रेष्टुरेण्ट, पार्किङ सहितका मनोरञ्जनात्मक ठाउँसमेत निर्माण गर्नेगरी परियोजनाको डिजाइन गरिएको छ । ६ हजार ८५० मिटर लामो दुरीको यो केबलकार परियोजना सम्पन्न गर्नका लागि ३१ मिलियन अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ ।

त्यस्तै, मुक्तिनाथ दर्शक केबलकार परियोजना पनि लगानी सम्मेलनमा प्रस्तुत गरिएको छ । यो परियोजना कास्कीको नयाँपुलदेखी केही माथि विरेठाँटीमा यसको स्टेसन रहनेछ । मुक्तिनाथ मन्दिरसम्म जाने आउनेका लागि परिलक्षित गरेर परियोजना निर्माण गर्ने भनिएको छ । यसबाट हिन्दू र बौद्ध दुबै धर्मावलम्वीहरु मुक्तिनाथ मन्दिर जाने भएकाले यो परियोजना उत्कृष्ट परियोजना मध्येको एक भएको जनाइएको छ । चैत १५ र १६ गते काठमाडौंमा हुने लगानी सम्मेलनमा ४० देशका ६२० विदेशी लगानीकर्ताले आउने प्रतिबद्धता जनाएका छन् । नेपाल सरकारले राष्ट्रिय स्तरमै महत्व राख्ने विभिन्न योजनाहरूमा लगानी गर्न लगानीकर्तालाई आग्रहसमेत गर्नेछ । सम्मेलनमा विभिन्न ७१ वटा परियोजनामार्फत ३५ खर्बको लगानीको प्रस्ताव गर्न लागेको बताइएको छ ।

You might also like

Comments are closed.