लाइन काट्दै बक्यौता उठाउदै प्राधिकरण

सुनिता आचार्य
तनहुँ ,२८ फागुन
नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले समयमा विद्युत बक्यौता नबुझाउने ग्राहकको लाइन काटेको छ । प्राधिकरणले चालु आर्थिक बर्षमा बक्यौता नबुझाएका ६ सय ६१ ग्राहकको लाइन काटेको हो । बिद्युत महसुल संकलन विनियमावली २०७३ को विनियम १० अनुसार मिटर रिडिङ्ग गरेको ६० दिनसम्म महशुल नबुझाए विना सुचना जुनसुकै समयमा पनि विद्युत लाईन काट्न पाउने व्यवस्था छ । सोही अधिकार प्रयोग गरी समयमा बक्यौता नबझाउने ग्राहकको लाइन काटिएको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए । ६०औँ दिनसम्म पनि महशुल नतिर्ने ग्राहकको लाइन दैनिक रुपमा काटिएको, उनले बताए । लाइन काटिनेमा बढी घरायसी ग्राहक र व्यापारीहरु छन् । दमौली, थर्पु, डुम्रे, भानु, बन्दीपुर लगायतका क्षेत्रमा लाइन काटिएको वितरण केन्द्रले जनाएको छ ।

लाईन काटेर कारबाही गरिएका ग्राहकले धमाधम बक्यौता रकम बुझाउन थालेका छन् गोशलीले भने । वितरण केन्द्रले चालु आर्थिक बर्षमा ६ सय १६ ग्राहकको लाइन काटेपछि १ करोड ८ लाख ६३ हजार ८ सय ६८ रुपैयाँ बाँकी बक्यौता असुल भएको गोशलीले जानकारी दिए । वितरण केन्द्रबाट अझै १ करोड ५० लाख बक्यौता उठ्न बाँकी रहेको छ । घरायसी तथा व्यापारीक र अन्य क्षेत्रमा १ करोड २० लाख र सडक बत्तीको ३० लाख गरी सो रकम उठ्न बाँकी रहेको गोशलीले जानकारी दिए । उनका अनुसार जिल्लाको डुम्रे, आबुँखैरेनी क्षेत्रमा बढी रमक बक्यौता छ । लाईन काटिने मध्ये ५ सय ३ जनाले बक्यौता बुझाइ सकेको उनले बताए । बक्यौता बुझाउने ग्राहकको लाईन पुन जोडिएको वितरण केन्द्रले जनाएको छ ।

बिद्युत महसुल संकलन विनियमावली २०७३ को विनियमा ७ को उपविनियम ३ अनुसार मिटर रिडिङ्ग गरेको ७ दिनभित्र महसुल बुझाउने ग्राहकलाई २ प्रतिशत छुट दिइन्छ भने ८ देखी २२ दिनभित्र महशुल बुझाएमा विल अनुसारको महशुल लाग्नेछ । मिटर रिडिङ्ग गरेको २३ दिनदेखी ३० दिन सम्म महशुल बुझाएमा ५ प्रतिशत थप दस्तुर लाग्नेछ । त्यस्तै ३१ देखी ४० दिनसम्म महशुल बुझाउनेलाई १० प्रतिशत दस्तुर लाग्नेछ ।

दमौली अस्पतालले ति¥यो बक्यौता
दमौली अस्पतालले लामो समयदेखीको विद्युत महशुल बक्यौता भुक्तानी गरेको छ । धेरै पटकसम्म ताकेता गरेपछि अस्पतालले बाँकी बक्यौता तिरेको वितरण केन्द्रले जनाएको छ । अस्पतालले पुस महिनामा रु. १५ लाख ७२ ४ सय ३५ तिरेको थियो । त्यस्तै फागुनमा २ किस्ता गरी ४ लाख ३६ हजार ९ सय ३५ र १४लाख , ५७ हजार ६५ रुपैयाँ गरी जम्मा ३४ लाख, ५६ हजार ४सय ३५ रुपैयाँ तिरेको बताइएको छ । उक्त रकम बुझाएपछि अस्पतालको नाममा बक्यौता नरहेको वितरण केन्द्रले जनाएको छ ।

You might also like

Comments are closed.