आर्थिक आवाज
पोखरा । नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन क्षत्रीय समिति पोखराले लागु पदार्थ सचेतना तथा डिफेन्स करिअर काउन्सेलिङ कार्यक्रम २०७६ को आयोजना गर्ने भएको छ । एशोसिएसनमा आवद्ध रहेका ट्रेनिङ सेन्टरमा प्रशिक्षणमा रहेका प्रशिक्षार्थीहरुलाई लक्षित गरी आगामी साउनको २२ गते पोखरामा लागु पदार्थ सचेतना तथा डिफेन्स करिअर काउन्सेलिङ कार्यक्रमको आयोजना गर्न लागेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
भर्ती हुने आशामा युवाहरुले पढाइ संगै भविष्य पनि अन्यौल बन्ने र कतिपय युवाहरु लागुऔषधको लतमा फसेर समेत आफ्नो जीवन वर्वादी गर्ने गरेकाले ती युवाहरुलाई भर्तीमा मात्र जीवन नभइ नेपालमै बसेर पनि आफ्नो जीवन सहज तरिकाले जीउन सकिन्छ भन्ने कुराको बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन क्षेत्रिय समिती पोखराका अध्यक्ष गज बहादुर गुरुङले वताए ।
भर्तीमा विशेषगरी १८ देखि २१ वर्ष उमेर समूहका युवाहरु, प्लस टु पढ्ने समेत त्यही उमेर समूहको हुन्छन् । उनीहरुले भर्तीमा पनि बेलायती आर्मी, सिंगापुर पुलिस र भारतिय सेनामा नै रुची राख्ने गरेको छ । त्यसमा भर्ती छनौट हुने भन्दा नहुनेको संख्या वढी मात्रामा रहेकाले ती युवाहरुको भविष्यको समेत आफुहरुमा चिन्ता रहेकाले यसलाई मध्येनजर गरी करियर काउन्सेलिङ कार्यक्रमको आयोजना गरिएको नेपाल फिजिकल ट्रेनिङ एशोसिएसनका केन्द्रीय अध्यक्ष मिन राज गुरुङले वताए । काउन्सेलिङ कार्यक्रममा युवाहरुलाई भर्ती भइ विदेश भन्दापनि नेपालमानै सैनिक क्षेत्र तथा प्रशासनिक क्षेत्रमा पनि भविष्य रहेको र राष्ट्रियताको बारेमा समेत जानकारी दिनका लागी समेत काउन्सेलिङ कार्यक्रमको आयोजना गरिएको समेत गुरुङले वताए ।
पोखरा सभागृहमा हुने कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु नेपाल आर्मी पश्चिम पृतनाका पृतनापति काजी बहादुर खत्री, प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरे, शसस्त्र प्रहरी मुक्तिनाथ बाहिनीका बाहिनीपति बावुराम पाण्डे, राष्ट्रिय अनुसन्धान विभाग गण्डकी प्रदेश प्रमुख कुलदेव थापा लगायतले डिफेन्स करियर काउन्सेलिङ कार्यक्रममा सहजीकरण गर्नेछन् भने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले लागुपद्धार्थ सचेतना सम्बन्धी प्रशिक्षण दिनेछन् ।
प्रशिक्षण पूर्व एसोसिएसनमा आवद्ध ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिइरहेका युवाहरु पोखराको अमरसिंहचोकमा भेला भइ लागुऔषध दुव्र्यसनी विरुद्धको प्लेकार्ड सहित मार्चपास गरी कार्यक्रम स्थल पोखरा सभागृह पुग्नेछन् ।
Comments are closed.